+
+

जब छोरीबुहारी तेक्वान्दो तालिम लिन घरबाट निस्किए…

आत्मरक्षा तालिम पछि किशोरीहरुको आत्मबलमा वृद्धि

दिनेश थापा दिनेश थापा
२०७५ जेठ २८ गते ११:५०


२८ जेठ, सिन्धुपाल्चाेक  । ‘केटीहरुले यस्तो गाह्रो खेल खेल्न सक्दैनन् । खेल त केटाहरुले मात्रै खेल्ने हो भनेर सुरुमा त मलाई परिवारले खेल्न जानै दिएनन् तर मैले एकदमै जिद्दी गरेपछि मात्रै परिवारले पठाए ।’

चार महिनाअघिको घटना सम्झँदै सुनकोशी गाउँपालिका–३ कालिका कि अनिशा गिरीले भनिन्, ‘अहिले त करिअर नै यसैमा बनाउन सक्छु जस्तो लागेको छ ।’

सञ्चारिका समुहको सहयोगमा न्याय तथा अधिकार संस्था जुरी नेपाल र मानव अधिकार सञ्चार प्रतिष्ठान इह्रिकनले सिन्धुपाल्चोकको साविकको कालिका र ठोकर्पामा न्यायमा पहुँच परियोजना सञ्चालन गरिरहेको छ ।

परियोजना सञ्चालन भएको दुवै गाविसका किशोरीहरुका लागि सञ्चालन गरेको तीन महिने आत्मरक्षा तालिममा सहभागी किशोरीहरुले तालिम लिएपछि आत्मबल बढेको बताएका छन् ।

‘अहिले त शारीरीक,मानसीक दुवै हिसाबले आत्मबलमा वृद्धि भएको छ गिरीले भनिन्–‘अब यही खेलबाट आफूलाई अघि बढाउँछु ।’

परियोजनाले सञ्चालन गरेको आत्मरक्षा तालिममा कालिकाबाट १२ र ठोकर्पाबाट १२ जना किशोरीहरुलाई तेक्वान्दो सिकाइएको थियो ।

‘तेक्वान्दो खेल पुरुषहरुले मात्रै खेल्ने हो भन्दै सुरुमा परिवारबाट किशोरीहरुलाई खेलमा सहभागी गराएका थिएनन् । पहिला त मानेका थिएनन् अहिले त परिवारका बाबु–आमा एकदमै खुसी हुनुहुन्छ’, कालिकी प्रतीक्षा लामाले भनिन् ।

कालिकाबाट मात्रै ३० जना भन्दा बढी किशोरीहरु आत्मरक्षा तालिममा सहभागी भएको प्रशिक्षक रोहिन्द्रविक्रम खड्काले जानकारी दिए । किशोरीहरुका लागि मात्रै लक्षित गरेर यसरी तेक्वान्दो खेल आत्मरक्षा तालिम पहिलोपटक भएको खड्काले बताए ।

किशोरीहरु मात्रै होइन आत्मरक्षा तालिममा बुहारीहरु पनि सहभागी भएका थिए । सुनकोशी गाउँपालिका–१ कि वडा सदस्य शान्ति खड्का अन्य किशोरीहरु जस्तै गरी आत्मरक्षा तालिममा सहभागी भएकी थिइन् । ‘यस्तो तालिम सबैका लागि आवश्यक रहेछ खडकाले भनिन्–‘यस्तो तालिम लिएपछि खै किन हो भित्र देखि नै मनोबल बढ्दो रहेछ ।’

परियोजनाले साविकको दुवै गाविसका १२/१२ जना किशोरीहरुका लागि प्रशिक्षक व्यवस्था गरेर, ड्रेस र खाजाको व्यवस्था गरेर तालिममा सहभागी गराएको थियो । तीन महिनाको अवधि सकिएपछि अब आफूहरुले नै शुल्क संकलन गरेर यसलाई नियमित दिने योजनामा दुवै गाविसका किशोरीहरु रहेका छन् । हामीले ‘बेल्ट टेष्ट’ पनि लिइसकेका छौ, अब आफंै शुल्क तिरेर तालिमलाई निरन्तरता दिनेछौं’, ठोकर्पाकी बिमला पहरीले भनिन् ।

ठोकर्पा र कालिकाबाट आत्मरक्षा तालिममा सहभागी सबै किशोरीहरुको तेक्वान्दोको नियम अनुसार नै बेल्ट टेष्ट सकिएको र अब उनीहरुकै माग अनुसार खेल लाई निरन्तरता दिने प्रशिक्षक खडकाले बताए । आत्मरक्षा तालिममा सहभागी कालिकाकी अनिशा गिरी उत्कृष्ट समेत भएकी छन् । अन्य सहभागीहरुले ग्रिन बेल्ट मात्रै पाए पनि अनिशाले भने पहिलोपटक नै एल्लो बेल्ट पाएकी छिन् । ठोकर्पामा मेनुका न्यौपाने उत्कृष्ट भएकी छन् ।

आत्मरक्षा तालिममा सहभागी किशोरीहरुलाई एक समारोहबीच प्रमाणपत्र वितरण गरिएको छ ।

वाघभैरव मावि ठोकर्पामा आयोजना गरिएको कार्यक्रममा कालिका र ठोकर्पाका २२ जना किशोरीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष नेत्रबहादुर कार्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी लगायतको सहभागीता रहेको थियो ।

यसैबीच जुरी नेपाल, इह्रिकन र कारितास नेपालको सहयोग र वाघभैरव मावि बाल क्लबको आयोजनामा विद्यालयका छात्रा छात्रहरुका लागि दुई दिने उद्घोषण,प्रस्तुतिकला तथा व्यक्तित्व विकास तालिम पनि सम्पन्न भएको छ । तालिममा वाघभैरव माविका ३० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई पत्रकारहरु डम्बर रसिक भारती, सरोज ढुगंना, दिनेश थापा, नेत्र पौडेल र नानीराम नेपालले सहजीकरण गरेका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?