Comments Add Comment

मदन भण्डारीको भारत भ्रमणः रक्सी, अंग्रेजी र अपमान !

ज्योति बसुले अपमान गरे, भरतसमशेरले रातभरि रक्सी पिलाए

.

आज असार १४ गते । अर्थात्, मदन भण्डारी जन्मेको दिन । उनी वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका हुन् ।

मदन भण्डारीकै बिरासत थाम्ने केपी शर्मा ओली अहिले मुलुकको कार्यकारी प्रमुख छन् । र, उनी सबैभन्दा ठूलो पार्टीको अध्यक्षसमेत छन् । मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद पूर्वएमाले नेताहरुको मूल मन्त्र बनिरहेको छ ।

तुलनात्मक रुपमा आफ्नो पार्टी (तत्कालीन नेकपा माले) ठूलो हुँदाहुँदै मदन भण्डारीले तत्कालीन मार्क्सवादीलाई मिलाएर एमाले बनाएझैँ ओलीले पनि माओवादीलाई आफूमा समाहित गरेर बलियो कम्युनिष्ट पार्टी बनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले यतिबेला भारत र चीन दुबै देशमा सम्मान प्राप्त गरेका छन् । तर, नेपालको ठूलो कम्युनिष्ट पार्टीका शीर्षनेता मदन भण्डारीलाई चाहिँ त्यसबेला भारतको राजनीतिक नेतृत्वले कसरी हेर्थ्यो ?

यसै प्रशंगमा मदन भण्डारीको भारत यात्राबारे एक चश्मदित गवाहका रुपमा एउटा तीतो स्मरण यहाँ प्रस्तुत गरिएको छः

प्लेनमा ‘अपरिचित’ को खप्की

प्रसंग सन् १९९२ डिसेम्बर २६ हो । त्यो दिन संयोगवस माओ जयन्ति परेको थियो । म र मदन भण्डारी भोलिपल्ट हुने भारतीय कम्युनिष्ट पार्टी माले (लिबरेसन) को पाँचौं महाधिवेशनमा भाग लिन कोलकाता जाँदै थियौं । अर्का नेता ईश्वर पोख्रेल पहिल्यै कोलकाता पुगिसकेका थिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट जहाज उड्नेवित्तिकै एकजना मान्छेले पटक–पटक पछाडि फर्केर हामीलाई हेरे । लगभग १० मिनेटपछि उनले हामी बसेको सीटमा आएर मलाई आदेशात्मक शैलीमा भने – ‘ए भाइ तिमी एकछिन मेरो सिटमा गएर बस त, म यहाँ बस्छु ।’

त्यति बेलासम्म मैले उनी को हुन् भनेर ठम्याइसकेको थिएँ । त्यसैले केही नभनी मदन भण्डारीको छेउमा रहेको मेरो सीट छाडिदिएँ । केहीबेरपछि उनी आफ्नै सिटमा फर्किए । म मेरै सिटमा फर्किएँ ।

मदन भण्डारीले आश्चर्यजनक भावमा सोधे– त्यो मान्छे को हो, राजेन्द्र ?

मैले प्रतिप्रश्न गरें, ‘किन र ? के भन्यो ?’

मदनले सुनाए– ‘के के भनेन भन्नुस् न ! न त कुराको शिलशिला । न विषय र प्रसंग । म क्रान्तिकारी हुँ, भन्यो । हामीभन्दा क्रान्तिकारी रे ! ००७ साल र ०१७ सालका कुरा गर्‍याे । कस्तो मान्छे हो, न शब्द ठीक थिए, न शैली नै ।’

मैले सहज अनुमान लगाएँ कि पक्कै सामन्ती शैलीको फेला परे एमालेका महासचिव ! सोधें– ‘कहिले तँ, कहिले तिमी । अनि कुनैबेला भाइ, कहिले बाबु र केटा भने हो तपाईलाई उनले ?’

मदनले स्वीकारोक्तिसहित थपे– ‘आफूलाई बोल्न नदिई एक्लै बोल्ने, सामान्य आदरार्थी शब्दसमेत प्रयोग गर्न नजान्ने । तर, आफू मदन भण्डारीभन्दा चारगुणा बढी क्रान्तिकारी भएको दाबी गर्ने ।’

मदन भण्डारीले मसँग फेरि सोधे– ‘खासमा यी व्यक्ति को हुन् ?

