Comments Add Comment

चेलीबेटी बेच्नेलाई सुनपानी, बेचिनेलाई नुनचूक !

नब्बेको दशकसम्म हिन्दी सिनेमाका कथामा खलनायकलाई अदालतले कसरी निर्दोष सावित गरिदिन्थ्यो ? दिल्ली र मुम्बईमा कोठी चलाएर गाउँबाट नेपाली चेली सप्लाई गर्ने सुनबहादुर र उनीकी पत्नी सायद ती सिनेमाबाट पनि प्रभावित थिए कि ?

जतिबेला सुनबहादुर गाउँबाट चेलीबेटी संकलन गर्दै श्रीमतीले चलाउने कोठीमा सप्लाइ गर्थे, त्योबेला बलिउडमा यस्तै सिनेमा हिट थिए-गाउँमा सैयौं हत्या, बलात्कार र अत्याचार गरेको व्यक्तिलाई पुलिसको भूमिकामा रहेको हिरोले अदालतमा उपस्थित गराउँछ ।

तर, इजलासमा पुगेपछि प्रहरीले भनेको अत्याचारी व्यक्ति आफू नभएको र आफ्नो नाममात्र मिलेको वा वारदातको समयमा आफू नभएको नक्कली प्रमाण पेश गर्छ । कतिपय अवस्थामा नक्कली पीडकसमेत खडा गरिन्छ र पीडितलाई धम्क्याएर बयान फेर्न वा बकपत्र दिन अदालत आउनबाट रोकिन्छ ।

न्यायाधीशले अन्तिममा फैसला सुनाउँछन्- फलानोजस्तो ‘नेक इन्सान’लाई नाम मिलेकै आधारमा दुःख दिने प्रहरीको नियत ठीक देखिएन । आइन्दा उसलाई दुःख नदिन प्रहरीलाई सचेत गराइन्छ र फलानोलाई इज्जतका साथ रिहा गर्न आदेश दिइन्छ ।

मात्रिका पाैडेल

त्योबेलाका अक्सर हिन्दी सिनेमाभित्र देख्न पाइने यी दृश्य सुनबहादुर तामाङको जीवनमा मेल खान जानु संयोगमात्र भने होइन । अदालत र सुनवहादुरबीचको बिगत २५ वर्षदेखिको लुकामारी र पछिल्लो दुईवटा फैसलाको ब्यहोरा पढ्दा हिन्दी सिनेमाको प्लट जस्तै लाग्छन् ।

दुईसयभन्दा बढी चेलिबेटी बेबिखन गरेको अभियोगमा २५ वर्षदेखि ‘फरार’ रहदै आएका तामाङ गत वर्ष पक्राउ पर्नु र न्यायाधीशका अनुसार सुनबहादुरका फैसला फरक-फरक ढंगले आउनुले सिनेमाको झल्को दिन्छ ।

सुनबहादुरको दुई पुस्ते चेलीबेटी बेचबिखनको कथा र अदालतका थरिथरिका फैसलाहरु केलाउँदै यो सामाग्री लेखिरहँदा त्यसताका हिन्दी सिनेमाको सम्झना आउँछ । अनि सुनबहादुरबाट बेचिएर फर्किई बेचबिखनविरुद्ध अभियान चलाइरहेका चरिमाया तामाङ र सुनिता दनुवारहरुको पनि सम्झना आउँछ ।

सुनबहादुरको सफलताले चरीमायाहरुको संघर्षलाई गिज्याइरहेको छ ।

खोली नम्बर ६४ र सुनबहादुरको साइनो

सुनबहादुरबाट बेचिएका चेलीहरु अहिले पनि कोही बिभिन्न संस्थाको आश्रयमा बसिरहेका छन् भने कोही गाउँमा पुनस्र्थापित भएका छन् । सयौं चेलीहरु अहिले दिल्ली र मुम्बईका वेश्यालयमा रहेको त्यहाँबाट ५ वर्षअघि उद्दार गरेर दिल्लीस्थित केआई नेपाल संस्थाबाट नेपाल आएकी फूलकुमारी तामाङ -नाम परिवर्तन)ले मिडिया र प्रहरीको बयानमा समेत बताएकी छन् ।

यसबाट थाहा हुन्छ कि सुनवहादुरको यो धन्दा नयाँ होइन । ०५१ सालमै सुनबहादुर नुवाकोटमा चेलिबेटी बेचबिखनको धन्दाबाट राम्रो आयआर्जन गर्नेमा गनिइसकेका थिए । ०४९ सालको स्थानीय चुनावमा साविक घ्याङफेदी गाविसको वडाध्यक्ष जितेपछि उनको धन्दा अझ फस्टायो ।

उनकी जेठी पत्नी राधाले दिल्लीमा कोठी सञ्चालन गर्थिन् । पतिले गाउँबाट किशोरी र युवतीहरु संकलन गरेर दिल्ली पठाउने अनि पत्नीले कोठीमा यौनदासी बनाउने । पछिल्लो कालखण्डमा त छोरा गुनबहादुर पनि यही पेशामा लागे । वडाध्यक्ष भइरहेकै बेला ०५१ मा उनीबाट पीडित केही युवती नेपाल फर्किएपछि उनको अपराध सार्वजनिक भयो ।

०५१ सालमै नुवाकोट जिल्ला अदालतले सुनवहादुरलाई चेलिबेटी बेचबिखनको आरोपमा ६ वर्ष जेल सजायँ तोक्यो । तर, उनी सजायँ भुक्तान नगरी कानुनको नजरमा फरार भए । फरार अवस्थामै उनको धन्दा फस्टाइरहेको थियो । ०५४ सालको स्थानीय चुनावमा उनी घ्याङफेदी गाविसको उपाध्यक्षको उम्मेदवार बने ।

यसबीचमा सुनबहादुर फरार नै रहे । दिल्लीको जिबी रोडस्थित खोली नम्बर ६४ मा राधाको कोठी चलिरहेकै थियो । यसबीचमा २०७१ सालतिर सोही कोठीबाट केही नेपाली महिलाको उद्दार भयो । तीमध्येकी एक बाँकेकी किशोरीले राधाको कोठी र सुनवहादुरको कनेक्सन खुलासा गरेपछि प्रहरीले २४ वर्षअघि नै सुनबहादुरलाई चेलिबेटी बेचबिखनमा सजायँ तोकिएको व्यक्ति भन्ने थाहा पायो ।

अनुसन्धान सोझिएका सुनबहादुर त्यसको एक वर्षअघि अर्थात ०७४ जेठमा साबिक घ्याङफेदी गाविस अर्थात हाल दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष निर्वाचित भइसकेका रहेछन् । उनी यसबीचमा कांग्रेसको प्रभावशाली नेता भइसकेका थिए । उनलाई सीआइबीको टोलीले सोही वर्ष पुसमा वडा कार्यालयबाटै पक्राउ गरेर काठमाडौं ल्यायो ।

सुनबहादुर र उनकी पत्नीविरुद्ध मानव बेचबिखनको मुद्दा दायर भयो । प्रहरीले उनको परिवार नै मानव बेचबिखनमा रहेको पत्ता लगायो । तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेले सुनवहादुरलाई गत माघमा धरौटीमा रिहा गर्ने आदेश दिए ।

पछिल्लो मुद्दामा उनी धरौटीमा छुटे पनि प्रहरीले नुवाकोट जिल्ला अदालतको पुरानो फैसला कार्यन्वयन गर्न उनलाई पुनः पक्राउ गरेर केन्द्रीय कारागार पठायो । पुरानो फैसलाअनुसार उनी ६ वर्ष जेलमा बस्नुपर्ने थियो । यसबीचमा उनको पहुँचको प्रयोग भयो । सुनबहादुरले आफू अदालतले सजायँ तोकेको सुनबहादुर तामाङ नभएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे ।

जब जाहेरवाला नै गायब पारिए

अदालतले फैसला गरेको सुनबहादुर घ्याङफेदी वडा नम्बर ६ को भएको र आफ्नो नागरिकता वडा नम्बर ४ को रहेको भनी उनले पेश गरे । यसबीचमा उनी सोही सुनबहादुर हुन् कि होइनन् भनेर सपना प्रधान मल्ल र शारदाप्रसाद घिमिरेको इजलासलले जाहेरवाला दुई महिलालाई सनाखतका लागि झिकाउने आदेश दियो ।

०७४ फागुन १५ गतेको सो आदेशपछि जाहेरवाला महिला खोज्दा गाउँमा भेटिएनन् । उनीहरु फिल्मी शैलीमा हराए । गाउँमा जाँदा काठमाडौं गएको भनियो तर, ती मध्येकी एकले सुनबहादुर छुटेपछि प्रहरीको सम्पर्कमा आएर आफूहरुलाई अपहरण गरेर राखिएको र अदालतबाट उनी छुटेपछि मात्रै छाडिएको बताएकी थिइन् ।

करीव दुई महिनासम्म पनि जाहेरवाला महिला फेला नपरेपछि ०७५ बैशाख ६ गते तत्कालीन न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले प्रहरीले पक्राउ गरेका सुनबहादुर फरक परेको भन्दै रिहा गर्न आदेश दियो ।

प्रहरीले चेलीबेटी बेचबिखनमा संलग्न सुनबहादुर उनै हुन् भनेर प्रमाण र अभिलेखहरु पेश गरे पनि अदालतले देखेन ।

सुनबहादुर यो पटक पनि अदालतबाट छुटेलगत्तै पक्राउ परे । उनी जेलमा रहेकै बेला नुवाकोट जिल्ला अदालतले ०७४ चैतमा २ सयभन्दा बढी चेलिबेटी बेचबिखनको अभियोगमा ३७ वर्षको जेल सजायँ सुनाएको थियो । त्यही फैसला कार्यन्वयनका लागि प्रहरीले सुनबहादुरलाई फेरि पक्राउ गरी कारागार पठायो ।

हो, त्यही ३७ वर्ष जेल सजायँ हुने जिल्ला अदालतको फैसलालाई ०७६ असार २९ गते उच्च अदालत पाटनले त्रुटीपूर्ण भन्यो र मुख्य अभियुक्त वडाध्यक्ष सुनबहादुर तामाङलाई सुनपानी छर्किदै रिहा गर्न आदेश दियो । त्यही फैसलाले सुनबहादुरहरुबाट बेचिएका सयौं चेलीहरुको चित्कारमा नुनचुक घोप्टाइदियो ।

‘श्रीमान ! सुन्तली र फूलमायाको ठाउँमा तिम्री छोरी सुनबहादुरबाट जीबी रोडको खोली नम्बर ६४ को बेश्यालयमा बेचिएकी भए कस्तो फैसला गथ्र्यौ होला ?’ सामाजिक सञ्जालमा आइरहेका यस्ता प्रश्नहरुले अब सायद मानहानीको सामना गर्नुपर्ने हुन सक्छ ।

न्याय मरेको दिन

एउटा न्यायाधीशले मानव बेचबिखनको अभियोग पुष्टि भएको भन्दै ३७ वर्ष जेल सजायँ तोक्छन् भने अर्काले निर्दोष देखेर इज्जतपूर्वक रिहा गर्न आदेश दिन्छन् । प्रहरीसमक्ष थप पीडित चेली पुग्छन् र अर्को जाहेरी दिन्छन् । प्रहरीले पुराना फैसला कार्यान्वयनका लागि पुनः पक्राउ गर्छ । तर, सुनबहादुरलाई किन पक्रेको भन्दै अदालतले रिहा गर्न आदेश दिन्छ ।

दुई वर्षयता कम्तिमा तीनपटक पक्राउ परेेका र तीनैपटक फरक-फरक अदालतको आदेशबाट रिहा भएका सुनबहादुरले अन्तिममा हिन्दी सिनेमाकै नक्कल गरेर आफूलाई निर्दोष साबित गर्न खोजेका छन् । त्यो के भने चेलिबेटी बेचबिखनमा प्रहरीले खोजेको नुवाकोट घ्याङफेदी-६ को सुनवहादुर तामाङ हो, तर मचाहिँ ४ नम्बर वडाको हुँ ।

इजलासमा न्यायाधीशको आँखा छोपिएको चित्र हामी देख्छौं । कहिलेकाहिँ हाम्रा न्यायमूर्ति पनि चित्रका न्यायाधीशजस्तै आँखामा पट्टी लाइदिन्छन् । ०५१ सालदेखि चेलिबेटी बेचबिखनको अभियोगमा जेल सजायँ तोकिएर फरार रहेको अभियुक्त आफ्नै अगाडि उपस्थित हुँदा पनि न्यायमूर्तिले नक्कली सुनबहादुर देख्छन् र हिन्दी सिनेमाकै डाइलग शैलीमा उसलाई ‘छिटो साधनद्वारा’ रिहाई गर्नू भन्ने आदेश दिन्छन् ।

सुनबहादुरबाट बेचिएका चेली दिल्ली र मुम्बईका कोठीदेखि काठमाडौंका सडकमा भौंतारिएका छन् । सुन्तली, फुलमाया, कोपिलाहरुले आफूले भोगेको नारकीय जीवनको साबिती बयान पनि दिएका छन् । सुनबहादुरको छोरा गुनबहादुर चेलीबेटी बेचबिखनकै अभियोगमा जेल बसेको र सुनबहादुरकी पत्नी राधाको कोठी जीबी रोडको खोली नम्बर ६४ मा चलिरहेको प्रमाण पनि इजलासमा पेश भएकै छन् ।

खुद, नुवाकोट जिल्ला अदालतले २ सयभन्दा बढी चेली बेचेको अभियोगमा तीनै सुनबहादुरलाई ३७ वर्ष जेल सजायँको फैसला गरेको छ । तर, सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले उनलाई नक्कली सुनबहादुर देखे भने उच्च अदालत पाटनका न्यायाधीश रमेश थापा र हरिप्रताप केसीले जिल्लाको फैसलामै गल्ती देखे ।

सर्वोच्चको आदेशबाट छुटे पनि नुवाकोट जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेर कारगारमा पुगेका सुनबहादुर उच्च अदालतले नुवाकोट जिल्ला अदालतको ३७ जेल सजाय नै खारेज गरिदिएपछि सम्मान साथ रिहा भए । उनी रिहा भएलगत्तै आफ्ना नेताको निवासमा पुगेर खुसी साटे अनि पार्टीका नेता कार्यकर्तासँग भोज भतेर गरेर गर्वका साथ सामाजिक सञ्जालमा फोटोहरु सार्वजनिक गरिए ।

यसअघि नै पटक-पटक धम्की र प्रलोभनमा परेर सुनबहादुरबाट बेचिएका चेली कतिपय अदालतमा बकपत्र दिनै आउन सकेनन् । कतिपय एकाएक बेपत्ता भए भने कतिपय विभिन्न संस्थाको सुरक्षित आवासमा छन् । अदालतका यी फैसलापछि सायद अब बेचिएका कुनै पनि चेलीले सुनबहादुरहरु विरुद्ध जाहेरी र वयान दिने आँट पनि गर्ने छैनन् ।
सुनबहादुरको आर्थिक र सामाजिक बैभव भने यतिसम्म बढिसक्यो कि धनकै बलमा उनी वडाध्यक्षसमेत भइसके । जुन चेली उनीबाट बेचिए र अहिले उद्धार भएर नेपाल फर्काइएका छन्, तिनको सरकारी कागजातमा सनाखत र सिफारिस गर्ने ठाउँमा उनै सुनबहादुर पुगेपछि पीडितको मनोबल उसै पनि घटिसकेको छ । यसबीचमा एकजना पीडितले वयान नै फेरेपछि नुवाकोट जिल्ला अदालतले २० दिनको कैद सजाय नै तोकेको थियो ।

उच्च अदालतको पछिल्लो फैसला र त्यसपछि सुनबहादुर तथा उनको पार्टीका नेता कार्यकर्ताको विजयोत्सवले मानव बेचबिखनको मुद्दा एकपटक पुनः कमजोर देखिएको छ । खुलेआम चेलिबेटी बेचबिखन गर्ने र कोठी चलाउने परिवारको अभिनन्दन बेचिनेहरुको अपमानमात्र होइन, मानव बेचबिखनजस्तो अपराधलाई बैधानिकता पनि हो ।

चेलिबेटी बेच्नु गौरव, बेचिनु अपराध ?

उच्च अदालतले सुनबहादुर सफाइ दिएर फैसला गरेको दिन ०७६ असार २९ गते नेपालमा चेलिबेटी बेचबिखनको विजय भएको दिन हो । यो फैसलाले धेरै सुनवहादुरलाई ढाडस मिलेको छ भने प्रहरी र संघ संस्थाले जोखिम मोलेर उद्धार गरी अदालतसम्म पुर्‍याएका पीडित चेलीहरुमा न्यायको आश मरेको छ । बेचिनु उनीहरुकै अपराध हो भनेर अदालतले फैसला ठोकिदिएको छ ।

एक बेचबिखन प्रभावितहरुको संस्थाको सेल्टरमा बसिरहेकी सुन्तली तामाङले प्रहरी र अधिकारकर्मीलाई यतिसम्म भनिन्- तपाईहरुको विश्वास गरेर वयान दिएँ । न्याय पाइन्छ होला भन्ने आशा थियो । सुनवहादुर नै सही भनेर अदालतले फैसला गर्ने रहेछ त बरु उतिबेलै उसले भनेको मानेको भए दुई तीन लाख पैसा पाइने थियो ।

उनको एउटै यही भनाइ काफी छ कि किशोरी उमेरमै बेचिएका चेलीहरु भागेर वा उद्धारपछि नेपाल आएर फेरि सुनबहादुरहरुबाटै खरिद हुन्छन् वा बेपत्ता पारिन्छन् । जहाँ न्याय बिक्छ त्यहाँ सुनबहादुरहरु सुनपानीले चोखिन्छन्, सुन्तलीहरु पाइलैपिच्छे बेचिन्छन् ।

चेली बेच्नेले गौरवपूर्वक बिजयउत्सव मनाइरहेका बेला बेचिनेहरुको दुःख कसले सुन्ने ? सायद आफ्नै छोरी चेली नपरुन्जेल सुनबहादुरको भोज खानेहरुमा मानव बेचबिखन देशकै लागि कलंक हो भन्ने चेत नआउला । त्यसैले होला सामाजिक सञ्जालमा सुनबहादुरका समर्थकले उल्टै बेचिएका चेलीहरुलाई उपहास गरेर प्रतिक्रिया दिइरहेका छन् ।
हुन त फुलकुमारीलाई उनकै पति टीकारामले सुनबहादुरसँग पैसा लिएर खोली नम्बर ६४ मा बेचेका थिए । जुन मुद्दामा उच्च अदालतले पैसा लिने टीकारामलाई दोषी ठहर गरेर, पैसा दिनेलाई चोख्याइदियो ।

यो पनि पढ्नुहोस् 

बेचिएका चेलीको मुहारमा जब देखियो चमक

चेलीबेटी बेचबिखनको अभियोग लागेका वडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment