२७ साउन, काठमाडौं । भारतको कोलकातामा बस्दै आएका ‘खुकुरी दल’ काण्डका नायक भरतसमशेर जबराको शनिबार ९० वर्षको उमेरमा उनकै निवासमा निधन भएको छ । वि.संं २००७ सालमा तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा जेल सजायँ भोगेका राणा २०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता थिए ।
पश्चिमबंगालको राजधानी कोलकातामा घर बनाएर उतै बसोबास गर्दै आएका भरतसमशेरले यसवीचमा करिब एक दर्जनजति भारतीय चलचित्रसमेत निर्माण गरेका छन् ।
सुरुमा वीपीमाथि भौतिक हमलामा उत्रिएको भरतसमशेरको समूह २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि फेरि कांग्रेससँगै नजिकियो । ०४७ सालको परिवर्तनपछि भरत कांग्रेसनेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँगै नजिक रहे ।
त्यसो त भरतसमशेरले ०४८ सालपछि तत्कालीन नेकपा एमालेका महासचिव मदनभण्डारीलाई समेत कोलकातास्थित आफ्नो घरमा रातभरि रक्सी खुवाएको पत्रकार राजेन्द्र स्थापितले लेखेका छन् ।
कसरी भएको थियो वीपी र गणेशमानको हत्या प्रयास ?
तत्कालीन गृहमन्त्री वीपी कोइराला र उद्योग वाणिज्य मन्त्री गणेशमान सिंहमाथि भरतसमशेरको निर्देशनमा खुकुरी दलबाट भएको भौतिक हमलाबारे इतिहासकार गृहमबहादुर देवकोटाले यसरी वणर्चन गरेका छन्ः
विसंं २००७ साल जेठ २९ गतेका दिन बिहान सबेरै गोरखा दलका जनरल सेक्रेटरी श्री भरतसमशेर जबरा र गोरखा लीगका सदस्य श्री रणधीर सुब्बालाई सरकारले गिरफ्तार गर्यो र केही घण्टासम्म सदर कोतवालीमा राखी त्यसपछि सदर जेलमा पठायो । उहाँहरुलाई के कारणले गिरफ्तार गरिएको थियो, सो कुरा सरकारले जनाएको थिएन ।
जेठ ३० का दिन ३ बजेतिर ३०/४० जवान बबरमहलका तलबी आठपहरियाहरु गोरखा दलको झण्डामा विभिन्न प्रकारका नारा लगाउँदै सदर जेलखानामा गए र जेलखाना तोडी भरतसमशेरलाई जेलबाट उम्काए ।
भरतसमशेर जेलबाट उम्किएपछि आफ्नो मोटरमा केही शागिर्दका साथ टुँडीखेलतर्फ लागे । बाँकी उनका सहयोगी गोरखा दलका सदस्य आठपहरियाहरुले हातमा नांगा खुकुरी लिई त्रिपुरेश्वरस्थित गेष्ट हाउसमा गई हमला गरे । त्यसबखत श्री वीपी कोइराला र श्री गणेशमानसिंह साथै थिए । तर, मार्न भनी गएका गोरखा दलले गृहमन्त्री वीपी कोइरालालाई र उद्योग वाणिज्यमन्त्री गणेशमानसिंहलाई चिन्न नसकी उनका सेक्रेटरी श्री दीर्घराज कोइरालालाई घाइते पारे र सुब्बा कालीचरणको तिघ्राको गेडी फुस्काई गोडा भाँचिदिए ।
वीपी कोइरालाले एकजना गोर्खा दलेलाई गोलीद्वारा मारिदिएपछि वीपी र गणेशमान बाथरुमबाट भागे । त्यसपछि गोर्खादलका आतंककारीहरुले त्यहाँ भएका फर्निचरहरु सल्काइदिए र बिगारिदिई त्यहाँबाट तिनीहरु पनि टुँडिखेलतिर लागे ।
त्यसबखत टुँडिखेलमा कवाजको टाइम भएकाले राष्ट्रिय सेना कवाज खेल्नको निमित्त सामेल भएको थियो । श्री भरतसम्शेरले लेक्चर गरी पल्टन भड्काउने प्रयत्न गरे । तर, नेपालका बफादार राष्ट्रिय सेनाले भरतसमशेरको भड्काइको सुनुवाई गरेनन् । भरतसमशेर आफ्नो प्रयत्नमा निराश र विफल भई फर्किन आँटेका बखत मुक्तिसेना र जनताले भरतसमशेरलाई घेरी बिजुली अड्डानिर कब्जा गरे र जनताले मनमानी तवरबाट पिटे ।
भरतसमशेर मुक्तिसेनाबाट गिरफ्तार हुनासाथ उनका शागिर्द गोर्खादले आठ पहरियाहरु भागे । भरतसमशेरको मोटर जनताले जलाइदिए र भरतसमशेरलाई फाँसी होस् भन्ने नारा लगाउन थाले ।
भरतसमशेरलाई त्यसबखतको सरकारले श्रीमहलमा नजरबन्दीमा राख्यो । र, आखिर कुनै कारवाही नगरी गृहमन्त्री वीपी कोइरालाले आफ्नो पदबाट त्यागपत्र (राजीनामा) दिनु एकदिन अगाडि २००८ साल कात्तिक २६ गतेका दिन रिहाइ गरिदिए ।
भरतसमशेरको रिहाइमा जनताले विभिन्न प्रकारका शंका, उपशंका गरेका थिए र त्यसको समाधान हुन सकेन ।
घटनाको भोलिपल्ट राजा त्रिभुवनको भनाइ
हिजो गोरखा दल भनाउँदा केही गुण्डाहरुले जुलुस निकाली मनपरी नारा लगाउँदै टुँडीखेलमा कवाज खेलिरहेका सिपाहीहरुलाई समेत बहकाउन खोजेछन् । र, त्यहाँबाट मैले बनाएको अन्तरिम मन्त्रिमण्डलका गृहमन्त्रीको बासस्थानमा हमला गर्न गएछन् । यो खबर सुनेर मलाई दुःखको साथै शरम पनि लाग्यो ।
देशको उन्नति होस् र सबैले सुख पाउन् भनी मैले कत्रो विचार गरीकन बनाएका मन्त्रीहरुमाथि गोर्खादल भनाउँदा केही गुण्डाहरुद्वारा बहकाइएर आएका अज्ञान व्यक्तिहरुले हिजो सारै लाजमर्नु काम गरे ।
तर, मलाई ती देशभक्त वीर सिपाहीहरुमाथि सारै नै खुशी लाग्यो, जसले ती गोरखा दल भनाउँदाहरुको बहकाऊमा नपरी आफ्नो सरकारप्रति बफादारी भई डिसिप्लीनमा नै रहे ।
मलाई गृहमन्त्री विश्वेश्रप्रसाददेखि पनि सारै नै खुशी लाग्यो, जसले यस्तो नाजुक अवस्थामा पनि रत्तीभर नहडबडाई बडो सावधानीसाथ सबैलाई सम्झाउने कोशिसमा लागिरहेर आफू सुत्ने कोठासम्महमला गर्दै आई आफूलाई नै खुकुरी प्रहार गर्न लागेको बेलासम्म पनि ती हमलावरहरुलाई सम्झाउने कोशिसमा नै लागेछन् ।
म सबै दुनियाँहरुसँग अपील गर्दछु कि यदि उनमा देशभक्ति र राजामाथि प्रेम छ भने कुनै पनि व्यक्ति ती गोर्खादल भनाउँदाहरुको बहकाऊमा नपरुन् र देशको हित गर्न भनी मैले बनाएका मन्त्रीहरुलाई सबैले सहयोग दिऊन् ।
(नेपालको राजनीतिक दर्पण, भाग १, पृष्ठ १४-१६)
प्रतिक्रिया 4