मैले चिनाएँ– भरतसमशेर जबरा ।

भरतसमशेर ००७ सालताका ‘चर्चित’ खुकुरी दलका नेता थिए । ०१५ सालमा कांग्रेसले बहुमतको सरकार बनाएका बेला उनी प्रमुख प्रतिपक्षी दलको नेतासमेत थिए । पञ्चायतकालपछि उनी कोलकातामै घरजम गरेर बस्ने गरेका थिए । र, कहिलेकाहीँ नेपाल आउने– जाने गर्थे ।

भरतसमशेरलाई मैले दृष्टि साप्ताहिकको कार्यालयमा चिनेको थिएँ ।

मदन भण्डारीले गुनासो गरे– ‘जथाभावी बोल्दोरहेछ, मलाई त बोल्नैदिएन ।’

मदन भण्डारीले घुस खुवाए

कोलकाता पुगेपछि अर्को रमाइलो घटना भयो !

एयरपोर्टबाट बाहिर निस्कने क्रममा त्यहाँका सुरक्षाकर्मीले मलाई पाखुरामा समातेर कुनातिर लगे । उनीहरु बारम्बार ‘मालपानी, मालपानी’ भनिरहेका थिए । तर, मैले कुरा बुझिनछु । त्यसपछि मेरो हातमा रहेको ब्रिफकेस खोलेर देखाउन भने । मैले चाबी निकाल्दा गोजीबाट मेरो प्रेस पास पनि हातमा आयो । उनीहरुले त्यो के हो भनेर सोधे । मैले पत्रकार हुँ भन्ने जानकारी दिएपछि उनीहरुको व्यवहार एकाएक फेरियो ।

कम्तिमा दर्जनभन्दा बढी पटक उनीहरु ‘सरी साब, सरी साब’ भन्दै मेरो सेवामा पो लागे ! त्यसपछि ब्रिफकेस खोल्न त दिएनन् नै, बरु त्यो आफैँ बोकेर मलाई बडो सम्मानका साथ बाहिरसम्म ल्याइदिए ।

राजेन्द्र स्थापित

मैले भित्र मेरो साथी पनि छ भन्दासमेत उनीहरुले हामी छिट्टै उनको बाहिरिने प्रक्रिया सकिदिन्छौँ भन्दै मलाई बाहिर निकाले । तर, झन्डै आधा घण्टापछि मात्रै मदन भण्डारी बाहिर आए । किन ढिला भनेर मैले सोधेँ । कारण रोचक रहेछ !

खुब आदर्शको कुरा गर्ने, अनियमितता, घुसखोरी, ढिलासुस्तीको कडा ढंगले बिरोध गर्ने मदन भण्डारीले त्यहाँ भारतीय कम्युनिष्ट (ज्योति बसु) सरकारको अध्यागमनका सुरक्षाकर्मीलाई बाहिर निस्कन ‘घुस’ ख्वाएछन् ! उनले विस्तारमा सुनाए । पहिले एकसय रुपैयाँ माग्ने ती प्रहरीहरुसँग कम पैसा तिर्ने रस्साकस्सीमा उनी सफल भएछन् ! अनाहकमा पैसा तिर्नुपरेकोमा भन्दा पनि २ सय मागेका ठाउँमा जम्मा २० रुपैयाँ मात्रै तिरेकोमा उनी दंग देखिन्थे ।

एयरपोर्टको गेटमा पुग्दा फेरि अर्को फसाद ! उनै भरतसमशेर हामीलाई पर्खेर बसेका रहेछन् !

‘यो कोलकाता मेरो एरिया हो, अब ल हिंड मेरो घर’ भन्दै उनी राणाले ढिपी गर्न थाले । हामीले महाधिवेशनमा अथितिका रुपमा आएका हौँ भनेपछि बल्ल छोडे । तर, पछि उनको घरमा जानैपर्ने शर्तमा ।

मदनको त्यो छोटो भाषण

हामी सिधै महाधिवेशनस्थलमा गयौं । त्यहाँ महासचिव मदन भण्डारीको भव्य स्वागत भयो । उनी हलमा पस्दा सबैजना उठेर २ मिनेटसम्म ताली बजाइरहे । त्यो दिन मदन ड्यासमा त बसे, तर उनले बन्दसत्रमा मन्तव्य राखेनन् ।

सबै नेताहरु बसेको धर्मशालामा नै हाम्रो पनि बासको व्यवस्था गरिएको रहेछ । भोलिपल्ट हामीलाई एम्बेसडर कारमा राखेर कार्यक्रमस्थल विशाल बृगेड मैदानमा लगियो । बाटामा मानिसहरुले निकै चाखपूर्वक हामी चढेको गाडी हेर्दा अचम्म लागिरहेको थियो । किन यसरी सर्वसाधारणसमेत लाइनमा बसेर हामीलाई हेर्छन् भन्ने लाग्दै थियो । मदन भण्डारी त यहाँ समेत चर्चित व्यक्तित्व पो रहेछन् कि क्या हो भन्ने सोच्दै थियौं । पछि थाहा भयो, हाम्रो अघि–अघि अर्को गाडीले माइकिङद्वारा चिनारी दिँदै हिँडेकाले पो हेर्ने मान्छेको भिड लागेको रहेछ ।

महाधिवेशन घोषणा सभाको मञ्चमा म, ईश्वर पोखरेल र मदन भण्डारी तीनैजनालाई आसनग्रहण गराइएको थियो । त्यो दिन मदनले जम्मा १० मिनेट जतिमात्रै मन्तव्य राखे । शायद त्यो उनको जीवनकै सबैभन्दा छोटो भाषण थियो होला । हिन्दीमा बोल्नु परेकाले उनले चाँडै भाषण सकेकोमा शंका थिएन ।

मेरो हिन्दी कस्तो लाग्यो राजेन्द्र ? उनको यो प्रश्न नै मेरो अनुमान सही सावित गर्न काफी थियो । किनकि मोरङको एक सभामा उनले ५ घण्टा लगातार बोलेको चर्चा सेलाएको थिएन । मैले जवाफमा, ‘मलाई त तपाईको हिन्दी बनारस पढेको मान्छेको जस्तो लागेन’ भन्दा उनी मौन बसे ।

मदन भण्डारी किशोरावस्थामा भारतको बनारसमा बसेर पढेको हुनाले हिन्दी भाषासँग अभ्यस्त थिए ।

फेरि भरत शमसेरको फन्दामा !

त्यहीबेला हाम्रो हातमा एउटा चिट आयो । लेखिएको थियो – ‘म तपाईहरुलाई लिन आएको । मञ्चको पछाडि छु ।’

भरतशमशेरले पठाएका रहेछन् । कार्यक्रम सकेर हामी उनले पर्खेकोतिरबाट नभई अर्कोतर्फबाट निस्कियौं । तर, उनी त त्यहीं पो भेटिए ! आखिर फेला परियो । हाम्रो उनीसँग नजाने प्रयत्न सफल भएन । कार्यक्रम आयोजकलाई जानकारी गराएर उनको घर गयौं ।

पटनाको त्यो विशाल भवन शायद पुरानो दरबार थियो । त्यहाँ उनी बाहेक परिवारका कुनै सदस्य देखिएनन् । भरत शमसेरले उनको निजी बारमा लगेर हामीलाई बियर अफर गरे । म कहिल्यै रक्सी नखाने हुनाले पानी पिएर भोक मार्ने प्रयत्न गरें । मदन भण्डारी, ईश्वर पोखरेल र भरतसमशेर रक्सीमा झुमे ।

कुनै सितन बेगरको रक्सी ईश्वर पोखरेलले धेरै खाएनन् । मदन भण्डारीले भने भरतसमशेरकै लहैलहैमा धेरै पिए । कहिलेकाहिँ मात्रै पिउने बानी भएका मदनले ‘ठीक छ, धेरै पिएको छैन, म होसमै छु’ भन्दै पिए ।

राति एक बजेसम्म रक्सीबाहेक अर्थोक खानेकुरा केही पनि नदिई भोकै राखेर राणाले हामीलाई आफ्नो पराक्रम सुनाइरहे ।

राणाले हामी तीनैजनाको दिमाग भुट्न थाले । घरी खुकुरी दलले देखाएको ‘बहादुरी’ को बखान गर्थे त कहिले कम्युनिष्टलाई गाली गर्थे । कांग्रेसको कर्तुतदेखि मनमोहन, वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजा सबैको सत्तोसराप गरे । कोलकातामा रहँदै उनले ३२ वटा बंगाली चलचित्र बनाइसकेको बताए । दर्जनौं चलचित्रको पटकथा लेखेको बखान गरे । खुब फूर्ति लाए ।

७० वर्षको हाराहारीमा पुगिसकेका भरतसमशेर पटक–पटक ज्याकेटको जिपर खोली छाती फुलाएर देखाउँथे । पाखुरा सुर्केर दह्रो पार्थे र बूढो मसल्स देखाउँथे । अनि भन्थे– ‘तिमीहरुले के सोच्या ? मलाई बूढो र कमजोर ठानेको ? हेर, अझै म तगडा छु, हृष्टपुष्ट छु ।’

उनी कहिले कोठाभित्रै पुसअप गरेर देखाउँथे त कहिले कुस्तीबाज पहलमानहरुले बोक्ने काठको ठूलो गदा नचाएर देखाउँथे । उनको कुरा गराइ सिलसिलेवार थिएन, जे मनमा आयो, जे सम्झ्यो बोल्दै थिए । हामी उनको चर्तिकला हेर्दै रमाइलो मानिरहेका थियौं । मदनले बीच–बीचमा कांग्रेस–कम्युनिस्टबीचको एकता अझै अपरिहार्य भएको कुरा राख्थे । तर, राणा खलकका भरतसमशेर मदनको कुरै सुन्दैनथे, आफैं मात्र बोल्न खोज्थे ।

बल्ल राति १ बजे उनले खाना खाने ठाउँमा लगे । उनको त्यो भान्सामा २५ जनाजति काम गर्ने मान्छे रहेछन् । तर, हामी खाना खाने चाहिँ चार जना मात्र थियौं ।

हामी तीनजनालाई सुत्न भरतसमशेरले एउटा पलङ्ग दिए । आखिर हामीले नसुती रात काट्यौं । भरत शमसेरले कतै एमाले महासचिव मदन भण्डारीले अनियन्त्रित रक्सी खाएको हल्ला त काठमाडौँमा पुर्‍याउँदैनन् ? हामीलाई चिन्ताले खुबै सतायो ।

अंग्रेजीले दिएको दुःख

भोलिपल्ट धर्मशालामा हामीसँग भेट्ने र केही सैद्धान्तिक छलफल गर्ने प्रस्ताव नर्वेको माओवादी कम्युनिष्ट पार्टीकी अध्यक्षले राखिन् । उनी हामी बसेकै कोठामा आइन् । लगभग एक घण्टा कुराकानी भयो । उनको अंग्रेजी हामी कसैले बुझेनौं ।

मदन भण्डारीले भने– ‘राजेन्द्र, ध्यान दिएर सुन्नु है ।’ हामी तीनैजनाले उनको कुरा बुझ्ने प्रयास गर्‍याैं। तर, केही बुझिएन ।

मदन भण्डारीले वार्ता अवधिभरि जम्मा दुई शब्द मात्रै बोले– ‘एस, एस र नो, नो ।’

पछि मैले सोधेँ – के एस, के नो मदन कमरेड ?

उनले अंग्रेजी नबुझेको विषयलाई मोड्दै भने– म बुझ्नचाहिँ सबै बुझ्छु, बोल्न पनि आउँछ । तर, पार्टी महासचिवले बोल्दा कतै अर्कै अर्थ लाग्ने शब्द बोलिन्छ कि भनेर मात्रै चुप लागेको हुँ ।

हामी दुई कम्युनिष्ट पार्टीका शीर्ष नेतावीचको त्यो बार्ता सम्झँदै धेरैबेर हाँस्यौं । हामीले त्यो क्रममा बुझेको जम्मा दुईवटा कुरा नै निकै रोचक लागे । उनको पार्टी नर्वेको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी रहेछ । जम्मा ५५ जना सदस्य रहेको सो पार्टीमा सबैजना केन्द्रीय कमिटी सदस्यको हैसियतमा रहेछन् !

यसै क्रममा धर्मशालामा बस्दै मदन भण्डारी र ईश्वर पोखरेलले एमालेको हुन गैरहेको पाँचाैं महाधिवेशनमा परिमार्जित नौलो जनवादको वकालत गर्दै हिँडेका सीपी मैनालीलाई कसरी ठेगान लगाउने भन्नेबारे गम्भीर छलफल गरे ।

छलफलकै नतिजा अनुरुप केन्द्रीय सदस्य केशवलाल श्रेष्ठद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद’ पुस्तिका प्रकाशन गरिने भयो । त्यो पुस्तिका मैले ‘दृष्टि सप्ताहिक’ बाट गोप्य तवरमा निकालिदिन मलाई आदेश भयो । पुस्तिका केशव स्थापितको कान्तिपुर प्रिन्टिङ प्रेसमा छपाएर निकालिदिएँ ।

पछि ’दृष्टि’ पत्रिका त पार्टीको पेपर पो हो, कुनै एउटा समूहको दस्ताबेज प्रकाशन गर्न आर्थिक लगानी गर्न मिल्छ कि मिल्दैन ? भन्ने विवाद सीपी मैनाली समूहले उठायो । म त्योबेला दृष्टिको व्यवस्थापक थिएँ । सीपीले त यसबारे मसित सोधेनन् । तर, त्यो समूहका अरूले सोधे ।

आखिरमा महाधिवेशनमा मदन भण्डारीद्वारा प्रस्तुत दस्तावेज भारी बहुमतले पारित भयो । सीपीद्वारा प्रस्तुत दस्तावेज मतदानमार्फत महाधिवेशनले अस्वीकार गर्‍याे ।

ज्योति बसुप्रतिको भ्रम निवारण

अर्को पनि अविस्मरणीय घटना भयो !

कोलकाता आएका बेला एकपटक कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुलाई भेटेरै फर्कौं भने मदन भण्डारीले । हामीले भेट्ने समय माग गर्‍याैं । तर, पाइएन ।

सन् १९६७ देखि नै पश्चिम बंगालमा शासन गर्दै आएको भाकपा (मार्क्सवादी) का नेता तथा मुख्यमन्त्रीलाई भेटेर टनकपुर, नेपालमा भारतले पठाउने राजदुत र दक्षिण एसियाली कम्युनिष्टहरुका बारेमा कुरा गर्न चाहन्थे मदन भण्डारी ।

तर, ज्योति बशुले समय नदिँदा साहना वा भरतमोहन (पूर्वमार्क्सवादी नेता) लाई ल्याएको भए पक्कै भेट्ने समय पाइन्थ्यो होला भन्ने कुरा पनि गर्यौं हामीले ।

मुख्यमन्त्री बसुले समय नदिएपछि समुद्र हेर्ने योजना बन्यो । मदन भण्डारीले कहिल्यै पनि समुद्र नदेखेकाले त्यो हेर्न जाने योजना बनाइयो । तर, पाहुनालाई हामी नै घुमाउँछौं भन्दै शुक्रबारको दिन त्यता जाउँला भनेर आयोजकले हामीलाई हिँड्न दिएनन् ।

यसैवीच काठमाडौँमा केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्नुपर्ने भएपछि महासचिव मदन बिहीबार नै फर्कने भए । समुद्र हेर्ने उनको योजना अधुरै रह्यो । पछि चीन भ्रमणमा उनले त्यो रहर पूरा गरे होलान्, शायद ।

बिहीबार नेपाल फर्कने तयारी गर्दै गर्दा मुख्यमन्त्रीबाट खबर आयो– १० मिनेटको समय मिल्यो, भेट्ने भए आउनू ।

दुई घण्टा बाँकी नै थियो उडान समय । त्यसैले भेट्ने निर्णय गर्यौं ।

हामीले भव्य भवनको मुख्यमन्त्री कार्यालयसम्म पुग्न निक्कै लामो पैदल यात्रा गर्‍याैं, कार्यालयको परिसरमा । र, बसुको कोठामा पुग्नासाथ औपचारिक अभिवादनपछि छलफल सुरु भयो ।

त्योबेला भारतको केन्द्रीय सरकारलाई समेत प्रभावमा पार्न सक्ने हैसियतमा रहेका ज्योति बसुलाई भारतले नेपालमा पठाउने राजदूत सीमा जोडिएका प्रान्तका भन्दा अन्य प्रान्तका भन्दा परका पठाउँदा उसको प्रान्तीय स्वार्थ नहुने, त्यति हुँदा पनि नेपाललाई सहज हुने हुनाले ध्यान दिन र टनकपुरबारे माकपाको धारणा के हो भन्ने कुरा मदन भण्डारीले राख्न थालेका मात्रै के थिए, १० मिनेटको समय दिएर भेट्न बोलाएका ज्योतिले दुई मिनेटमै उठेर सम्बाद टुंग्याउन हात लम्काए ।

हामीले इशारामा नउठ्ने सल्लाह गर्‍याैं । त्यसपछि उनी फेरि बसेर कुरा सुन्न थाले । तर, फेरि एक मिनेटपछि मलाई हतार छ भन्न थाले । हामीले पनि अपमानित महसुस गर्‍याैं र उठेर हिड्यौं ।

मदन भण्डारी ज्योति बसुको त्यो व्यवहारबाट निकै दुःखी भएर भारी मनका साथ एयरपोर्टतर्फ लागे ।

यसरी मदन भण्डारीसँगको त्यो भारत भ्रमण धेरै कोणबाट स्मरणीय बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment