
१५ चैत, काठमाडौं । डोटी घर भएकी पार्वतीदेवी मलासी ६४ वर्षकी भइन् । अहिले उनी नाति-नातिना उमेरका विद्यार्थीसँगै बसेर एसईई परीक्षा दिइरहेकी छिन् ।
अछाम माइतीघर भएकी पार्वतीका दुई छोराछोरी छन् र दुवैले मास्टर्स गरिसकेका छन् । छोरीको बिहेबारी भइसकेको छ भने छोरा यतिबेला अष्ट्रेलियामा छन् ।
१५ वर्षकै उमेरमा पार्वतीको विवाह डोटीका थिरबहादुर मलासीसँग भयो । बिहेपछि बच्चा जन्मिए । उनी बच्चा हुर्काउनमै व्यस्त रहिन् । आफूले पढ्न नपाए पनि छोराछोरीहरुलाई उच्च शिक्षा दिने उनको धोको थियो । छोराछोरीलाई राम्रो शिक्षा दिनकै लागि उनी सपरिवार काठमाडौं आइन् । र, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाइन् ।
बुढेसकालमा कापी कलम बोकेर स्कुल जाँदा उनलाई खिज्याउनेहरु धेरै थिए, तर उनले परवाह गरिनन् । दुई कक्षासम्म उनले बाल्यकालमै अछाममा पढेकी थिइन् । तर, त्यतिबेला छोरी मान्छेले पढ्नु हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा उनको पढाइले निरन्तरता पाउन सकेन । पढाइ छोडेपछि उनको जीवन घाँस दाउरामै बित्यो ।
६२ सालको एक दिन उनी आफ्नो बिरामी छोरालाई पाटन हस्पिटलमा जँचाएर फर्किँदै थिइन्, स्कुलको ड्रेस लगाएका केही महिलाहरुलाई उनले बाटोमा भेटिन् ।
उनको उत्सकुता बढ्यो । सोधिन्, ‘तपाईंहरु कहाँ पढ्ने हो ?’
उनीहरुले जवाफ दिए, ‘भद्र घले महिला स्कुलमा ।’
यो सुनेर पार्वती हौसिइन् । आफू पनि सो स्कुलमा भर्ना भएर पढ्ने चाहना जाग्यो ।
‘लौन मलाई पनि त्यो स्कुल देखाइदिनुस्’ भन्दै उनी पछि लागिन् ।
स्कुलमा पुगेपछि उनले डोटीकै केही दिदीबहिनी भेटिन् ।
‘लेख्न पढ्न आउँछ ?’ उनीहरुले सोधे ।
‘सानोमा २ कक्षासम्म पढको, तर अहिले सबै भुलेँ,’ उनले जवाफ दिइन् ।
त्यसपछि पार्वती सो स्कुलमा १ कक्षामा भर्ना भइन् ।

सुरु-सुरुमा आफ्नो छोरी उमेरका शिक्षिकाहरुले हात समाएर लेख्न सिकाउँदा उनलाई अप्ठ्यारो नलागेको होइन । तर, विस्तारै अभ्यस्त भइन् ।
त्यहाँ कक्षा ६ सम्म पढेपछि मदन भण्डारी स्कुलमा सरिन् । त्यहाँ कक्षा ७ र ८ पढिन् । त्यसपछि पद्मकन्या स्कुलमा नौ कक्षामा भर्ना भइन् । अहिले सोही स्कुलबाट एसईई दिइरहेकी छिन् । कक्षा १२ सम्म पढेर बिट मार्ने उनको लक्ष्य छ ।
पार्वतीका ससुरा प्रधानपञ्च हुन् । उनी पहिलेदेखि नै बुहारीलाई पढाउने पक्षमा थिए । त्यतिबेला घर व्यवहारको जिम्मेवारीले गर्दा उनले पढ्ने फुर्सद नै पाइनन् ।
बुढेसकालमा आएर पढ्नुको कारण सोध्दा उनी भन्छिन्, ‘शिक्षा भनेको सिप हो । म सिप सिक्दैछु । यसैमा खुशी छु । पढ्नलाई उमेरले छेक्दैन ।’
पार्वती सारी-चोलो लगाएर, व्याग बोकेर स्कुल जान्थिन् । शिक्षिकाहरुले उनलाई कुर्ता सुरुवाल लगाएर आउनु भन्थे ।
तर, उनलाई लाज लाग्थ्यो ।









प्रतिक्रिया 4