Comments Add Comment

मुख्यमन्त्री गुरुङले संघीय सरकारलाई सोधे : प्रदेश सरकारले के के गर्न मिल्छ ?

२१ जेठ, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकार कानमा तेल हालेर बस्दा प्रदेश सरकार समस्यामा परेको गुनासो गरेका छन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पोखरामा सोमबार आयोजित ‘नवीकरणीय उर्जा’ सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा उनले संघीय सरकारमा संघीय मानसिकता नै नदेखिएको आरोप लगाए ।

संघीय सरकारलाई शुरु देखिनै स्रोत, साधन र बजेटको बाँडफाँट गर्नका लागि आग्रह गर्दा बजेटमा सबै कुरा आउँछ भनेको तर बजेटमा त्यसको सम्बोधन नभएको मुख्यमन्त्री गुरुङले बताए ।

‘संघीय सरकारमा संघीय मानसिकता नै देखिएन, संघीयता भनेको स्रोतको बाँडफाँट पनि त होला नि, साधन र अधिकारको बाँडफाँट पनि त होला नि, अनि बजेटको पनि बाँडफाँट होला नि Û तर त्यस्तो भएको छैन’ उनले भने । गुरुङले प्रदेश सरकारले के के गर्न मिल्छ त्यो प्रष्ट भनिदिनुपर्ने बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश ४ ले ५ वर्षमा ३ हजार मेगावाट र १० वर्षमा कम्तीमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने बताए । उनले लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार जस्तोसुकै काम गर्न तयार रहेको बताउँदै त्यसका लागि सहयोग गर्न उर्जा क्षेत्रका विज्ञहरुलाई आग्रह गरे ।
‘सुरक्षाको प्रत्याभूति दिन हामी तयार छौं, १/२ वर्ष कर छुट दिनु परे पनि हामी तयार छौं, तपाईंहरुले पनि अब आफ्नो क्षमता अनुसारको रिजल्ट दिने गरी काम गर्नुस्’ उनले भने ।

रोयल्टी खाएर मात्र प्रदेश सरकार नबस्ने बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेशको उत्पादन र उत्पादकत्व बढाउनका लागि काम गर्न जरुरी रहेको बताए । उनले प्रदेशको विकास र समृद्धिका लागि लगानी भित्र्याउनु आवश्यक रहेको बताउँदै त्यसका लागि चौविसै घण्टा विद्युत आपुर्ति हुनुपर्ने बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश नम्बर ४ सरकारले लोकप्रिय बजेट नल्याउने बताए । उनले भने,’हामी दिगो विकासमा आधारित भएर बजेट ल्याउँछौं, हामीलाई वाह ! वाह ! भन्ने खालको लोकप्रिय बजेट चाहिएको छैन र ल्याउँदैनौं पनि ।’

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश ४ को विद्युत अन्य प्रदेशसमा समेत बेच्नसक्ने हैसियत भएकाले योजना बनाएर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment