९ असोज, धरान । धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा व्यापार घट्दै गएको छ । यसअघि दैनिक उपभोग्य वस्तु किनबेचमा ग्राहकको घुइँचो लाग्ने गरेकामा चाडपर्व नजिकिए पनि बजार सुनसान बन्दै भएको हो ।
कोरोना महामारीको समयमा भएको लकडाउनपछि व्यापार घट्दै गएको ३८ वर्षदेखि कृषि बजारमा व्यापार गर्दै आएका लालु चौधरीले बताए । ‘विगतका वर्षमा राम्रो व्यापारका लागि चाडपर्व पर्खनुपर्दैन थियो । अहिले दसैँ आउँनै लाग्दा पनि व्यापार छैन’, उनले भने, ‘विसं २०७७ को कोरोना र लकडाउनपछि घट्दै गएको व्यापार चलायमान हुन सकेको छैन । कोरोना सुरु भएपछि अधिकांश व्यापारी गाउँघर फर्केकाले पनि कृषि बजारमा व्यापार घट्दै गएको छ ।’
उत्पादनमा वृद्धि भए पनि माग घट्दै गएको चौधरीले बताए । गत वर्ष दैनिक ५० क्विन्टलभन्दा बढी उपभोग्य वस्तु तथा सागसब्जी कृषि बजारमा आउने गरेको बताउँदै ३० क्विन्टल मात्र बिक्री हुने गरेको जानकारी दिए । ‘पहिले फूलकोपी मात्र ४० क्विन्टलसम्म आउँदा पनि पूरै बिक्री हुन्थ्यो । अहिले १०–१५ क्विन्टल पनि बिक्री हुदैन’, उनले भने ।
धनकुटा, मोरङलगायत क्षेत्रका किसानबाट गोलभेँडा, प्याज, आलु, कोपी, मुला, भटमासलगायत खाद्यान्न खरिद गरी धरान कृषि बजारबाट बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए । पहिले वर्षमा १५ लाख रुपैयाँसम्म नाफा हुनेमा अहिले ११–१२ लाख रुपैयाँसम्म हुने उनको भनाइ छ ।
किसानबाट व्यापारी बनेका धनकुटाका खेम लामिछानेले १२ वर्षदेखि कृषि क्षेत्रमा व्यापार गर्दै आएका छन् । आठ कठ्ठा जमिनमा सागसब्जी उत्पादन गर्दै आएका उनी किसानबाट व्यापारी बनेपछि थप फाइदा हुँदै आएको सुनाए ।
लामिछनेका अनुसार दैनिक २० क्विन्टल गोलभेँडा मात्र बिक्री हुन्छ । उनले भने, ‘गत वर्षभन्दा व्यापारमा केही कमी आएको छ । सागसब्जी तथा दैनिक उपभोग्य वस्तु माग अनुसार बिक्री हुने गरेको छ ।’ बर्सेनि सबै खर्च कटाएर १० लाख नाफा हुने गरेको उनले जानकारी दिए ।
गाउँ घरमा कृषि उत्पादनमा वृद्धि भए पनि माग कम भएकाले व्यापार घट्दै गएको व्यापारी चन्डेश्वर चौधरीले बताए । उनले ३५ वर्षदेखि धरानस्थित कृषि बजारमा व्यापार गर्दै आएका छन् । गाउँमा बसोबास गर्नेको सङ्ख्यामा कमी हुनु, युवा सहर केन्द्रित तथा विदेश पलायन हुनुलगायत कारणले उपभोक्ता घट्दै गएको उनले उल्लेख गरे ।
चौधरीले भने, ‘व्यापार घट्यो, बजारमा नयाँ सटर भाडामा लाग्न छोड्यो, पुराना सटरसमेत सबै बन्द हुने अवस्थामा छन् । व्यापार छैन, महँगी उस्तै छ ।’ पहिले कृषि बजारबाट ४० क्विन्टलसम्म आलु, गोलभेँडा, प्याजलगायत हरियो तरकारी बिक्री हुनेमा अहिले २० क्विन्टलसम्म बिक्री हुने उनको भनाइ छ ।
धरानमा अहिले कृषि, उद्योग र व्यापार तीनवटै क्षेत्रको योगदान घट्दै गएको कृषि उपज बजार व्यवस्थापक समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । सिजन अनुसार दैनिक उपभोग्य वस्तुको किनबेचमा वुद्धि भइरहने गरेकामा पछिल्ला केही वर्षयतादेखि व्यापारमा कमी देखिएको उनको भनाइ छ ।
अध्यक्ष भट्टराईले भने, ‘अहिले जति मात्रामा बिक्री हुनुपर्ने हो त्यति भएको छैन । मानिस सहर तथा विदेश पस्न थालेका छन्, उपभोक्ताको कमीले यो अवस्था आएको हो ।’
तराईका ग्रामीण क्षेत्र तथा पहाडी भेगबाट ठूलो सङ्ख्यामा व्यापारी किनबेचका लागि धरान आउने गरेकामा अहिले ४० प्रतिशत कमी आएको उनले जानकारी दिए । ‘अहिले पहाडी भेगका प्रत्येक गाउँमा सडक विस्तार भएसँगै तराईका व्यापारी सिधैँ गाडीमार्फत त्यहाँ जाने र सामग्री ल्याउने गरेकाले पनि व्यापारमा कमी आएको हो’, अध्यक्ष भट्टराईले भने ।
उनका अनुसार धरान कृषि उपज बजारबाट प्रत्येक वर्ष पाँच अर्ब रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्रीको कारोबार हुन्छ । कृषि बजारमा पहाडी क्षेत्रका साथै भारत, चीन, बङ्लादेश, भुटान र तराईका विभिन्न ठाउँबाट उपभोग्य वस्तु आउने गरेको बजार व्यवस्थापक समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।
‘पहाडी भेगबाट अहिलेको सिजनमा हरियो सागसब्जी आउने गरेको छ । भारतबाट आलु, प्याज र फलफूल, बङ्लादेश तथा भुटानबाट आलु, चीनबाट च्याउ र लसुन ल्याउने गरेका छौँ’, उनले भने ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4