Comments Add Comment

प्रचण्ड र विक्रम पाण्डेको चुनाव खर्च पत्याउनै मुश्किल !

४ माघ, चितवन । चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले मोटै रकम खर्च गरेको चर्चा भए पनि खर्च विवरणमा भने धेरै कम छ । निर्वाचन आयोगमा बुझाएको खर्च विवरण न प्रचण्डको पत्याउने खालको छ न पाण्डेको नै ।

प्रचण्ड र पाण्डेबीच चुनावी प्रतिस्पर्धाजस्तै खर्चमा पनि उच्च प्रतिस्पर्धा नै थियो । उनीहरुले यति नै रकम खर्च गरे भन्ने विषयमा अनेक चर्चा भए पनि दुवैको चुनाव खर्च करोड घटी नभएको चर्चा चितवनमा हुने गरेको छ । प्रचण्डले नौ लाख ९४ हजार ५४२ र पाण्डेले नौ लाख ३९ हजार ९४० रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

खर्च विवरणमा पाण्डेको भन्दा प्रचण्डको ५४ हजार रकम बढी भएको देखिएको छ ।

‘यी दुवै उम्मेदवारले कति खर्च गरे होलान् भन्ने अनुमान यहाँका जनताले सजिलै गर्न सक्छन्, आयोगलाई पनि पक्कै थाहा छ’ भरतपुरको वीरेन्द्र क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा. डा. केशवभक्त सापकोटाले भने, ‘यो त सीधासीधा जनतालाई झुक्याउने र ढाँट्ने काम हो ।’ निर्वाचनको बेला तडकभडक देख्दा सबै निर्वाचन क्षेत्रका ठूला दलका उम्मेदवारहरुले बुझाएको खर्च विवरण विश्वसनीय नभएको सापकोटाको भनाइ छ ।

प्रचण्ड र विक्रम पाण्डेको मात्रैं होइन चितवन निर्वाचन १ र ३ का उम्मेदवारहरुले बुझाएको खर्च विवरण पनि आयोगले दिएको अधिकतम सीमाको नजिक पनि पुगेको छैन । चितवन १ बाट निर्वाचित एमाले नेता सुरेन्द्र पाण्डेले १३ लाख ५७ हजार ६७३ खर्च भएको भन्दै विवरण पेश गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च १६ लाख २९ हजार १७० रुपैयाँ छ ।

चितवन २ बाट निर्वाचित एमाले नेता कृष्णभक्त पोखरेलको चुनाव खर्च १४ लाख ३९ हजार ८०० छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं नेपाली कांंग्रेसका नेता शेषनाथ अधिकारीले १३ लाख ९३ हजारको विवरण बुझाएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा तीन निर्वाचन क्षेत्रका कुल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए । खर्च विवरण पेश नगर्नेमा साना दलका उम्मेदवार छन् ।

प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment