+
+

म्यादी प्रहरीमा लगाइदिने भन्दै ठगी गर्ने तीन प्रहरी फन्दामा

रासस रासस
२०७४ कात्तिक १५ गते ११:४१

१५ कात्तिक, पर्सा । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको हो ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा भइरहेको म्यादी प्रहरी छनोटमा पास गराई जागिर लगाई दिन्छु भन्दै सर्वसाधारणसँग रकम ठग्ने गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका–१ निवासी हरिनारायण राम, वडा नम्बर ५ निवासी विसुन्देव यादव र छठु महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।

उनले म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठगी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको २०० मिटर पश्चिममा रहेको रातोबंगलामा छापामारी गर्दा सूचनाअनुसारकै प्रमाण फेला परेपछि आवश्यक अनुसन्धानका लागि तीनैजनालाई नियन्त्रणमा लिइएको बताए ।

पक्राउ परेका व्यक्तिले रकम ठग्नैका लागि म्यादी प्रहरीका लागि आवश्यक नै नपर्ने स्वास्थ्य परीक्षणसमेत विभिन्न अस्पतालबाट गराइएको रिपोर्टसमेत फेला परेको उपरीक्षक रेग्मीले जानकारी दिए ।

पक्राउ गरिएका अभियुक्तबाट म्यादी प्रहरीका सक्कल प्रवेशपत्र २२ थान, प्रवेशपत्रको फोटोकपी २० थान, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान, मोबाइल तीनथान र रु ३७ हजार १०० नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजना आरोपीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?