२० मंसिर, काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एशोसिएसनको कार्यसमितिमा ३ जना बैंकर चयन हुने भएका छन् ।
एशोसिएसनको रिक्त ३ सदस्य पदहरुमा ग्लोबल आइएमइ बैंकका जनक शर्मा पौडेल, माछापुछ्रे बैंकका सुमन शर्मा र सिभिल बैंकका गोबिन्दप्रसाद गुरुङ सर्वसम्मतले चयन हुने भएका हुन् ।
बिहीबार साँझ एशोसिएसनको वार्षिक साधारणसभा बस्दैछ । साधारणसभाले ३ जना बैंकरलाई सदस्य पदमा चयन गर्ने एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । शर्माका अनुसार रिक्त ३ सदस्य पदमा ३ जना बाहेक अन्यको उम्मेद्वारी परेको छैन ।
आगामी २६ गतेबाट एशोसिएसनको अर्को एक सदस्य पद समेत खाली हुने देखिएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले ४ वर्षे कार्यकाल पुरा गरेर बैंकबाट बाहिरिने भएसँगै अर्को एक पदसमेत रिक्त हुने भएको हो ।
एशोसिएसनका कुनै सदस्य बैंकबाट बाहिरिए उक्त सदस्यको पद स्वतः खारेज हुने व्यवस्था रहेको छ । यसकारण सिटौला कृषि विकास बैंकबाट बाहिरिएसँगै अर्को एक सदस्य पद समेत खाली हुने भएको हो ।
तर, बिहीबार बस्ने साधारणसभाले भने सिटौलाको ठाउँमा अर्को सदस्य चयन नगर्ने भएको छ ।
प्रतिक्रिया 4