+
+

एसियाली खेलकुद : यस पटक किन जित्न सकेन नेपालले पदक ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १२ गते २:००

११ भदौ, काठमाडौं । इन्डोनेसियामा भइरहेको १८ औं एसियाली खेलकुदमा नेपाल पदकविहीन भएर फर्कनुपर्ने हो कि भन्ने डर बढेको छ । अहिलेसम्म सहभागी भएका खेलमा नेपाल कमजोर देखिएको छ ।

सन् १९५१ बाट सुरु भएको एसियाली खेलकुदमा १९५४ र १९६२ बाहेक सबैमा सहभागी नेपालले अहिलेसम्म १ रजत र २२ काास्य गरी २३ पदक जितेको छ । १९८६ बाट पदक जित्न थालेको नेपाल त्यसपछि पदकविहीन बनेको छैन ।

अहिले एसियाली खेलकुद भइरहेको इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा नेपालबाट २९ खेलका १ सय ८५ खेलाडी सहभागी छन् । जसमा आश गरिएका केही खेलमा नेपालको प्रतिस्पर्धा सकिएको छ ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोट्र्स क्लाइम्बिङ र स्केटबोर्डमा सहभागिता जनाएको हो ।

यसपटक ४६ राष्ट्र सहभागी एसियाली खेलकुदमा १० औं दिनको खेल चलिरहँदा ३५ देशले पदक जितेका छन् । चीन पहिलो स्थानमा, जापान दोस्रोमा र दक्षिण कोरिया तेस्रोमा रहेको छ ।

दक्षिण एसियाली देश भारतले ७ स्वर्ण, १० रजत र २० कांस्यसहित ३७ पदक जितेको छ । पाकिस्तानले दुई कांस्य पदक जितेको छ । अरु दक्षिण एसियाली देशजस्तै नेपाल भने कमजोर बनेको छ ।

यसपटक एसियाली खेलकुदमा नेपाल सहभागी अहिलेसम्मकै धेरै २९ खेलमध्ये १९ खेलका लागि खेलाडीहरु वैदेशिक प्रशिक्षणमा पनि सहभागी भएका थिए । राम्रो तयारी गरिएको र विदेशमा प्रशिक्षण लिइएको भनिएका खेलहरु पनि कमजोर देखिएका छन् ।

सोमबार कराते ५० केजी तौल समूहमा अनु अधिकारी पदकनजिक पुगेर पनि पराजित भइन् । क्वार्टरफाइनलमा चाइनिज ताइपेइकी सिआउसुहाङसँग ७-२ ले हारेकी उनले सिआउसुहाङ फाइनलमा पुगेपछि रेपिचेजका आधारमा पुनः मौका पाएकी थिइन् । रेपिचेजमा उनले लाओसकी सिरीभिमोनलाई ३-१ ले हराइन् । पदक आउने खेलमा उनी जापानकी खेलाडी मियाहारा मिहोसँग ९-० ले पराजित भइन् ।

नेपालबाट आश गरिएका तेक्वान्दो, कराते, बक्सिङजस्ता खेलमा निराश भइरहेका बेला भारोत्तोलन र उसुमा भएको राष्ट्रिय कीर्तिमान सुधारमै खुसी हुनुपरेको छ ।

भारोत्तोलनमा कमलबहादुर अधिकारी, सञ्जु चौधरी र तारादेवी पुनले बनाएको राष्ट्रिय कीर्तिमान नै यसपटक नेपालको प्रदर्शन मापनको आधार बनेको छ । भारोत्तोलनमै सहभागी १२ औं सागका रजत विजेता विकास श्रेष्ठ भने कमजोर देखिए ।

भारोत्तोलनमा तीन खेलाडीको राष्ट्रिय कीर्तिमान

भारोत्तोलनमा कमलबहादुर अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।

कमलले स्न्याचमा १ सय १९ केजी र क्लिन एन्ड जर्कमा १ सय ६० गरी कुल २ सय ७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

स्न्याचमा कमलकै नाममा १ सय १८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए ।

क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १ सय ५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १ सय ५६ केजी उचालेका थिए । लगातार चौथो एसियाड खेली रहेका कमल तेश्रो लिफ्टमा १ सय ६० केजी भार वहन गर्दै पुनः १ सय ५६ केजीको कीर्तिमानलाई सुधारे । राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि उनी समग्रमा १४ औं भए ।

भारोत्तोलनमै सञ्जु चौधरीले महिला ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाइन् । उनले स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १ सय ५८ केजी तौल उचालिन् । जुन उनकै कीर्तिमानको सुधार हो ।

यस्तै भारोत्तोलनमा महिला ७५ केजीमा तारादेवी पुनले राष्ट्रिय कीर्तिमान बनाइन् । १२ औं सागकी कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १ सय १ केजी र कुलमा १ सय ७५ केजीको भार वहन गरेकी हुन् ।

उसुमा निमाको कीर्तिमान

इन्डोनेसियामा नेपाली खेलाडीको पहिलो कीर्तिमान उसुकी निमा घर्ती मरगले बनाइन् । उनले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले ९.१७ अंकका साथ किर्तिमान बनाइन् ।

दक्षिण एशीयाली खेलकुद सागकी स्वर्ण विजेता निमाले पहिलो दिन नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् । दोस्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी उनी १२ खेलाडीमध्ये ११ औँ स्थानमा रहिन् ।

कहिले कसले पदक जिते ?

१९८६ सियोल, दक्षिण कोरिया

बक्सिङबाट कास्य – लालबहादुर रानामगर, तुलबहादुर थापा, सुशिल पोखरेल, मनोजबहादुर श्रेष्ठ
तेक्वान्दोबाट कास्य – राजकुमार राई, विधान लामा, राजकुमार घर्ती क्षेत्री, राजकुमार बुढाथोकी

१९९० बेइजिङ, चीन

बक्सिङबाट कास्य – चित्रबहादुर गुरुङ

१९९४ हिरोसिमा, जापान

तेक्वान्दोबाट कास्य – मनबहादुर शाही
करातेबाट कास्य – सीता राई

१९९८ बैंकक, थाइल्याण्ड

तेक्वान्दोबाट रजत – सबिता राजभण्डारी
तेक्वान्दोबाट कास्य – किशोर श्रेष्ठ, सपना मल्ल
करातेबाट कास्य – समरबहादुर गोले

२००२ बुसान, दक्षिण कोरिया

तेक्वान्दोबाट कास्य – दीपक विष्ट, रेनुका मगर र रितुजिमी राई

२००६ दोहा, कतार

तेक्वान्दोबाट कास्य – दीपक विष्ट, मनिता शाही र आयशा शाक्य

२०१० ग्वान्झाउ, चीन

बक्सिङबाट १ कास्य – दीपक महर्जन

२०१४ इन्चोन, दक्षिण कोरिया

करातेबाट कास्य – विमला तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?