+
+

बच्चालाई होइन, विद्यालयले दियो अभिभावकलाई यस्तो होमवर्क

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते ८:५५


विद्यालयबाट घर फर्किएपछि बच्चाहरुले होमवर्क गर्नुपर्ने हुन्छ । दिनभर विद्यालयमा पढेको कुरालाई पुनः स्मरण गर्न सकोस् भन्नका खातिर दिइएको यस्तो होमवर्क अहिले भने बिरालोलाई घण्टी बाँध्ने परम्परा जस्तै भएको छ । हरेक विद्यालयले के बुझेका छन् भने, विद्यार्थीलाई होमवर्क दिनैपर्छ । र, विद्यार्थीले पनि के बुझेका छन् भने विद्यालयका लागि होमवर्क गरिदिनुपर्छ । यस्तो बुझाई अभिभावकमा समेत पाइन्छ ।

अभिभावकहरु चाहन्छन्, छोराछोरीले होमवर्क गरोस् ।

विद्यालयबाट घर फर्केपछि मात्र होइन, बिदाको समयमा समेत बच्चाहरुले होमवर्क गर्नुपर्ने हुन्छ । उनीहरुलाई बिदाको समयमा पढाइबाट अन्यत्र नमोडियोस् भनेर होमवर्क दिइन्छ ।

अहिले गर्मी लाग्दैछ । यो मौसममा गर्मीको बिदा हुन्छ । यसै मेसोमा एक विद्यालयले बच्चालाई होइन, अभिभावकलाई होमवर्क दिएको कुराले चर्चा पाएको छ । प्रसंग भारत, तामिलनाडुको हो । त्यहाँको एक उच्च माध्यामिक विद्यालयले पाँचौ कक्षामा अध्ययनरत विद्यार्थीका बुबाआमालाई होमवर्क दिएको कुराले सोशल मिडिया तताएको छ ।

यस्तो होमवर्क अन्नाई भायलेट मेट्रीकुलेशन एन्ड हायर सेकेन्डरी स्कुलले होमवर्कका लागि अभिभावकलाई पत्रचार गरेको हो ।

यस पत्रमा अभिभावकका लागि १७ बुँदामा काम दिइएको छ । यो होमवर्क वास्तवमा उपयोगी छ । बच्चालाई कसरी घरमै व्यवहारिक शिक्षा दिलाउने भन्ने सन्दर्भमा उक्त विद्यालयले दिएको होमवर्क उपयोगी हुनसक्छ ।

–   अभिभावकले दिनमा दुई पटक आफ्ना बच्चासँगै खाना खानुपर्नेछ ।

–   खाना खाइसकेपछि आफ्नो भाँडाबर्तन बच्चालाई धुन सिकाउनुहोस् ।

–   बिदाको समयमा अभिभावकले आफ्ना बच्चालाई खाना बनाउन पनि सिकाउनुहोस् ।

–   बच्चालाई लिएर छिमेकीको घर जानुहोस् । आफ्नो कार्यलयमा पनि लिएर जानुहोस् ।

–   टिभी, मोबाइल, कम्प्युटर जस्ता विद्युतिय यन्त्रबाट बच्चालाई टाढै राख्नुहोस् ।

किन अभिभावकलाई होमवर्क ?

यसरी अभिभावकका लागि जारी गरिएको होमवर्कको बिषयमा विद्यालय व्यवस्थापकको आफ्नै तर्क छ । उनीहरुका अनु्सार, ‘अभिभावकसँग बच्चाको लागि समय छैन । आमाबुबा अफिसमा । बच्चा दिनभर मोबाइलमा व्यस्त हुन्छन् । त्यसैले हामी चाहन्छौं कि, अभिभावकले धेरै समय बच्चासँग व्यतित गरोस् ।’

खासमा बच्चालाई सामाजिक जीवन बाँच्न सिकाउन यस्तो अभ्यास गरिएको विद्यालयको भनाई छ । विद्यालयमा बच्चालाई पुस्तक पढ्न लगाइन्छ । घरमा अभिभावकले पनि त्यस्तै गर्छन् । तर, यसले उनीहरुमा व्यवहारिक परिपक्कता नआउन सक्छ । त्यसैले उक्त विद्यालयले घरमै व्यवहारिक ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यताका साथ अभिभावकलाई होमवर्क दिएको पाइन्छ ।

विद्यालयका अनुसार बच्चाहरुलाई अब सामाजिक जीवन बाँच्न पनि सिकाउनुपर्छ । खासगरी ६ देखि १० बर्ष उमेर समूहका बच्चाको सामाजिक विकास र पढाई एकसाथ अगाडि बढाउनुपर्छ ।

बिदामा बच्चालाई होमवर्क किन ?

अहिले हामीकहाँ पनि होमवर्क दिनैपर्छ भन्ने मान्यता छ । हरेक विद्यालयले बिदाको समयमा बच्चाहरुलाई होमवर्क दिएर पठाउँछ । होमवर्क यस्तो हुन्छ कि, उसले विदा अवधीभर होमवर्कमै ध्यान लगाउनु परोस् ।

अभिभावक पनि के ठान्छन् भने, फुर्सदमा बच्चाहरुलाई होमवर्क दिइयो भने उनीहरु अन्यत्र भुल्दैनन् । पढाईमा ध्यान दिन्छन् ।

तर, यो सकारात्मक कुरा होइन । अहिलेका बच्चामा मानविय संवेदना, सामाजिक सोंच-चिन्तन कम हुँदै गएको छ । बच्चालाई केवल पढाईमा मात्र केन्द्रित गर्दा उनीहरु सामाजिक जीवनबाट ओझेल पर्दैछन् । यो सही होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?