Comments Add Comment

मन्त्री कामरेडको सामन्ती रवाफ !

अनामनगरतिर जाँदै गर्दा एउटा अपरिचित नम्बरबाट आएको फोन उठाएँ । फोनमा सुनिने स्वर केही गम्भीर थियो । स्वरले सोध्यो- तपाई फलानो होे ? मैले भनें- हजुर, म नै हो ।

फोनमा बोल्ने व्यक्तिले फोन सम्वाद शुरु गर्दा सबभन्दा पहिले आफ्नो परिचयबाट शुरु गर्नुपर्छ भन्ने सामान्य शिष्टाचार पनि ननिभाइकन उनले दोस्रो प्रश्न दागे – तपाई कता ? मैले भनेँ– म काठमाडौंमा ।

फेरि तेस्रो प्रश्न- ए तपाई काठमाडाैँ बस्ने ? जिल्लातिर नजाने अनि जिल्लाको नेतृत्वमा दाबी गर्ने ?

स्वरले यसो भनिरहँदा त्यसमा दर्बिलो रवाफ थियो । स्वरमा पञ्चायतकालीन हाकिमहरुको अक्खडपन थियो । मानौं मेरो जिल्ला नजानु र जिल्लाको इञ्जार्चमा दाबी गर्नु ठूलै अपराध थियो ।

मैले उत्तर दिएँ- म केही दिन पहिले जिल्लातिरै थिएँ । तर, मैले जिल्लाको इञ्जार्जमा कुनै दाबी गरेको छैन ।

हामीले मात्र ब्राण्डका रुपमा समाजवाद वा जनवाद भनेका छौं । किनकि, त्यो ब्राण्ड नेपाली जनतामा लोकप्रिय छ

फोनमा आउने स्वरका दुई तीन वाक्य सुनेपछि मैले फोन गर्ने व्यक्तिलाई चिनें । उनी मन्त्री रहेछन् ।

मैले भनें- हजुर फलानो सर हो ? त्यसको कुनै उत्तर आएन । मानाैँ सोध्नेले उनीजस्तो हैसियतको मन्त्रीलाई पनि नचिनेर ठीक गरेन । या पुष्ट्याइँका लागि सोध्नु पनि गल्ती थियो ।

शायद मलाई फोन गर्ने मन्त्रीलाई लागेको होला, मजस्तो मन्त्रीलाई पनि नचिन्ने !

मलाई राम्रो गरी अनुभूति भयो कि फोन गर्ने कमरेड मन्त्रीलाई आफ्नो पदको नशा देसी ठर्राको नशा छिटै चढेजस्तै एक-डेड वर्षमै चढिसकेको रहेछ ।

त्यसपछि मैले गुड मर्निङ भनेँ । उताबाट गुड मर्निङको उत्तर आएन । मैले फेरि भनेँ  गुड मार्निङ सर भन्दैछु । मेरो अपेक्षा थियो कि उनले गुड मर्निङ भन्दै जवाफ फर्काउनेछन् । त्यसको पनि जवाफ आएन । उनले भने, तपाई त पार्टीको अन्तर्राष्ट्रिय क्षेत्रको पनि जिम्मामा हुनुहुन्छ ।

मैले भनें, हुन त मलाई अन्तर्राष्ट्रिय ब्युरोको संयोजक भनेर भनेका थिए । तर, म व्यवहारिकरुपमा त्यो जिम्मामा छैन । मेरो इन्चार्जले मेरो फोन पनि उठाउनुहुन्न । त्यसैले म अन्तर्राष्ट्रिय ब्युरोमा भए/नभएको कुनै अर्थ छैन । मैले यो पनि भनें कि मेरो फोन कसैले नउठाएपछि फेरि दोहोर्‍याएर तेहर्‍याएर गर्ने बानी छैन ।
उताबाट आउने स्वरले मलाई प्रशिक्षण दिने शैलीमा सम्झाउन थाल्यो- हैन लक्ष्मणजी, आजकल त कसैले फोन कहाँ उठाउँछ र कसैले कसैको फोन पनि उठाउँदैनन् । फोन पनि गर्दैनन् । आफैंले गर्नुपर्ने हुन्छ । आफैंले पहल लिनुपर्ने हुन्छ ।

उनले मेरो सहज ज्ञान-भण्डारलाई बढाउन खोज्दै थिए ।

लक्ष्मण पन्त

यतिका वार्तालाप हुदै गर्दा मैले बुझ्ने प्रयास गर्दै थिएँ कि के कारणले आज मन्त्रीको ओहोदामा पुगेका कमरेडले मलाई फोन गर्ने कष्ट गरे होलान् ? आफैंले आफैंलाई गरेको प्रश्नको उत्तर पाउन धेरै सेकेण्ड कुर्नु परेन । मन्त्री कमरेड सोझै विषयवस्तुमा प्रवेश गरेे-

अस्ट्रेलियाको फलानो साथीलाई त्यहाँको संगठनको अध्यक्ष बनाउनुपर्छ । त्यहाँ साथीहरुले गडबड गरिरहेका छन् भन्ने थाहा पाएको छु मैले । उनलाई त्यहाँ पाखा लगाउने कोसिस गरिएको रहेछ । तपाईले यो विषयलाई तत्काल हेर्नुपर्‍यो । तपाईले आफ्नो इञ्चार्ज वा जसलाई भेटेर हुन्छ वा के गरेर हुन्छ, यसलाई समाधान गर्नुपर्छ । उनलाई जसरी पनि अध्यक्ष बनाउनुपर्छ तपाईले ।

यो एकजना मन्त्रीले आफू मातहतका कारिन्दाहरुलाई दिएको जस्तो ठाडो आदेश थियो ।

मलाई मन्त्री कमरेडको यो तरिका अत्यन्त असभ्य र अपमानजनक लाग्यो । तर, म यात्रा गरिरहेको गाडीमा अरु पनि भएकाले मैले मन्त्रीलाई ठाउँका ठाउँ जवाफ फर्काउन उपयुक्त ठानिनँ । मैले तत्काल तल दिइएको व्यहोराको एसएमएस पठाएर आफ्नो आपत्ति दर्ज गरेँ ।

‘गुड मर्निङभन्दा गुड मर्निङ भनेर प्रत्युत्तर दिन पनि सकस मान्ने यो पारा ठीक भएन साहेब ! पुलिस पारा भयो ! म पुलिसको जागिरमा छैन साहेब ।’

माथि उल्लेखित पंक्तिहरु कसैलाई अनावश्यक आक्रोश र कुण्ठाको अभिव्यक्ति लाग्न सक्छ । किन अनावश्यक रुपमा तिलको पहाड बनाएको होला भन्ने पनि केहीलाई लाग्न सक्छ । तर, नितान्त निजीजस्तो लाग्ने उक्त विवरण पस्किनुको अर्थ यो हो कि ठूलो बलिदानपश्चात् गणतान्त्रिक युगमा प्रवेश गरेको हाम्रो समाजमा नजानिँदो तरिकाले एउटा यस्तो वर्ग तयार हुँदैछ, जो हाम्रैबीचबाट जन्मेको हो ।

जसले सर्वहारा श्रमजीवि जनसमुदाय र शोषित उत्पीडित वर्गको मुक्तिलाई आफ्नो घोषित लक्ष्य बनाएको छ । जसले समाजवादलाई आफ्नो गन्तव्य बनाएको छ । अथवा जसले लोकतन्त्र र समाजवादलाई आफ्नो अभिष्ट ठान्दछ । त्यो वर्ग क्रमशः शासित वर्गबाट आफैं शासक वर्गमा कसरी रुपान्तरण हुँदैछ भन्ने कुरा माथिको दृष्टान्तबाट स्पष्ट हुन्छ ।

विभिन्न तरिकाबाट राज्यका पदहरुमा पुग्न सफल बनेका कमरेडहरुको पार्टीको समान तहको समितिमा भएका कमरेडहरुसितको व्यवहार त यस्तो छ भने तल्लो समितिमा भएका कमरेडहरुसित र अझै सर्वसाधारण जनतासित उनीहरुको सम्बन्ध कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

अनि, राज्यका पदमा पुग्न सफल कमरेडहरुको रवैया, आचरण यस्तै रह्यो भने अर्को निर्वाचनमा के होला ? उच्च शासकीय ओहोदावालहरुको धाक, संस्कार संस्कृति, प्रवृत्ति यही नै हुने हो भने अरु ‘बुर्जुवा’ पार्टीभन्दा हाम्रो नेकपाको विचार, नीति, संस्कृति उच्च छ वा उच्च हुनुपर्छ भनेर हामीले भन्ने गरेको कुराको के पो नै अर्थ रहन्छ ?

अरुलाई बुर्जुवा वा कांग्रेस वा राजावादी भनेर नथाक्ने हाम्रो संस्कार बनेको छ । आफूलाई सर्वहारा वर्ग, श्रमजीवि वर्गको मसिहा भन्ने हाम्रो संस्कृति बनेको छ । विचारमा जनवाद वा जनताको बहुदलीय जनवाद वा समाजवाद जे भने पनि न त हामी समाजवादी विचारबाट निर्देशित छौं, न त हाम्रा नीति, योजना र कार्यक्रम नै समाजवाद वा जनवाद उन्मुख छन् । न त हाम्रो संस्कार, संस्कृति र आचरण नै कम्युनिस्ट छ । हामीले मात्र ब्राण्डका रुपमा समाजवाद वा जनवाद भनेका छौं । किनकि, त्यो ब्राण्ड नेपाली जनतामा लोकप्रिय छ ।

भारतमा धर्मको नाममा भोट आउँछ, त्यसैले मोदीले चुनाव जित्न सफल भएका छन् । नेपालमा कम्युनिस्टको नाममा भोट आउँछ । त्यसैले ओली र नेकपाले चुनाव जित्न सफल भएको हो ।

माथिको संवादमार्फत प्रस्तुत गर्न खोजिएको दृष्टान्त अपवाद होइन, नियम हो । यहाँ यो विषय उठान गर्नुको अर्थ कुनै पात्रविशेषप्रतिको द्वेषका कारण नभएर एउटा जब्बर प्रवृत्तिलाई उजागर गर्न खोजिएको मात्र हो ।

यस्तो प्रवृत्ति सत्ताधारी नेकपामा मात्र होइन, कांग्रेस र अन्य दलहरुमा पनि मात्रामा घटबढ भए पनि उस्तै-उस्तै रुपमा विद्यमान छ । जनताका आवश्यकता परिपूर्ति गर्न पनि असफल रहने, मन्त्रीहरुले रवाफ र हैकम देखाउन पनि नछाड्ने हो भने नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को यात्रा आउने संसदीय निर्वाचनमा पुगेर टुंगिनेछ । यही चाल रहने हो भने ढिलो चाँडो पार्टीले हालैको निर्वाचनमा भारतीय कम्युनिस्टहरुकै जस्तो हरिबिजोग बेहोर्नु पर्नेमा दुईमत हुन सक्तैन ।

कांग्रेस पार्टीको हकमा वा अन्य कुनै पनि दलहरुको हकमा पनि यही कुरा लागु हुन्छ । प्रजातन्त्र र समाजवादको रटान नछाड्ने तर व्यवहारमा त्यस्तै सामन्ती चरित्र व्यवहार र आचरणमा प्रस्तुत हुने । जनताले न त समाजवादको, न त प्रजातन्त्रको नै अनुभूत गर्न पाउने । यही स्थिति रहने हो भने भारतमा कांग्रेस पार्टी बढारिएजस्तै नेपाली कांग्रेसको यात्रा पनि छिटै अन्त्य नहोला भनेर भन्न सकिन्न ।

(पन्त नेकपाका नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment