+
+

उपेन्द्रले भने-संसदको साख गिर्‍यो, बाबुरामले भने-संघर्ष गरौं

श्रवण देव श्रवण देव
२०७६ साउन ८ गते १८:०३

८ साउन, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले एकै मञ्चबाट स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन संविधान विपरीत भएको बताएका छन् ।

तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच भएको एकतापछि प्रदेश २ को नेता/कार्यकर्ता समायोजन गर्न बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा दुबै अध्यक्षले लोकसेवा आयोगले निकालेको विज्ञापनको चर्चा गरे ।

एक अध्यक्षले संसद अन्तर्गतको राज्य व्यवस्था समितिको निर्देशनलाई समेत आयोगले अटेर गरेको बताए भने अर्काे अध्यक्षले त्यसबिरुद्व आन्दोलन गर्नुपर्ने धारणा राखे ।

पार्टीका केन्द्रीय समितिका अध्यक्ष यादवले लोकसेवा आयोगले संविधान र प्रचलित कानून विपरित विज्ञापन निकालेको बताए । विज्ञापन स्थगित गर्न र समावेशी बनाउन राज्य व्यवस्था समितिले दिएको निर्देशन समेत पालना नभएको उनले बताए ।

‘आयोगले संसदीय सर्वाेच्चतालाई पनि अटेर गरेको अवस्था छ’ उप-प्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने, ‘संसदको निर्देशन अवज्ञा गरी आयोगले काम अगाडि बढाएको नेपालमा यो पहिलो उदाहरण हो ।’

भट्टराईले भने-बलजफ्ती भयो, संघर्ष गरौं

पार्टीको संघीय परिषद् अध्यक्ष भट्टराईले लोकसेवा आयोगले बलजफ्ती विज्ञापन निकालेको बताए । आयोगले बढाएको प्रकृया रोक्न संघर्ष गर्नुपर्ने भन्दै उनले भने, ‘हामी संघ र प्रदेश २ को सरकारमा पनि छौं, तैपनि बलजफ्तीकाबिरुद्व संघर्ष गर्नु जरुरी छ ।’

भारतको पश्चिम बंगाल सरकारका सहभागी भएका दलले पनि मजदूरका लागि आन्दोलन गरेको स्मरण गराउँदै भट्टराईले तोड्फोड र राज्यलाई क्षति नहुने गरी शान्तिपूर्ण प्रदर्शन गर्नुपर्ने बताए ।

भ्रष्टाचारी होइनौं भने व्यबहारमा देखाऔं

अहिले संघीय सरकार र प्रदेश सरकारहरु पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेका समाचार बारम्बार आएको भन्दै संघीय परिषद् अध्यक्ष डा. भट्टराईले चिन्ता व्यक्त गरे । उनले आफ्नो पार्टी संघ र प्रदेश दुबैमा रहेकाले केहि नयाँ गरेर देखाउनुपर्ने बताए ।

उनले हामी भ्रष्टाचारी होइनौं भन्ने कुरा व्यवहारमा देखाउनु आवश्यक रहेको बताए । ‘हामीलाई कांग्रेस, कम्युनिस्टभन्दा पृथक बन्नुपर्छ’ उनले भने, ‘उनीहरुभन्दा पृथक बन्नकै लागि हामीले यो पार्टी बनाएका छौं ।’

जतिसुकै आदर्शका कुरा गरे पनि आचरण राम्रो नबनेसम्म जनताले नपत्याउने भन्दै उनले आचरणलाई लोकतान्त्रिक, वैज्ञानिक, समानता अनुसार बनाउनुपर्नेमा जोड दिए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?