८ पुस, हेटौंडा । हेटौंडाका सुरज थिङले भीमफेदी गाउँपालिकास्थित सुपिङ गाउँको घुमाउरो उकालो चढ्न थालेको चार वर्ष भयो ।
बाह्रै महिना चिसो मौसम हुने सुपिङ कृषि कर्मका लागि प्रख्यात छ, जहाँ फलफूलदेखि तरकारी उत्पादनको उच्च सम्भावना छ ।
सुरज सुपिङ गाउँ उक्लिएको पनि कृषि कर्म गर्नलाई नै थियो । त्यसअघि हेटौंडा उपमहानगरपालिकामा ड्रागन फलाएका सुरजले चार वर्षदेखि सुपिङमा किवी खेती गरिरहेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीका सुरजले परम्परागत कृषि पद्धतिमा लुकेको धुलो झार्दै भीमफेदीको हरियालीमा नयाँ सोचको बीउ रोपेका हुन् । त्यो बीउको फल चाख्न चार वर्ष कुर्नु परेको उनले सुनाए ।
सुरजले रोपेको यही बीउ आज ‘भुजेलीय किवी फार्म’ का रूपमा हुर्किएको छ । उनले श्रम, सीप र सम्भावनाबाट कृषि क्षेत्रमै एउटा शान्त क्रान्ति सुरु गर्ने महत्वाकांक्षी अठोट लिएका छन् । सुरजका लागि किवी खेती, खेतीमा मात्रै सीमित थिएन, आँटसँगै सपना पनि थियो ।
दुई जना साथीलाई साथमा लिएर किवी खेती सुरु गरेका सुरज अहिले एक्लै छन् । दुवै साथी केही वर्षअघि नै विदेश हानिए । ‘तीन जना मिलेर किवी खेती सुरु गरेका हौं । दुई जना साथी विदेश गए । अहिले एक्लै किवी खेती गरिरहेको छु,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिड हेर्दा जो कोहीलाई लाग्न सक्छ, नेपाली युवालाई स्वदेशमै स्वरोजगारभन्दा वैदेशिक रोजगारमा लगाव बढी छ । नेपालको व्यापार र बजारको समस्यासँगै राज्यको साँघुरो नीति, व्यवसायको सुरक्षा र जनशक्ति अभाव लगायतका कारण स्वदेशमै स्वरोजगार बन्नेहरूको चाहना विदेश यात्रामा टुंगिएको छ ।
सुरज भने स्वदेशकै माटोमा पैसा फलाउन खोज्दैछन् । ‘मलाई विदेश जाउँ जस्तो कहिल्यै लागेन, यहाँ राम्रो भइरहे अब जान पनि नपरोस भन्छु,’ उनले भने ।
२०७८ सालमा उनले भीमफेदी गाउँपालिका–५, सुपिङको पाखामा दुई करोडभन्दा बढीको लगानी खन्याए । त्यो लगानी आज ‘किवी खेती’ को नामले ७० रोपनी क्षेत्रफलमा मुस्कुराइरहेको छ । यहाँ करिब १२ सय किवीका बोटहरू लहरै उभिएका छन् । जसले आफ्नो पौरखको कथा भनिरहेको सुरजलाई अनुभूति गराएको छ ।
‘यो यात्रा चार वर्षअघि सुरु भएको हो,’ सुरजले सुनाए, ‘गत वर्षदेखि हाम्रो मिहिनेतले फल दिन थालेको छ ।’ लगानीको विशाल पहाड र चार वर्षको अनवरत मिहिनेतपछि गत वर्ष भुजेलीय किवी फार्मले पहिलो मिठो फल चाख्यो । तीन टन किवी उत्पादन हुँदा करिब ७ लाख रुपैयाँ आम्दानी भएको उनी बताउँछन् । यो पहिलो सफलताले उनको उत्साहमा ऊर्जा भरिदिएको छ ।
‘यो वर्ष मौसमले साथ नदिए पनि हामी निराश छैनौं,’ उनी दृढ सुनिए, ‘आउँदो वर्ष १५ देखि २० टन उत्पादन गरेरै छाड्ने लक्ष्य छ ।’ बागमती प्रदेश सरकारको एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत किवी खेती गरेका सुरज एक किसान मात्र नभई व्यवसायी पनि हुन् ।
उनले बजारको नाडी छामेर हेवार्ड, एलिसन र ब्रुनो जस्ता स्थापित जातका साथै आधुनिक बजारमा रुचाइने ‘रेड किवी’ र ‘गोल्डेन किवी’ लाई पनि आफ्नो फार्ममा सजाएका छन् ।
‘कृषि कर्म फूलको बगैंचा मात्रै होइन, काँडाको बाटो पनि हो,’ सुरज भन्छन् । उनको यात्रामा पनि चुनौतीहरू नआएका होइनन् । किवी खेतीमा अरू ठूला रोग नलागे पनि पानी जम्दा वा धेरै सिँचाइ हुँदा देखिने ‘रुट रट’ (जरा कुहिने) समस्या सबैभन्दा ठूलो सत्रु बनेको सुरजले बताए ।
‘यो समस्याले कैयौं बोट सुकायो, तर हरेस खाएनौं,’ उनी भन्छन्, ‘प्राविधिकहरूसँगको निरन्तर परामर्श र उपचारबाट यसलाई नियन्त्रणमा लिइरहेका छौं ।’
किवी बजारका लागि सुरज ढुक्क छन् । गुणस्तरमा सम्झौता नगर्ने हो र उत्पादनलाई सही तरिकाले ग्रेडिङ गर्ने हो भने बजारको अभाव नहुने उनको विश्वास छ । उनको बजार रणनीति पनि लोभलाग्दो छ । ‘हामी सिजनको उत्पादनलाई कोल्ड स्टोरमा भण्डारण गर्छौं र बेमौसममा बजार पठाउँछौं, यसले मूल्य राम्रो पाइन्छ,’ उनी आफ्नो व्यावसायिक योजना सुनाउँछन् ।
उनको सपना किवी फलाएर बेच्नेमा मात्र सीमित छैन । भविष्यमा उनी यही किवीबाट जाम, वाइन, क्यान्डी र ड्राई फ्रुट्स जस्ता उत्पादनहरू बनाएर ‘मेड इन भीमफेदी’ ब्रान्ड स्थापना गर्ने योजना छ । उनले भीमफेदीको माटोमा केवल किवी फलाएका छैनन्, हजारौं युवाका लागि आसा र सम्भावनाको नयाँ ढोका पनि खोलिदिएका छन् ।
‘इच्छा भएका युवालाई पनि हामी सहयोग गर्न तयार छौं,’ उनले भने । अब यो व्यक्तिगत पौरखलाई सामूहिक अभियानमा बदल्नु जरुरी देखिएको उनी बताउँछन् । यस्ता उद्यमलाई संरक्षण र प्रोत्साहन आवश्यक रहेको उनले बताए ।
सुरजले हेटौंडा–१३ मा जग्गा भाडामा लिएर २०६७ सालदेखि नै च्याउ, ड्रागन र मेवाको व्यावसायिक खेती सुरु गरेका थिए । च्याउ खेती बीचमा स्थगित गर्नुपरेको उनले सुनाए । हाल दुई बिघा जग्गामा ड्रागन फल लगाएको उनले बताए । अन्तरबाली अन्तर्गत ड्रागन फल लगाएको जग्गामै मेवा खेती पनि गरिएको छ । जसमा डेढ करोड लगानी भइसकेको सुरज बताउँछन् ।
‘मेवामा राम्रो आम्दानी छ । पाँच वर्ष अमेरिकन ब्युटी जातको ड्रागन फल लगाएका थियौं । त्यसमा धेरै समस्या आएपछि सबै फालेर गत वर्षबाट फेरि नयाँ जातको ड्रागन लगाएका छौं,’ उनले भने, ‘मलेसियन लोकल, साइन रेडको बिरुवा हालेर ड्रागन लगाएका छौं । यसको उत्पादन सुरु भएको छ ।’


प्रतिक्रिया 4