३ मंसिर, काठमाडौं । बिहान ६ बजे उठेर कपनबाट चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेजतर्फ जाँदै थिएँ । सशस्त्र प्रहरीका एक उच्च अधिकारीले फोन गरेर, दुःखद खबर छ भन्दै, प्रचण्ड पुत्र प्रकाश दाहाल हामीबीच नरहेको जानकारी गराए ।
लगत्तै रामेछापवासी दाजु रमेशबाबु श्रेष्ठले अनलाइनखबरले किन न्युज दिएन भन्दै प्रकाश दाहालको निधनको खबर पुष्टि गरे ।
यो अकल्पनीय र अपत्यारिलो खबर थियो । प्रचण्डको सचिवालयका एक सदस्यबाट खबरको पुष्टि भएपछि हामी नर्भिक अस्पताल पुग्यौं । बिहानको पौने आठ बजे हामी नर्भिक पुग्दा अस्पतालमा भीड लागिसकेको थियो । परिवारका नजिकका नातेदारहरु अस्पतालभित्र प्रवेश गर्दै थिए ।
जब सिर्जना बेहोस भइन्
करिव ८ बजे हरियो कूर्ता लगाएकी एक महिला दाहिने हातले बालक डोहोर्याउँदै अस्पतालमा प्रवेश गरिन् । मान्छेको भीड छिचोल्न नपाउँदै उनी डाँको छोडेर रुँदै भित्र छिरिन् । उनी थिइन् प्रकाशकी पत्नी सिर्जना त्रिपाठी । उनले डोहोर्याएका बालक प्रकाशका जेठा छोरा थिए । अनुहार काटीकुटी प्रकाशजस्तै ।
अधिकांश फोटो पत्रकारले सिर्जनालाई चिन्न नपाउँदै उनी अस्पतालको लिफ्टभित्र प्रवेश गरिसकेकी थिइन् । केहीबेरमै अस्पतालमा कार्यरत एक नर्स बहिनीले खबर गरिन्- सिर्जना त्रिपाठी प्रकाशको अवस्था देख्नासाथ ढलिन् र उनलाई स्लाइन चढाएर राखिएको छ ।

लामो समयदेखि सिर्जना प्रकाशसँग थिइनन् । उनी छोरासहित पोखरामा बस्ने गर्थिन् । प्रचण्डले सिर्जना र नातिलाई धेरै माया गर्छन् । उनै सिर्जना डाँको छाडेर रुँदै बाहिरबाट अस्पतालभित्र प्रवेश गरेकी थिइन् ।
सिर्जनासँगै उनकी आमा (प्रकाशकी सासू) पनि थिइन् । उनी नातिलाई काखमा लिएर डाँको छाडेर रुँदै थिइन् । सिर्जनालाई भेटेर फर्किएका दिल निसानी मगरका अनुसार उनी अर्धबहोस अवस्थामा बर्बराउँदै प्रकाशकै नाम लिइरहेकी थिइन् ।
बिना चिच्याउँदै अस्पतालभित्र दौडिँदा…
प्रचण्ड आउनुअघि प्रहरीले अस्पतालको भीड व्यवस्थापन गर्दै थियो । यसैबीच एकाएक महिला चिच्याएको आवाज आयो । उनी छाड मलाई भन्दै चिच्याएर दौडिँदै थिइन् । उनी प्रकाशकी पत्नी बिना मगर रहिछन् । उनलाई सम्हाल्न वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा लगायतका नेताहरु उनका पछाडि दौडिँदै थिए ।
कञ्चनपुरमा रहेकी बिना प्रकाशको निधनको खबर लगत्तै धनगढी विमानास्थलबाट श्री एयरलाइन्सको पहिलो उडानमा काठमाडौं आएकी हुन् । छोरासहित चुनावी अभियानमा गएकी बिनालाई सम्हाल्न ७ नम्बर प्रदेशका प्रहरी प्रमुख नै खटिएका थिए । बिना छोरासहित काठमाडौं आउँदा विक्षिप्त अवस्थामा थिइन् ।
भाञ्जीहरु रुँदै बाहिरिएपछि मृत्युको औपचारिक पुष्टि
अस्पताल परिसरमा भिड थामीनसक्नु भइसकेको थियो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकको नेतृत्वमा प्रहरी टोली परिचालित थियो । वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले प्रहरीलाई सघाइरहेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरु अस्पताल परिसरमा थिए ।
झापामा रहेका कारण प्रचण्ड काठमाडौं आइपुग्न समय लाग्यो । प्रकाश पत्नी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार बनेका कारण उतै थिइन् । भरतपुरकी मेयर दिदी रेणु दाहाल भरतपुरमै थिइन् । आमा सीता दाहाल विक्षिप्त अवस्थामा घरमै रहेको जानकारी प्राप्त भएको थियो । भाञ्जीहरु रुँदै बाहिरिएपछि प्रकाशको निधनको औपचारिकरुपमै पुष्टि भयो ।
यसबीचमा एमाले नेताहरु झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल, कांग्रेसका प्रकाशमान सिंह लगायतका नेताहरु अस्पताल पुगेर प्रकाशको अवस्थाबारे जानकारी लिइसकेका थिए । सबैको प्रतीक्षा प्रचण्ड कतिबेला आइपुग्छन् भन्नेमै थियो ।
सीतालाई सम्हाल्न प्रचण्ड सिधै लाजिम्पाट
प्रचण्ड एयरपोर्टबाट सिधै अस्पताल नआई लाजिम्पाटस्थित निवासतिर गएको खबर आयो । उनी पत्नी सीतालाई सम्हाल्न निवासतर्फ गएको अनुमान गरियो । छोराको निधन भइसकेकाले उनले सबैभन्दा पहिले निवास पुगेर आमालाई सम्हाल्न खोजेको बुझियो ।
किनकि छोराको निधनको पहिलो प्रत्यक्षदर्शी बनेकी आमाको अवस्था सम्हाल्न नसकिने खालको रहेको सचिवालय सदस्यहरुले बताएका थिए ।
दुई तीनदेखि रुघा खोकीबाट सामान्य विरामी रहेका प्रकाश केही दिनयता प्रचण्डको चुनावी अभियानमा समेत हिँडेका थिएनन् । उनी आमाकै रेखदेखमा थिए ।
सीताले आफ्नो एकमात्र छोरो प्रकाशलाई असाध्यै माया गर्थिन् । उनका कमजोरीहरुमा सीता सधैं रक्षाकवज बन्ने गर्थिन् । मुटुको टुक्रा चुँडिएको क्षणमा उनी विक्षिप्त हुनु स्वाभाविकै थियो ।
सीताले राति प्रकाशलाई आफ्नै हातले जाउलो पकाएर खुवाएकी थिइन् । बिहान उनैले प्रकाशलाई बेहोस अवस्थामा भेटेकी थिइन् । स्रोतका अनुसार सीता सन्तान वियोगको पीडाबाट असामान्य अवस्थामा छिन् ।
हारेको सिपाही जस्ता प्रचण्ड
बुहारी बिना मगर अस्पताल प्रवेश गरेको केहीबेरमै प्रचण्डको गाडी प्रवेश गर्यो । त्यहाँ जम्मा भएका हजारौं मान्छेका आँखा प्रचण्डलाई एक झलक हेर्न लालायित थिए । क्यान्सरका कारण पुत्री वियोग सहनु परेको ३ वर्ष नबित्दै हृदयाघातबाट पुत्र वियोगको बज्रपात प्रचण्डले कसरी सहन गर्लान् ? उनको अनुहारमा सन्तान बियोगको झलक सहजै देख्न सकिन्थ्यो ।
छोरी रेणुसहित गाडीबाट ओर्लिँदा प्रचण्डका आँखा टिलपिल देखिन्थे । नेपालकै सबैभन्दा ठूलो र लामो सशस्त्र युद्धदेखि ठूला ठूला राजनीतिक आन्दोलनको कमाण्डर बनेका प्रचण्ड, यो क्षणमा युद्ध हारेको सिपाही जस्ता देखिन्थे ।
संसार जित्न हिँडेकाहरु पनि आफन्तको मृत्युसँग पराजित हुन्छन्, प्रचण्डको हालत यस्तै देखियो ।
तर, पनि प्रचण्ड सम्हालिँदै अस्पतलाभित्र प्रवेश गरे । उनको पछिपछि हिँडेकी छोरी रेणु भातृ वियोगको पीडा लुकाउन नसक्ने गरी रुँदै थिइन् । भित्रै रहेका एक प्रत्यक्षदर्शीका अनुसार प्रचण्ड र रेणु प्रकाशलाई राखिएको ठाउँसम्म पुग्दा त्यहाँ रुवाबासी चलेको थियो । कसैले कसैलाई सम्हाल्ने अवस्था थिएन ।
प्रचण्डले प्रकाशको उपचारमा संलग्न चिकित्सकहरुसँग सामान्य जानकारी लिए । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरी पनि सँगै थिए । प्रकाशलाई अस्पताल ल्याइपुर्याउनुअघि नै उनको निधन भइसकेको जानकारी चिकित्सकहरुले प्रचण्डलाई दिए ।
