दशैं भन्नासाथ मासुको परिकारको याद आउँछ । मासुमा पनि खसी, बोका, च्यांग्रा, बंगुरलगायत मासु विशेष खपत हुने गर्छ । तिनको मासु स्वादिलो र पोषिलो पनि हुन्छ ।
दशैंमा बंगुरको मासु पनि धेरैको रोजाइमा हुन्छ । बंगुरको मासु खाँदा भने निकै ध्यान पुर्याउनु आवश्यक छ ।
सामान्यतया बंगुरको मासुमा ‘सिस्टिसर्काई’ हुन्छ । सिस्टिसर्काईकै कारण मानिसलाई ‘न्युरोसिस्टिसर्कोसिस’ नामक रोग लाग्ने सक्छ । सिस्टिसर्काई भनेको किराको अण्डा हो ।
बंगुरको मासु, तरकारी र सागपातको माध्यमबाट मानिसको पेटमा उक्त अण्डा प्रवेश गरेमा आन्द्रामा नाम्ले जुका -टेनियासिस) हुन सक्छ । पेटमा जुका -टेपवर्म) हुने तरीका पनि त्यही हो । नाम्ले जुका रगत हुँदै दिमागसम्म पुग्छ । त्यही रोगको नाम हो, न्युरोसिस्टिसर्कोसिस ।
न्युरोसिस्टिसर्कोसिसका कारण टाउको दुख्ने, थाक्ने, छारे रोग लाग्ने, पक्षघात हुने, दिमागको काम गर्ने प्रक्रियामा परिवर्तन आउने, दिमागी समस्या निम्तिने, दृष्टि दोषलगायत समस्या हुने गर्छ ।
यस समस्याबाट बच्न मासुको शुद्धताबारे ध्यान दिनु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले शुद्ध मासु खरीद गर्न जरुरी छ ।
(१) मासु किन्दा आधिकारिक बिक्रेतासित मात्र गरौं ।
(२) विरामी वा रोगी हो वा होइन भनेर हेरौं
(३) मासुलाई राम्ररी पकाएर मात्र सेवन गरौं
सिस्टिसर्काई रहेको मासुलाई छोएला, कचिला बनाएर खाँदा उक्त किरो जिउँदै रहन सक्छ । त्यसबाट बच्न तातो बाफमा मासुलाई मज्जाले पकाउन पर्छ ।
त्यसबाहेक, लामो समयसम्म मासुलाई फ्रिजमा राख्नाले त्यसमा ब्याक्टेरियाको संक्रमण हुनसक्ने जोखिम बढी हुन्छ ।
त्यस्तो मासु सेवन गर्दा पखाला लाग्ने, तारन्तार वान्ता हुने, विषाक्त भोजन (फुड पोइजनिङ)को समस्यालगायत गम्भीर अवस्था निम्तिन सक्छ । त्यसैले मासु राम्ररी पकाऔं, खाऔं र दशैंमा रमाऔं ।
(बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक हुन्)
प्रतिक्रिया 4