 
																			९ असोज, काठमाडौं । सेयर बजार र राजनीति एकअर्कासँग जोडिएका छन् । नेपालको हकमा पनि यो अन्तरसम्बन्धित रहेको प्रष्ट छ ।
स–सानो राजनीतिक घटनाक्रम तथा विभिन्न निकायमा हुने नियुक्तिहरूले समेत बजारमा गहिरो प्रभाव पारिरहेको हुन्छ । एउटा राजनीतिक दल विशेषले सत्ता सम्हाल्दा र अर्को राजनीतिक दल विशेषले सत्ता सम्हाल्दा लगानीकर्ताको मनोभावनामै प्रभाव पार्ने गरेको छ । विश्वका अन्य बजार र नेपालका हकमा पनि त्यो देखिँदै आएको छ ।
राजनीतिक घटनाक्रमको कतिपय प्रभावले बजारलाई लामो अवधिसम्म असर पारेको हुन्छ भने कतिपय प्रभाव छोटो अवधिको हुन्छ । नेपालमा अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने पार्टी र उसको विगतलाई हेरेर पनि बजारले प्रतिक्रिया जनाउने गरेको छ । पछिल्लो पटकको सत्ता परिवर्तन र अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा बजारमा प्रभाव देखियो ।
नयाँ अर्थमन्त्री नियुक्ति र सो नियुक्तिपछि माैद्रिक नीतिमा भएको लचकताले असार १७ गते २०५० हारारहारीमा रहेको बजार साउनको अन्तिम दिन अर्थात डेढ महिनामै ९५० अंक बढेर ३ हजार अंकसम्म पुग्यो । छोटो अवधिमा बजार यति धेरै बढ्नुमा राजनीतिक घटनाक्रमबाहेक अरु खास कारण थिएन । तर यो वृद्धि बजारमा लामो समय टिक्न पनि सकेन ।
अहिले भने बजारको ओरालो यात्रा कायमै छ । ‘राजनीतिक घटनाक्रमलाई बजारले पहिले नै प्रतिक्रिया जनाइसक्छ’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने ‘तर जब घटनाक्रमको औचित्व सकिन्छ, त्यसपछि फेरि आफ्नै लयमा बजार अघि बढ्छ ।’
उनका अनुसार पछिल्लो पटकको सत्ता परिवर्तन र पौडेलको नियुक्ति पनि त्यसकै प्रभाव हो। पौडेल अर्थमन्त्री बन्दा उनले विगतमा पनि पूँजी बजार सुधारका लागि योगदान पुर्याएका होइनन् । तर संयोग उनी अर्थमन्त्री हुँदा बजारले उचाइ लिएका उदाहरण छन् । यहीं मनोभावले बजारलाई पछिल्लो पटक प्रभाव पारेको थियो ।
पौडेल आएपछि बजार एकाएक माथि गयो, तर बजारको विकास र विस्तारका लागि गरिनुपर्ने अन्य कामहरु अपेक्षाकृत रुपमा हुन नसकेपछि फेरि पुरानै लयमा फर्किएको लगानीकर्ताको बुझाइ छ ।

आखिर राजनीतिले कसरी प्रभाव पार्छ बजार ?
पहिलो त राजनीतिक दलसँग धेरै लगानीकर्ताको मनोभावना जोडिएको हुन्छ । विगतमा ती राजनीतिक दलले सत्ता सम्हाल्दा अवलम्बन गरेका नीति, पूँजी बजार सुधारका लागि गरेका प्रयास, निजी क्षेत्रसँगको सम्बन्ध, अन्य देशसँगको कुटनीतिक सम्बन्धलाई लगानीकर्ताले गहिरोसँग हेरेका हुन्छन् ।
त्यस्तै ती राजनीतिक दलले सत्ता सम्हाल्दा यसअघि लगानीकर्ताले देखाएको मनोभावना विभिन्न प्राविधिक टुल्समार्फत अध्ययन समेत गर्ने गरेका हुन्छन् । मुलुकको करका दरमा लिने नीति, वित्तीय नीति, आर्थिक वृद्धिका लागि बनाएका योजना राजनीतिक दलका फरक फरक हुन्छन् । यसले नै बजारलाई प्रभाव पार्दछ ।
नेपालकै हकमा विगतमा एउटा अर्थमन्त्री आउँदा लिएको भन्सार नीतिलाई अर्को अर्थमन्त्री आउँदा उल्टाएका उदाहरण प्रशस्त छन् । भन्सार नीतिले सीधै उद्योग तथा कम्पनीको वित्तीय स्थिति, सेयरधनीलाई दिने लाभांश र आगामी बिजनेस प्रभावित हुन्छ ।
राजनीतिबाट डोर्याइने यी ८ विषयले बजारलाई प्रभाव पार्दछ
१. नीति परिवर्तन : करका दर, नियममा परिवर्तन, वित्तीय प्रोत्साहन लगायतका सरकारी नीतिहरूले प्रत्यक्ष रूपमा कर्पोरेट नाफा र समष्टिगत आर्थिक अवस्थालाई असर गर्न सक्छ । उदाहरणका लागि कर कटौतीले कर्पोरेट आयलाई बढाउन सक्छ ।
त्यस्तै कर थपिँदा कर्पोरेट संस्थाहरुको आय घटाउन सक्छ । बजारमा सूचीकृत कम्पनीको व्यापार, व्यवसायलाई करले प्रभाव पार्दछ । जटिल नियमहरूले व्यवसाय सञ्चालनमा नकारात्मक असर पार्न सक्छ । स्टक बजारले प्रायः अप्रत्यासित नीति परिवर्तनहरूमा प्रतिक्रिया दिन्छ ।
२. आर्थिक नीति : सरकारले बजेट मार्फत जारी गर्ने वित्तीय नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिले ब्याजदर, मुद्रास्फीति र समग्र आर्थिक अवस्थामा प्रभाव पार्न सक्छ । केन्द्रीय बैंकका निर्णयहरूले कम्पनी र व्यक्तिलाई कर्जा सस्तो वा महँगो पर्न सक्छ । यसको असर स्टक मार्केटमा प्रतिविम्बित हुन्छ ।
३. भूराजनीतिक घटनाः विश्वव्यापी मञ्चमा हुने राजनीतिक घटनाहरू, जस्तै व्यापारिक तनाव, द्वन्द्व वा देशहरू बीचको कूटनीतिक सम्बन्धले अन्तर्राष्ट्रिय व्यापार र कर्पोरेट नाफालाई असर गर्न सक्छ ।
४. निर्वाचन चक्र : विभिन्न तहमा हुने आवधिक चुनावले बजारमा अनिश्चितता ल्याउन सक्छ । लगानीकर्ताहरूले अक्सर नयाँ नेतृत्वले गर्न सक्ने नीति परिवर्तनहरूले समग्र अर्थतन्त्र र उद्योग विशेषलाई कसरी प्रभाव पार्न सक्छ भन्ने मूल्यांकन गर्छन् । चुनावी दौडले बजारमा उतारचढाव निम्त्याउँछ ।
५. बजारको भावना : राजनीतिक घटना (भ्रष्टाचार, अनियमितता, विवाद वा नेतृत्व परिवर्तन) ले लगानीकर्ताको भावना र विश्वासलाई असर गर्छ । स्थिर राजनीतिक वातावरणले लगानीकर्तालाई सुरक्षाको भाव प्रदान गर्न सक्छ भने राजनीतिक उथलपुथलले बजारमा अस्थिरता निम्त्याउन सक्छ ।
६. सरकारी खर्च : सरकारी खर्च, विशेषगरी पूर्वाधार परियोजना र बजारमा तरलता बढाउने किसिमका अन्य कार्यक्रमले सेयर बजारमा सकारात्मक असर गर्ने गरेको छ । लगानीकर्ताहरूले सरकारले कस्तो कार्यक्रम बनाउँला, कति खर्च गर्ला भन्ने अनुमान गरेर आफ्नो पोर्टफोलियो समायोजन गर्न सक्छन् ।
७. वैश्विक घटनाक्रमः एउटा देशमा हुने राजनीतिक घटनाले विश्वव्यापी रूपमा प्रभाव पार्न सक्छ । उदाहरणका लागि प्रमुख अर्थतन्त्रमा राजनीतिक अस्थिरताले विश्वव्यापी आर्थिक स्थिरताबारे चिन्ता बढाउन सक्छ । यसले विश्वभर स्टक मार्केटमा असर गर्छ ।
८. नियामकीय परिवर्तनः वित्तीय नियममा परिवर्तनले बैंक, लगानी कम्पनी र व्यक्तिगत लगानीकर्ताहरू सहित बजार सहभागीहरूको व्यवहारलाई असर गर्न सक्छ । नियामकीय सुधारहरूले बजार संरचना र सम्भावित जोखिमलाई प्रभाव पार्न सक्छ ।
राजनीति र सेयर बजार बीचको सम्बन्ध जटिल छ । राजनीतिक घटनाहरूमा बजारले अप्रत्याशित प्रतिक्रिया दिन सक्छ । प्रायः राजनीतिक घटनाहरूले छोटो अवधिको बजारमा अस्थिरता निम्त्याउने गरेको पाइन्छ । स्टक मार्केटको दीर्घकालीन गति भने आधारभूत आर्थिक तत्वहरू, ब्याजदर, लगानीयोग्य रकम, कर्पोरेट आम्दानी र लगानीकर्ताको भावना लगायतले निर्धारण गर्छ ।
लगानी गर्ने निर्णय गर्दा लगानीकर्ताहरूले फराकिलो आर्थिक र वित्तीय परिदृश्यलाई विचार गर्नुपर्छ र राजनीतिक घटनाहरूबाट उत्पन्न हुनसक्ने बजारको उतारचढावका लागि तयार रहनुपर्छ । विविधीकरण र दीर्घकालीन लगानी रणनीतिले लगानी पोर्टफोलियोमा अल्पकालीन राजनीतिक अस्थिरताको प्रभावलाई कम गर्न मद्दत गर्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4