प्रकाशलाई मध्यराति २ देखि ३ बजेको बीचमा आकस्मिक हृदयाघात भएको हुनसक्ने चिकित्सकहरुले सुनाए ।
कठिन क्षणमा पनि प्रचण्ड सम्हालिएको अनुभव सुनाए प्रकाशको निधनको खबर सुनाउने चिकित्सकले । प्रचण्ड पुगेर जानकारी लिएलगत्तै प्रकाशको पार्थिव शरीर नर्भिक अस्पतालको एम्बुलेन्समा राखेर पार्टी कार्यालय पेरिसडाँडातिर लगिएपछि पनि अस्पताल परिसरमा केहीबेर रुवाबासी चल्यो ।
आँशु थाम्न सकेनन् प्रचण्डले, दिदीहरुको रुवाबासी
पार्टी कार्यालयमा आफ्नो एकमात्र छोराको शवमा आफैंले झण्डा ओढाइरहँदा भने प्रचण्ड सम्हालिन सकेनन् । उनी भक्कानो छाडेर रोएको दृश्य कारुणिक थियो । पार्टीले एक सदस्य गुमाएको थियो । तर, प्रचण्डले आफ्नो एकमात्र छोरा गुमाएका थिए ।
लगातार सन्तान बियोगको पीडाबाट सीता दाहाल भने थेगिन नसक्ने अवस्थामा पुगेको उनको उपस्थिति कतै नहुनुले पनि पुष्टि हुन्छ ।
प्रकाशको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्दैगर्दा उनकी कान्छी दिदी सीमा सम्हालिन सकिनन् । उनी भाइको शवमा टाँसिएर केहीबेर रोइन् । अर्की दिदी रेणु पनि सम्हालिन सकिरहेकी थिइनन् । एउटै भाइको अन्तिम बिदाइ गर्दा दिदीहरुको चित्कार थामिनसक्नु थियो ।
मृत्यु कुनै पनि प्रिय हुँदैन । अझ अस्वाभाविक, अकल्पनीय मृत्युले सबैलाई पीडा दिन्छ । प्रचण्ड परिवारमाथि परेको अकल्पनीय शोकको घडीमा सबैले समवेदना दिएका छन् ।
तर, लगातार सन्तानवियोगको पीडाबाट मुक्त हुने शक्ति प्रचण्ड र सीतालाई मिलोस् भन्ने बाहेक अरु कुनै शब्द छैन ।
अलविदा ! प्रकाश दाहाल
पढ्ने लेख्ने उमेरमा उनी बन्दूक बोकेर बुबालाई साथ दिन हिँडे । शान्ति प्रक्रियामा आएपछि निरन्तर कहिले प्रचण्डको ड्राइभर त कहिले स्वकीय सचिवको भूमिकामा उनी क्रियाशील रहे । जनसम्पर्क स्थापित गर्ने खुबी भएका प्रकाश कुनै न कुनै रुपमा चर्चामै रहे ।
मानवीय स्वाभावका कारण हुने कतिपय कमजोरी बाहेक आम रुपमा प्रकाशले कसैलाई खराबी गरेनन् । राजा र ठूला नेताका सन्तानका गतिविधिप्रति अवश्य पनि दुनियाँको नजर परेको हुन्छ । त्यसक्रममा उनी कतिपय सन्दर्भमा विवादमा पनि परे ।
तर, पछिल्लो समय उनले आफ्ना कमजोरी आफैं सच्याउँदै आफूलाई रुपान्तरण गरेको कुरा हामीसँग पनि बताउँथे । पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनले जसरी सचिवालय व्यवस्थापन, जनसम्पर्क र मिडिया परिचालनको भूमिका निर्वाह गरे, प्रचण्डको सफलतामा प्रकाशको मुख्य भूमिका थियो ।
प्रकाश परिपक्व बन्दै थिए । तर, मृत्यु निकै कठोर बन्यो, उसले शनिवार मध्यरातमा प्रकाश दाहाल उर्फ साकारलाई हामीबाट सधैंका लागि खोसेर लग्यो । उनी कहिल्यै नफर्किने गरी अनन्त यात्रामा लीन भइसकेका छन् ।
अलविदा प्रकाश दाहाल ! हामी सम्झिरहनेछौं तिमीलाई । तिम्रा दुई छोराहरुले अब प्रचण्ड परिवारलाई तिम्रो न्यास्रो मेटाउन् । अकल्पनीय शोकको यो घडीमा प्रचण्ड परिवारप्रति हार्दिक समवेदना ।
प्रतिक्रिया 4