+
+

गाउँ डुल्दै १ रुपैयाँमा कपाल काट्ने रामनारायणको सफलता

दाह्री कपाल काटेरै मासिक ५० हजार कमाइ

टोपराज शर्मा टोपराज शर्मा
२०७६ वैशाख १४ गते १२:२६

१४ वैशाख, बुटवल । सानोतिनो लगानीले स्वदेशमा के पो गर्न सकिन्छ र भन्ने धेरैको धारणा हुन्छ । यही धारणा बनाएर सयौं युवा दिनहुँ रोजगारीको खोजीमा नेपाल छाडेर विदेश उड्छन् । तर, लगनशील भएर काम गर्ने हो भने सानो लगानीले पनि स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् रुपन्देहीको सैनामैनाका रामनारायण ठाकुर ।

सैनामैना नगरपालिका मुर्गियाकै पहिलो नाइका रुपमा व्यवसायिकरुपमा सैलुन खोलेका उनी ४० वर्षदेखि निरन्तर यही पेशामा क्रियाशील छन् । उनको कमाई अहिले मासिक ५० हजारको हाराहारीमा छ ।

पुर्ख्यौली पेशा

पुख्र्यौली पेशा नै अरुको कपाल काटेर जिविकोपार्जन गर्ने थियो रामनारायणको । ५ दाजुभाइ मध्ये जेठो छोरो भएकाले उनीमाथि पारिवारिक जिम्मेवारी बढी थियो । सानो उमेरदेखि नै बुबासँग गाउँ गाउँ डुलेर कपाल काट्ने काम गर्थे रामनारायण । त्यतिबेला अहिले जस्तो चोकचोकमा सैलुनहरु खुलेका थिएनन् । गाउँलेहरु निश्चित ठाउँमा जम्मा हुन्थे र नाइ त्यही पुगेर कपाल काट्नुपथ्र्यो । रामनारायणले पनि यस्तै बालिघरे प्रथामा कपाल काटेर वर्षको २ पाथी धान आम्दानी गर्थे ।

यो आम्दानी वर्षको ४ पाथी हुँदै ६ पाथीसम्म पुगेको रामनारायण सम्झन्छन् । घरमा सगोलको परिवारका सबै सदस्य जोड्दा २८ जनाको परिवार थियो उनको । बालीघरे प्रथाबाट आउने धानले सिंंगो परिवारलाई खान पुग्न छाड्यो । अलि बढी कसरी कमाउन सकिन्छ भनेर सोच्दै जाँदा मुर्गिया बजारमा सैलुन पसल खोल्ने निधो गरे ।

०२५ सालमा सैनामैनाको साविक वडा नंं ५ (हाल २) उचिडिहवामा जन्मेका रामनारयणले ०३८ सालमा मुर्गियामा एउटा छाप्रोमा शुरु गरेको सैलुन नै मुर्गिया (सैनामैना) को पहिलो सैलुन भएको रामनारायण सम्झन्छन् ।

‘त्यतिबेला एकजनाको कपाल काटेको एक रुपैयाँ दर थियो’–रामनारायणले भने, ‘अहिले त बढेर एक सय रुपैयाँ पुगेको छ, हिसाब जोड्दा महिनामा ५० हजारको हाराहारीमा कमाई हुन्छ ।’

तीन वर्ष अघिसम्म ५ दाजुभाइको सगोलको परिवार थियो । छुट्टिने बेलामा आफूले गर्दै आएको सैलुन भाइलाई दिए र आफूले मुर्गियामै नयाँ सैलुन खोले । उनको सैलुन वातानुकुलित छ । जहाँ कपाल काट्ने ग्राहकको दिनभरि नै भीड लाग्छ । दिनमा सरदर ४० जनाको कपाल काट्छन् उनले । सैलुनमा २ जनालाई रोजगारी पनि दिएका छन् ।

काम गर्नेले कपाल काटेको शुल्कको आधा हिस्सा पाउँछन् । आधा रामनारायणले पाउँछन् । आफूले २ कक्षासम्म मात्र पढेका उनले एउटा छोरालाई प्लस टुसम्म पढाए । एउटालाई एसलसीसम्म । जेठो छोरा कतारमा छन् भने कान्छो सशस्त्र प्रहरीमा जागिरे छन् ।

रामनारयणले दुई छोरीमध्ये जेठीलाई एसएलसीसम्म र कान्छीलाई ६ कक्षासम्म पढाएर दुबैको बिहे दान गरिदिए ।

पहिले विभेद, अहिले सम्मानित नजर

‘हुन त कपाल काट्नुलाई अझै पनि सानो काम मान्ने पनि छन् तर कुनै पनि काम सानो ठूलो भन्ने हुंदैन’–नाइ संघको जिल्ला समितिका पूर्व जिल्ला सदस्यसमेत रहेका रामनारायणले भने– ‘सैलुन व्यवसाय वास्तवमा सानो लगानीबाट राम्रो आम्दानी लिन सकिने व्यवसाय हो,तर यसमा निरन्तर सेवा दिन सक्नुपर्छ ।’

केही वर्षअघिसम्म कपाल काटेको पैसा नदिने, मधेसी भनेर हेप्ने, दुव्र्यवहार गर्नेहरु पनि थुप्रै थिए । तर, अहिले त्यस्तो छैन, सबैले सम्मानजनक व्यवहार गर्छन्, कपाल काटेर पैसा दिन कोही किचकिच गर्दैनन् ।

यतिबेला रामनारायणको कामप्रतिको लगाव र मनग्गे आम्दानीबाट गरेको प्रगति देखेर सबैले उनकोे प्रशंसा गर्न थालेका छन् । सैलुन व्यवसायको आम्दानीले उनले २८ जनाको ठूलो परिवार पाले, आफ्नो २ छोरा र २ छोरीलाई पढाए, बिहे गरिदिए र दुई तले पक्की घर पनि बनाए ।

यो सबै आम्दानीको पछाडि उनको धेरै संघर्ष, निरन्तरको मेहनत र लगनशीलता लुकेको छ ।

विगतमा भारतीय र मधेसी मूलका व्यक्तिमात्रै रहेको यो पेशामा पछिल्लो समय छिटफुटरुपमा पहाडे समुदायका युवा पनि आकर्षित हुन थालेको रामनारायणले बताए । उनको सुझाव छ– ‘३०÷३५ हजारको कमाइका लागि परिवार छाडेर खाडीमा जानु भन्दा स्वदेशमै सैलुन वा अरु व्यवसाय गरेर मेहनत त्यहाँ भन्दा बढी कमाउन सकिन्छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?