Comments Add Comment

कालिकोट आगलागी घटनामा वडासचिव पक्राउ

२२ पुस, काठमाडौं । कालिकोटको पलाता गाउँपालिका–१, खाँडामा भएको आगलागीमा संलग्न भएको आशंकामा प्रहरीले विवादास्पद छविका वडा सचिवलाई पक्राउ गरेको छ ।

गाउँपालिकाको ६ वटा वडा कार्यालयको जिम्मेवारी सम्हालिरहेका विष्णुकान्त प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि ८ पुसको मध्यराति त्यहाँ आगलागी हुँदा ३२ घर जेलर नष्ट भएको थियो ।

उनलाई शनिबार साँझ पक्राउ गरेर अभद्र व्यवहार अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले पुष्टि गरे ।

‘अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि हिजो नियन्त्रणमा लिएका हौं’, उनले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘कसुर पुष्टि भए थप कारबाही हुन्छ ।’

प्याकुरेल पहिले गाविस सचिव थिए । उनीविरुद्ध प्रहरीमा बारम्बार उजुरी आइरहने गरेको स्रोत बताउँछ । प्रहरी स्रोतका अनुसार मदिरा सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि प्रहरीले यसअघि पनि अनुसन्धान गरिसकेको छ ।

उनी स्थानीय एक खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत थिए । तर, खानेपानीको योजना लामो समय बितिसक्दा समेत पूरा नभएको स्थानीय बताउँछन् ।

जब मदिरा निषेधित गाउँपालिकामा रातभर पार्टी चल्यो…

अनुसन्धान अधिकारीहरुका अनुसार स्थानीय नवीन न्यौपानेको घरमा त्यसदिन राति साढे १२ बजेसम्म पार्टी चलेको थियो । खानेपानी ट्यांकीको उद्घाटन भएको खुशियालीमा वडासचिव प्याकुरेलकै आयोजनामा पार्टी गरिएको थियो ।

पार्टीका मदिरा, खसी, ह्याकुलोलगायत राखिएको उपस्थित व्यक्तिहरुले प्रहरीलाई बयान दिएका छन् । पार्टीकै क्रममा एक जनाले चुरोट सल्काएर फ्याल्दा आगलागी भएको प्रहरीको निश्कर्ष छ ।

पार्टीमा सथानीय वडाध्यक्षदेखि विद्यालयका शिक्षकसम्म सहभागी भएको स्रोत बताउँछ । उनीहरुमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

क्षतिको विवरण अचाक्ली

गाउँपालिकाले बुझाएको क्षतिको विवरण अचाक्ली धेरै आएपछि प्रहरीले त्यसमाथि पनि अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार आगोमा ३२ घर जलेर नष्ट भएको बताइए पनि २३ घर मात्र राहत लिन योग्य भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, ‘एकैठाउँमा जोडिएको टहरोलाई पनि दाजु, भाइ बस्ने भनेर राहत लिन धेरै क्षति देखाइएको भेटियो । त्यसपछि २३ परिवारलाई मात्र राहत दिइएको हो ।’

स्रोतका अनुसार घटनामा सबैभन्दा बढी क्षति आफ्नो भएको वडासचिवले दाबी पेश गरेका छन् । उनले बाँड्न ल्याएको ४ लाख ३ हजार ५ सय रुपैयाँ, कार्यालयको आई सेभन ल्यापटप, मोबाइल, क्यामरालगायत जलेर नष्ट भएको उल्लेख गरेका छन् ।

कार्यालयको १०/१५ वर्षदेखिको कागजात पनि नष्ट भएको उनले बताएका छन् । तर, आफ्ना कतिपय व्यक्तिगत सामग्री उनले पहिल्यै बाहिर निकालिसकेको भेटिएको प्रहरी बताउँछ । त्यसैले उनलाई प्रहरीले मुख्य शंकास्पद व्यक्ति मानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment