Comments Add Comment

यसरी बनाउन सकिन्छ निजगढ विमानस्थल

आयोजना प्रमुखको वैकल्पिक प्रस्ताव

३१ जेठ, वीरगञ्ज । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल शुरु गर्न सरकारलाई मुश्किल परिरहेको छ । एकातर्फ रुख कटानको विवाद छ भने अर्कोतर्फ लगानी जुटाउने अलमल ।

यो अवस्थामा स्वयम् विमानस्थल आयोजना प्रमुख ओम शर्माले निर्माण मोडालिटी, स्रोत व्यवस्थापन र वातावरणीय मुद्दा व्यवस्थापनका विकल्प सार्वजनिक गरेका छन् । यो विकल्पमा गए आगामी पाँच वर्षभित्रै विमानस्थ सञ्चालन गर्न सकिने उनको दाबी छ ।

शर्माका अनुसार पहिलो पाँच वर्षमा एउटा धावनमार्ग र टर्मिनल भवन लगायतका संरचना बनाएर विमानस्थल चलाउन सकिन्छ ।
कुल एक खर्ब १० अर्ब रुपैयाँ लगानीबाट पहिलो चरणको काम सकिने उनको हिसाब छ । यसको लागि वार्षिक ३० अर्ब स्रोत व्यवस्थापन गर्दा पुग्ने उनले बताएका छन् ।

आयोजना प्रमुख शर्माका अनुसार, दोस्रो चरणको काम कूल तीन खर्ब ७० अर्ब लगानी गरेर १२ वर्षमा पुरा गर्न सकिन्छ । त्यसअवधिमा दोस्रो धावनमार्ग र टर्मिनल लगायतका संरचनाहरु निर्माण हुन्छ ।

तेस्रो चरणको काम एक खर्ब २० अर्ब आन्तरिक लगानी जुटाएर सम्पन्न गर्न सकिने हिसाब शर्माले निकालेका छन् । यो चरणमा तेस्रो धावनमार्ग, टर्मीनल भवन लगायत बाँकि संरचनाहरु बन्ने उनले तयार पारेको विमानस्थल निर्माणको वैकल्पिक ढाँचामा उल्लेख छ ।

फास्ट ट्र्याकसँग जोडौं

विमानस्थल निर्माण गर्दा निजगढ काठमाडौं द्रुत मार्ग सामुन्ने पर्नेगरि प्रवेशद्वार निर्माण गर्ने शर्माको प्रस्ताव छ ।

तीनवटा धावनमार्ग रहने प्रस्तावित विमानस्थलमा चार टर्मिनल भवन हुने छ । चौथो टर्मिनलबाट आन्तरिक उडान व्यवस्थापन हुनेछ । वार्षिक ३० अर्ब रुपैयाँ छुट्याएर तीनवटै चरणको काम सकिने विमानस्थल आयोजना प्रमुख शर्माको परिकल्पना छ ।

वन सखाप पार्न पर्दैन

इन्जिनियर तथा आयोजना प्रमुख शर्माले तयार पारेको वैकल्पिक ढाँचा अनुसार तेस्रो चरणको काम सम्पन्न भइसक्दा विमानस्थलको आधा हिस्सामा वन कायम रहन्छ ।

प्रस्तावित विमानस्थलको कुल क्षेत्रफल आठहजार हेक्टर हो । अर्थात्, निजगढ विमानस्थल संचालनमा आइसक्दा पनि चार हजार हेक्टर वन क्षेत्र कायम रहन्छ ।

शर्माले विमानस्थल बनाउँदा ७० प्रतिशत सालका रुख काट्नु नपर्ने उल्लेख गरेका छन् । उनका अनुसार, विमानस्थलको पुरै काम सकिदा कूल तीन लाख ३४ हजार रुख काट्नु पर्ने र त्यसमध्ये करिब ५९ हजार ५०० वटा साल पर्नेछ । विमानस्थलको लागि छुटाइएको क्षेत्रमा करीव २५ लाख रुख रहेको वातावरणीय प्रभाव अध्ययनले देखाएको थियो ।

यसअघि २४ रुख काट्ने प्रकृया सुरु भएपछि विमानस्थल आयोजना नै बिबादमा परेको थियो ।

आयोजना प्रमुख शर्माका अनुसार पाँच वर्षको पहिलो निर्माण चरणमा १० हजार रुख काट्दा पुग्छ । टाँगिया बस्ती स्थानान्तरण र १० हजार रुख काटेर एउटा धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन, जहाज पार्किङ, प्रवेश मार्ग, गाडी पार्किङ, एउटा कार्गो भवन, फायर स्टेशन, फ्यूलमार्ग, राडार लगायतका संरचना बन्नेछन् ।

टाँगिया बस्तीमा १४७६ परिवारलाई विमानस्थलको दक्षिण–पश्चिम भेगमा रहेको ऐलानी जग्गामा स्थानान्तरण गर्न सकिने विकल्प शर्माले दिएका छन् ।

निजगढ विमानस्थल पूर्ण क्षमतामा संचालन हुँदा दैनिक १५ सय उडान र अवतरणबाट दुईलाख यात्रुको आउजाउ हुने प्रक्षेपण गरिएको छ ।

शर्माले यो आयोजना निर्माण र संचालन गर्न बोर्ड गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विकास बोर्डलाई निर्माण सकिएपछि ‘निजगढ एयरपोर्ट कर्पोरेशन’मा रुपान्तरण गर्नुपर्ने उनको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment