Comments Add Comment

बारा पुगेर प्रधानसेनापतिले भने : सकेसम्म चाँडै घर बनाइदिन्छौं

२५ चैत, वीरगञ्ज । प्रधानसेनापति पूर्णचन्द्र थापाले सकेसम्म चाँडै हावाहुरी प्रभावितका लागि घर निर्माण गर्ने बताएका छन् । हावाहुरी प्रभावितको घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिने निर्णय गरेपछि प्रधानसेनापति स्थलगत निरीक्षणका लागि सोमबार बारा आएका छन् ।

बाराको अति प्रभावित क्षेत्र भलुही भरवलिया, पुरैनिया र चैनपुरको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानसेनापति थापाले सरकारले कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्ने वित्तिकै काम शुरु हुने बताए । ‘प्रारम्भिक मुल्याङ्कनको काम सकिएपछि सरकारले कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्छ त्यसपछि हामी काम शुरु गर्छौ ।’

वर्षायाम आउनै लाग्यो घर बनाउन कति समय लगाउनुहुन्छ ? भन्ने प्रश्नमा प्रधानसेनापति थापाले भने ‘जति सक्दो चाँडो बनाउने भन्ने उद्देश्य हो, कुनै पनि घर बनाउनका लागि निश्चित समय आवश्यक हुन्छ । त्यसमा पनि न्युनतम समयमा घर बनाउँछौं ।’
उनले पूनः निर्माणको कार्य सकेसम्म सबैति एकैपटक गर्नेगरी तयारी गरिरहेको समेत बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले प्रारम्भिक मुल्याङ्कन एक दुई दिनमा सकिने बताए । ‘कतिपयको आफ्नो जग्गा पनि नरहेको भन्ने गुनासो आएको छ । अध्ययनका क्रममा बसोबास गरिएको जग्गा ऐलानी, पर्ती, लालपुर्जा भएको कस्तो छ ? त्यही जग्गामा मापदण्ड अनुसारको संरचना बन्छ कि बन्न सक्दैन हामी अध्ययन गर्छौ । त्यसका लागि एक दुईदिन अझै लाग्छ’ उनले भने ।

परवानीपुर गाउँपालिका ४ चैनपुरमा प्रधानसेनापति थापाले अवलोकन गर्दा वडा अध्यक्ष गजेन्द्र पटेलले नेपाली सेनाले उद्दार, राहत र प्रभावितको व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले चैनपुरमा मात्रै ५ सय ४८ घरधुरी प्रभावित भएको र जसमध्ये ३ सय घरधुरीमा पूर्ण रुपमा क्षति भएको बताए ।

‘प्रभावितका लागि सेनाले खेलेको भूमिका प्रशंसनीय छ, छिटो भन्दा छिटो घर पूनः निर्माण हुन्छ भन्ने अपेक्षा छ’ उनले भने ‘तर गाउँमा अझै पनि ४० वटा जति टेन्ट आवश्यक छ । प्रभावित परिवारलाई दिन चामल र दाल पनि पुगिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment