+
+

आईजी सा’ब, प्रहरीमा ‘किरा–धमिरा’ छन् कि ‘गधा’ ?

गौरव पोखरेल गौरव पोखरेल
२०७५ कात्तिक १७ गते १८:२१

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २१ असोजमा प्रहरी संगठनभित्र ‘किरा–धमिरा’ रहेको दाबी गर्दै उनीहरुलाई टिपेर फ्याल्ने घोषणा गरे । प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘केही व्यक्तिका कारण सिंगो प्रहरी संगठनलाई लाञ्छना लगाउने काम स्वीकार्य हुँदैन ।’

उनले संगठनभित्र किरा र धमिरा रहेको दाबी गरिरहँदा उपस्थित व्यवसायिक र इमान्दार प्रहरी अधिकारीहरुका अनुहार भने खिन्न देखिन्थ्यो । उनीहरु शिर निहुर्‍याएर चुपचाप बस्न विवश थिए । प्रहरी प्रमुखको बोलीविरुद्ध विचार व्यक्त गर्ने आँट उनीहरुसँग हुँदैन ।

त्यो अभिव्यक्ति दिएको केहीबेरमै आईजीपीको अधिकांश मिडियामा ‘हेडलाइन’ बने । त्यसले खनाललाई सन्तुष्टि त दियो होला तर, तल्लो स्तरको कर्मचारीहरु भने गालीले हतोत्साही बने ।

केही समयपछि व्यवसायिक छवीका अधिकारी लयमा फर्किंदै थिए । त्यसबीच, आईजीपीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमकुमार सुवेदीलाई केन्द्रीय प्रहरी प्रवक्तामा नियुक्त गरे ।

प्रवक्ता बनेलगत्तै, सुवेदीले गत बुधबार सुरक्षा मामिलाका करिब ३० जना पत्रकारहरुलाई भेला गराए । र, आईजीपीको पद पछ्याउँदै एक कदम अगाडि बढेर ‘गधा’ को संज्ञा दिँदै प्रहरीलाई गाली गरे ।

लेखक

उनले भनेका थिए, ‘सङ्गठनभित्र छिरेका सबै गधा गाई नहुन सक्छन्, गधाको रूपमा छिरेका व्यक्तिलाई सङ्गठनले लुकाउने छिपाउने गरेको छैन । गधाको पहिचान गरी हटाइएको छ । कारबाही भएका छन् ।’

प्रहरी प्रधान कार्यालयका एक जिम्मेवार अधिकारीले आफ्नो अभिव्यक्तिले संगठनका अधिकारीहरुमा कस्तो असर पुर्‍याउला भन्ने सोच्दै नसोची दिएको त्यो अभिव्यक्ति पनि सञ्चारमाध्यममा हेडलाइन त बन्यो तर, अधिकांश व्यवसायिक प्रहरी अधिकारीको मनोबल भने गिरेको छ । जसले संगठनमा दुरगामी असर पार्नेछ ।

हेडलाइन बन्ने मोह

पछिल्लो समय प्रहरी संगठन एकपछि अर्को गर्दैै विभिन्न प्रकरणमा आलोचित बनिरहेको छ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन वितिसकेको छ ।

तर, अभियुक्तको पहिचान हुन सकेको छैन । बरुउल्टै नक्कली अभियुक्त सार्वजनिक गरेको डीएनए रिपोर्टले देखाएपछि संगठनको छवी धमिलो भएको छ ।

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट बर्खास्तीमा परिसकेका छन् । यसअघि साढे ३३ किलो सुन प्रकरणमा पनि ९ जना प्रहरी अधिकारी मुछिए । उनीहरुमाथि प्रहरीले संगठित अपराध र कर्तव्य ज्यानमा मुद्दा नै दायर गर्‍यो ।

त्यसयता जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउँदा होस् या भक्तपुर इन्काउन्टर प्रकरणमा होस्, प्रहरी हरेक प्रकरणमा विवादको भूमरीमा फसेको छ । तर, संगठनका जिम्मेवार अधिकारी भने मिडियामा ‘हेडलाइन’ बन्ने मोहले ग्रसित छन् ।

जसका लागि उनीहरुले परिणामबारे ख्यालै नगरी ‘क्याच्ची’ शब्दको प्रयोग गरिरहेका छन् । प्रहरी अधिकारी मात्रै होइन, अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि यसबाट अछुतो छैनन् ।

सुन प्रकरणको अनुसन्धान जारी रहेका वेला उनले पटकपटक ‘ठूलो माछा’ पक्राउ पर्ने भन्दै भाषण ठोके । उनको अभिव्यक्तिले मुलधारको सञ्चारमाध्यममा विशेष स्थान ओघट्यो । तर, अहिले प्रकरणको परिणाम आइसकेको छ ।

निरन्तर गाली श्रृङ्खला चलिरहँदा प्रहरी अधिकारीहरुले प्रश्न गर्न थालेका छन्, ‘हामी आफ्नो क्षमता प्रदर्शन गरेर प्रहरीमा भर्ना भएका हौं कि हाकिमहरुले टीका लगाएर जागिर बक्सिस दिएका हुन् ?’

ठूलो माछाको कुरा त परै जाओस्, भुरा माछा भनिएकाहरुलाई पनि अदालतले धमाधम ‘क्लीन चिट’ दिइरहेको छ ।

गृहमन्त्री त्यसबेला आफ्नो अभिव्यक्तिले लोकप्रिय त बने तर, सुझबुझविनै अभिव्यक्ति दिँदा अहिले परिणामले ‘गर्ल्याम्म’ लडिसकेका छन् । आखिर उनले ठूला माछा कसलाई भनेका थिए ? किन समातिएनन् त ती संन्दिग्ध ? अब यसको स्पष्टीकरणको अपेक्षा गृहमन्त्रीसँग छ । तर, उनी मौन छ ।

प्रहरी अधिकारीका गुनासै गुनासा

सुनकाण्डमा अनुसन्धान लागि खटिएको तत्कालीन प्रहरी अधिकारीहरु नै आरोपित बने । निर्मला हत्या प्रकरणमा पनि अनुसन्धानमा खटिएका गल्ती गर्ने/नगर्ने सबै प्रहरीलाई एउटै बास्केटमा हालेर कारबाही गरियो ।

अनुसन्धान समेत नसकिँदै गरिएको कारबाही गरिएपछि बर्खास्तीमा परेका एसपी विष्टले अदालत जानेसमेत तयारी गरेका छन् । हरेक प्रकरणमा अनुसन्धानकर्ता नै आरोपित बन्दै जाँदा अहिले प्रहरी अधिकारीमा ‘सन्तुष्टि’ छैन । अनौपचारिक कुराकानीमा उनीहरुले काममा ‘असुरक्षा’ रहेको बताउने गरेका छन् ।

‘अहिले पहिले जस्तो मरिहत्ते गरेर काम गर्ने वातावरण नै छैन’, महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अनुसन्धान अधिकारीले पंक्तिकारसँगको अनौपचारिक संवादमा भनेका थिए, ‘हाकिमले भने अनुसार गर्दागर्दै पनि जागिर धरापमा परेका कयौं उदाहरण ताजै छन् ।’

संगठनमा ‘चेन अफ कमाण्ड’ को विषय एकातिर भए पनि अब हाकिमले जे भन्दा पनि एकपटक सोच्नै पर्ने बाध्यता आइपरेको उनको भनाइ थियो ।

असंवेदनशीलता र दम्भ

नेपाली सेनाकै उदाहरण हेरौं । त्यहाँ संगठन र संगठनका अधिकारीको प्रतिष्ठामाथि आँच आउने आक्षेप लागिसक्दा ‘कोर्ट मार्सल’ नै हुन्छ ।

तर, प्रहरी संगठनका अधिकारी असंवेदनशील र दम्भी छन् । प्रहरी अधिकारीहरु पनि अब जिम्मेवार हुनैपर्छ । औपचारिक कार्यक्रममा शब्द चयनमा संवेदनशील बन्नै पर्छ । नत्र, हरेक पटक अधिकारीहरुलाई होच्याएर तुच्छ शब्द प्रयोग गरिरहँदा त्यसले गलत असर छाड्छ ।

जुन अहिले संगठनभित्र छचल्किएको छ । प्रहरी प्रमुख र प्रवक्ताले नै किरा, धमिरा र गधा भनेपछि सर्वसाधारणले पनि सोच्न थालिसकेका छन्, ‘प्रहरी त गलतै गलतै व्यक्तिले भरिएको रहेछ ।’

कुनै पनि अधिकारीहरु जिम्मेवारीमा पुगिसक्दा उनीहरुमा दम्भ समेत बढ्ने गरेको भान हुन्छ । जसका कारण उनीहरु आफ्नो जिम्मेवारी भुलेर असंवेदनशीलता प्रस्तुत गरिरकेका छन् ।

निरन्तर गाली श्रृङ्खला चलिरहँदा प्रहरी अधिकारीहरुले प्रश्न गर्न थालेका छन्, ‘हामी आफ्नो क्षमता प्रदर्शन गरेर प्रहरीमा भर्ना भएका हौं कि हाकिमहरुले टीका लगाएर जागिर बक्सिस दिएका हुन् ?’

फौजी संगठनमा महानिरीक्षकलाई सबै अधिकारीहरुले आफ्नो अभिभावक पनि ठान्छन् । तर, पछिल्लो समय अभिभावक र जिम्मेवारी अधिकारीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आइरहेका छन् । सार्वजनिक रुपमा कर्मचारीहरुलाई तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्दा अधिकारीहरु निराश छन् ।

यदी संगठनमा कोही खराब छ भने खराब नै भन्नु पर्‍यो । कसरी हुन्छ सुधार गराउनु पर्‍यो । ७५ हजार सदस्य रहेको फौजी संगठनमा सबै व्यक्ति असल हुन्छन् भन्ने छैन । गलत काम हुन सक्छ भनेरै कारबाही गर्ने व्यवस्था राखिएको हो ।

गल्ती गर्ने अधिकारीलाई कसुरअनुरुप कारबाही गरेर त्यही बताउँदा हुन्छ । तर, कहिले किरा टिपेर फ्याल्ने, कहिले भाइरस हटाउने जस्ता अभिव्यक्ति दिएर सबै अधिकारीलाई एउटै बास्केटमा राखेर हेरिनुलाई चर्चामा आउने हत्कण्डाबाहेक अरु केही मान्न सकिन्न ।

प्रतिक्रियाका लागिः [email protected]

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?