२० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको सपथग्रहणपछि आयोजित जलपान समारोहको कुनामा उभिएका एमाले सांसद नवराज सिलवाललाई कांग्रेस सांसद भीमसेनदास प्रधानले भने, ‘ल तपाईलाई विशेष बधाई छ, सांसदमात्र होइन, सेलिब्रेटी नै बन्नुभयो ।’
जवाफमा नेपाल प्रहरीका पूर्व डिआइजी सिलवालले भने, ‘तपाईकै सभापति (देउवा) को योगदान हो यो । नत्र म यहाँ आउने मान्छे होइन ।’
शेरबहादुर देउवाकै व्यक्तिगत प्रतिशोधका कारण प्रहरी महानिरीक्षक बन्न नपाएको र देउवाले प्रधानमन्त्री छाडेर जाँदाजाँदै पनि किर्ते मुद्दामा फसाउन खोजेको सिलवालको आरोप छ । देउवाकै कारण आफू राजनीतिमा लागेको र देउवा तथा कांग्रेसको अधोगतिको कारकमध्ये एक आफू पनि बन्न पाएको भन्दै सिलवालले संसद भवन परिसरमा खुसी व्यक्त गरे ।
सांसदहरुको बीचमा सिलवालसँग फोटो खिचाउने र कुरा गर्नेहरुको भीडकै छेउबाट कांग्रेस सभापति एवं निवर्तमान प्रधामनन्त्री देउवा भने तर्किदै हिँडे ।
नवराज सिलवाल संसद भवनमा पहिलो पटक शनिबार एमाले र माओवादी संसदीय दलको संयुक्त बैठकमा भाग लिन प्रवेश गरेका थिए । सञ्चारमाध्यममा प्रहरीले फरारको सूचीमा राखेका सिलवाल संसद भवनमा भनेर समाचार आयो । आइतबार सपथग्रहणको दिन पनि सबैको ध्यान सिलवालतिरै थियो । उनी एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँगै संसद भवनमा प्रवेश गरे ।
सिलवालले पत्रकारहरुसँग संसद भवन बाहिर उभिएर भने, ‘म फरार अभियुक्त होइन । म जनताबाट निर्वाचित सांसद हुँ । यसबीचमा अघिल्लो सरकारले मलाई फसाउन खोजे पनि म कतै भागिनँ, जनताकै बीचमा छु । म विरुद्ध कहिँ कतै मुद्दा पनि दर्ता भएको छैन ।’
प्रहरी प्रवक्ता भन्छन्-फरार भन्न मिल्दैन
सिलवालले त्यसो भनेपछि हामीले नेपाल प्रहरीको नजरमा उनी कस्ता व्यक्ति हुन् भनेर सोधखोज गर्यौं । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेलाई हामीले सोध्यौं-नवराज सिलवाल प्रहरीको रेकर्डमा फरार अभियुक्त हुन् कि होइनन् ? हामीले उनलाई फरार सूचीका व्यक्ति भनेर लेख्न पाउने कि नपाउने ?
अनलाइनखबरको प्रश्नमा प्रहरी प्रवक्ता न्यौपानेले सिलवाल फरार अभियुक्त नभएको बताए । उनले भने- प्रहरीबाट अनुसन्धान भएर मुद्दा सरकारी वकिलको कार्यालयमा पगेको छ । सरकारी वकिलले मुद्दा चल्ने निर्णय गर्यो भन्ने अर्को कुरा हो नत्र फरार भन्न पाइएन ।
प्रहरीबाट मुद्दा सरकारी वकिलको कार्यालयमा गइसके पनि मुद्दा चलाउने वा नचलाउने निर्णय नभएसम्म कुनै पनि व्यक्तिलाई फरार भन्न नमिल्ने प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
यसरी भयो मुद्दा चलाउने प्रयास असफल
सिलवालविरुद्ध सरकारी किर्तेमा मुद्दा चलाउन तत्कालीन देउवा सरकारका महान्यायाधिवक्ता बसन्तराम भण्डारीले केपी ओली प्रधामन्त्री भएको दिनसम्म पनि प्रयास गरेका थिए । तर, सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको मिसिल दिन नमानेपछि र मुद्दा चलाउने दबाब समेत नटेरेपछि मुद्दा चलाउने प्रयास असफल भएको थियो ।
सर्बोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा अदालतमा पेश भएका फरक फरक कार्य सम्पादन मूल्यांकनमा कुन चाहिँ सक्कली हो र नक्कली कासमु बनाउनेमा को कसको संलग्नता छ छानविन गरी कारवाही चलाउनू भन्ने आदेश दिएको थियो ।
प्रतिक्रिया 4