Comments Add Comment

सुत्केरी गराउन हेलिकप्टर चार्टर

७ जेठ, रामेछाप । रामेछापको गुम्देलका महिलाहरु सुत्केरी हुन एकदेखि डेढ लाख रुपैयाँ खर्च गरेर हेलिकप्टर नै चढ्नुपर्ने बाध्यता छ । उमाकुण्ड गाउँपालिकाको गुम्देलमा प्रसुती सेवा सञ्चालन नहुँदा गर्भवती महिलाहरु बच्चा जन्माउनको लागि हेलिकप्टर चढेर काठमाडौँ जानुपर्ने वाध्यता रहेको छ ।

वडामा रहेको एकमात्र स्वास्थ्य चौकीमा प्रसुती सेवा नहुँदा घरमा सामान्य रुपमा सुत्केरी हुन नसक्ने महिलालाई हेलिकप्टरबाट काठमाडौँ लैजानुपर्ने वाध्यता रहेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उमीला बस्नेत कार्कीले बताइन् ।

उमाकुण्ड गाउँपालिकाको वडा नं–१ गुम्देल रामेछाप जिल्लाकै सबैभन्दा दुर्गम स्थान हो । हिमालसंग जोडिएको सो वडामा हिउँद महिनामा साना गाडीहरु पुगेपनि वर्षायाममा कुनै पनि यातायातका साधनहरु चल्दैनन् ।

वडा अध्यक्ष नुर्वु शेर्पाका अनुसार वर्षायाममा गाडी चल्ने ठाउँसम्म पुग्न गुम्देलका मानिसहरुले एक दिन एक बिहान हिँड्नु पर्छ । हिउँदमा पनि सदरमुकाम मन्थलीबाट गुम्देल पुग्न कच्चिबाटोमा एक दिनभरिको यात्रा गर्नुपर्छ ।

यसवर्ष मात्र सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसके पछि गुम्देलका ३ जना गर्भवती महिलालाई हेलिकप्टरबाट काठमाडौँ लगिएको गाउँपालिका उपाध्यक्ष कार्कीले बताइन् । ‘एउटा हेलिकप्टर चार्टर गर्दा एकदेखि डेढलाख रुपैयाँ खर्च हुन्छ । सक्नेले त हेलिकप्टर चार्टर गर्छ, नसक्नेको अकालमा नै ज्यान जान्छ’, उनले भनिन् ।

यही समस्या समाधानको लागि गाउँपालिका लागि रहेको उनले बताइन् । विभिन्न संस्थाहरुसँगको सहकार्यमा प्रसुती सेवा कक्ष निर्माणको काम भई रहेको उनले बताइन् । अब केही महिनामा सेवा सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment