Comments Add Comment

सप्तरीका सांसदको राजीनामा, सिके राउतको बाँसुरी !

प्रत्यक्ष चुनाव जितेका सांसद बाल उपचारमै व्यस्त

२९ साउन, जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद डा. सूर्यनारायण यादवले आफ्नो पदबाट राजीनामा दिएको खबर बाहिरिएसँगै सप्तरीमा एकाएक राजनीतिक तरंग छाएको छ ।

सांसद यादवले आफ्नो स्वास्थ्य अवस्था ठीक नरहेको कारण खुलाउँदै सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा बुझाएका छन् । यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन । जिल्लास्तरका पार्टी नेता सांसद यादवको राजीनामाबाट असन्तुष्ट बनेका छन् । पार्टी केन्द्रले उनलाई राजीनामा फिर्ता लिन भनेको छ ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित यादवले २१ हजार ७ सय १२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी पूर्वसांसद रहेका वाम गठबन्धनका अशोक मण्डलले १८ हजार २२५ मत प्राप्त गरेका थिए ।

को हुन् सांसद यादव ?

सप्तरी १ का सांसद यादव चुनाव लड्नुअघिसम्म चिकित्सा पेशामा क्रियाशील थिए । उनी बाल रोग विशेषज्ञ हुन् । ०७४ साल मंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनका बेला यादवलाई सप्तरीका धेरै मतदाताले चिनेका थिएनन् । जतिले चिनेका थिए, नेताका रुपमा नभएर बाल रोग विशेषज्ञका रुपमा मात्र ।

सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ (साविकको डिमन गाविस) निवासी हुन् डा. यादव । उनी एक्कासी राजनीतिमा आएका हुन् । उनी दुई दशकयता चिकित्सा पेशामा लागेका व्यक्ति हुन् ।

डा. यादवको पृष्ठभूमि पनि राजनीतिक होइन् । ०७० सालमा भएको पहिलो संविधानसभामा डा. यादवका दाजु तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको टिकट लिएर यही क्षेत्रबाट उम्मेदबार बनेका थिए । तर, उनले जित्न सकेनन् ।

डा. यादवले लामो समयदेखि जनकपुरधाममा चिकित्सा पेशा गर्दै आएका थिए । उनको जनकपुर अञ्चल अस्पताल अगाडि ठूलो क्लिनिक छ । तीनतल्ले घरमा रहेको क्लिनिकमा बिरामीको चाप हुन्छ । ल्याब, एक्सरे, औषधिसहितका सेवा उनले क्लिनिकमै दिएका छन् ।

डा. यादवको क्लिनिकका एकजना कर्मचारीको भनाइलाई मान्ने हो भने दैनिक तीन सयदेखि ३५० सम्म बालबच्चाको जाँच यो क्लिनिकमा हुँदै आएको छ । डा. यादवले अन्य सहयोगी चिकित्सकलाई पनि आफ्नो क्लिनिकमा जागिर दिएका छन् ।

संसद र निर्वाचन क्षेत्र छाडेर बाल उपचारमा व्यस्त

सांसद यादवले निर्वाचित भएको केही दिनसम्म आफ्नो क्षेत्र घुम्ने, अन्तरकृया गर्ने जस्ता कामहरु गर्दै आए पनि पछिल्लो समयमा उनी चुनावी क्षेत्रमा जाने गरेका छैनन् । उनी संसदमा पनि कमै जाने गरेका छन् । उनले बिहान ९ बजेदेखि राति अबेरसम्म आफ्नै क्लिनिकमा समय दिँदै आएका छन् ।

यसै बिषयहरुमा कुराकानी गर्न करिब डेढ साताअघि अनलाइनखबरको टोली यादवको क्लिनिकमा पुगेको थियो । त्यसबेला उनले आफू अस्वस्थ्य रहेको र केही दिनभित्रै काठमाडौंमा जाँच गराएर आएपछि मिडिया सामु बोल्ने प्रतिक्रिया दिएका थिए ।

तर, उनले काठमाडौं पुगेर उपचार हैन, सभामुखसमक्ष राजीनामा बुझाए । राजनीनामासँगै उनी मोवाइलको स्वीच अफ गरेर सम्पर्कविहीन बने ।

उप–निर्वाचन भएमा के होला ?

सांसद यादवको राजीनामा स्वीकृत भयो भने सप्तरी १ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ, किनभने त्यो अवस्थामा प्रतिनिधिसभाको एक सिट खाली हुनेछ । तर, सभामुखसमक्ष पेश भएको राजीनामा स्वीकृत भइसकेको छैन । पार्टीले पनि उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको अवस्था छ ।

डा. यादवले राजीनामा फिर्ता लिएनन् र स्वीकृत भयो भने आगामी मंसीर १४ गते सप्तरी क्षेत्र नम्बर १ मा पनि उपनिर्वाचन हुने अनुमान लगाउन थालिएको छ । यादवको राजीनामा स्वीकृत नभए पनि सप्तरीमा यतिबेला विभिन्न कोणबाट राजनीतिक जोड–घटाउ शुरु भएको छ ।

उपनिर्वाचन भइहालेमा समाजवादी पार्टीले आफ्नो छँदाखाँदाको एक सीट गुमाउने र यसको फाइदा कांग्रेस/कम्युनिष्टले लिन सक्ने देखिन्छ । मधेसका नाममा राजनीति गर्दै आएको राजपा वा सिके राउतको पार्टीले पनि यो क्षेत्रमा एक्लै जित्ने देखिँदैन ।

डा. यादवले तत्कालीन संघीय समाजवादी फोरम नेपालको सहयोगले मात्र निर्वाचन जितेका होइनन् । चुनावताका फोरम नेपालले राजपासँग मिलेर उम्मेदवारको सिट बाँडफाँट गरेको थियो । जसअनुसार फोरमले दुई र राजपाले पनि दुई क्षेत्रबाट आफ्ना उम्मेदवार बनाएको थियो । दुबै पार्टीको गठबन्धनमा डा. यादव सप्तरी १ बाट निर्वाचित भएका थिए ।

सप्तरी यस्तो जिल्ला हो, जहाँ कसैले नसोचेको परिणाम पनि बाहिर आउँदोरहेछ भन्ने कुरा विगतमा देखिने गरेको छ । त्यसबेलाको कुरा अहिले गर्दा सान्दर्भिक हुँदैन । तर, वर्तमान अवस्थामा उपनिर्वाचन हुँदा राजपाले समाजवादी पार्टीलाई सहयोग गर्छ कि गर्दैन भन्ने महत्वपूर्ण हुनेछ ।

राजपाले सहयोग नगरेको खण्डमा समाजवादी पार्टीले जोसुकैलाई उम्मेदबार बनाए पनि जित्ने अवस्था तत्काल देखिँदैन । किनभने, यो क्षेत्रमा मधेसी र पहाडी जनताले झण्डै बराबरीको हिस्सा ओगटेका छन् ।

डा. यादवले जित्दा कतिपय पहाडी समुदायले ‘हाम्रो बच्चाको डाक्टर हो’ भन्दै मत दिएका थिए । यसको मुख्य कारण के थियो भने डा. यादवले सप्तरीका गाउँ–गाउँ पुगेर आफूले बच्चाको ठूलो अस्पताल बनाउने उद्घोष गरेका थिए ।

तर, डा. यादवले निर्वाचित भएपछि अस्पताल बनाउन त परै राखौं, आफ्नो चुनाव क्षेत्र नै टेकेनन् । यसैले उनीप्रति विश्वास गर्ने मत घटेको छ ।

सिके राउतलाई फलामको च्युरा !

सामाजिक सञ्जालमा जनमत पार्टीका नेता डा. सिके राउतलाई उम्मेदबार बनाउन समाजवादी पार्टीले डा. यादवलाई राजीनामा दिन लगाएको चर्चा चलेको/चलाइएको छ । सिके राउतको जनमत पार्टीसँग एकीकरण गरेर उम्मेदबार बनाए डा. राउतले उपनिर्वाचन जित्लान् त ? यो बहस सांसद यादवको राजीनामा बाहिर आएसँगै शुरु भएको छ ।

तर, जसरी सामाजिक सञ्जालमा डा. यादवलाई राजीनामा दिन लगाएर डा. सिके राउतलाई उम्मेदबार बनाउने चर्चा चलिरहेको छ, त्यो भएमा उपनिर्वाचनमा फरक परिदृश्य देखा पर्न सक्छन् ।

यदि उपनिर्वाचन भयो र डा. सिके राउत नै उम्मेदवार भए भने राउतको जनमत पार्टीको संगठन यहाँ मजबुत छैन् । राउतले स्वतन्त्र मधेसको मुद्दा त्यागेसँगै उनीसँग रहेका धेरै युवाले बाटो बिराइसकेका छन् ।

डा. यादव निर्वाचित भएको क्षेत्र कम्युनिष्टहरुको बाहुल्य भएको क्षेत्र पनि हो । यस क्षेत्रका कञ्चनरुप र सप्तकोशी नगरपालिकाको प्रमुख पदमा तत्कालीन एमालेका उम्मेदवार निर्वाचित भएका छन् । हनुमाननगर–कंकालनीमा राजपा, अग्निसाइर कृष्णासावरण गाउँपालिकामा कांग्रेस र तिरहुत गाउँपालिकामा समाजवादीले जित हात पारेका छन् ।

यो कोणबाट हेर्दा उपनिर्वाचन भइहालेमा समाजवादीले दिने नयाँ उम्मेदवारले जित्ने सम्भावना निकै कम हुने छ, चाहे सिके राउत नै उम्मेदवार किन नहुन् ।

प्रतिनिधिसभाको निर्वाचनमै पनि सप्तरी १ मा यो अवस्था देखिएको थियो । जस्तो कि– सांसद यादवले २१ हजार ७ सय १२ मत ल्याउँदा वाम गठबन्धनका अशोक मण्डलले १८ हजार २२५ मत प्राप्त गरेका थिए । फोरमले राजपासँग गठबन्धन नगरेको भए नेकपाका मण्डलको जित सुनिश्चित थियो ।

मधेस मुद्दाको बलमा राजपासँग गठबन्धन बनाएरै निर्वाचन जिते पनि तत्कालीन फोरम नेपाल संघीय सरकारमा गएपछि जनता असन्तुष्ट बनेको अर्काे पक्ष पनि छ । सरकारमा गएर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टी कार्यकर्तामै असन्तुष्टि देखिएको छ ।

निष्कर्षमा भन्ने हो भने यो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइहालेमा समाजवादी पार्टीले आफ्नो छँदाखाँदाको एक सीट गुमाउने र यसको फाइदा कांग्रेस/कम्युनिष्टले लिन सक्ने देखिन्छ । मधेसका नाममा राजनीति गर्दै आएको राजपा वा सिके राउतको पार्टीले पनि यो क्षेत्रमा एक्लै जित्ने देखिँदैन ।

जहाँसम्म सिके राउतको प्रश्न छ, डा. यादवको राजीनामा स्वीकृत भयो र उपनिर्वाचन भइहाल्यो भने सप्तरी १ मा सिके राउतको परीक्षा हुन सक्छ ।

स्वतन्त्र मधेसको नारा परित्याग गरेर जनमतका आधारमा आफ्ना मुद्दाहरु अघि बढाउने भन्दै सरकारसँग सहमति गरी ‘जनमत पार्टी’ गठन गरेका सिके राउतले पक्कै पनि चुनावमा भाग लिने छन् । उनले या त आफ्नै पार्टीको नामबाट चुनाव लड्ने छन, या त अन्य दलमा प्रवेश गरेर चुनावमा जानेछन् ।

यी दुबै अवस्था सिके राउतको जीतका लागि सजिलो देखिँदैन । उनी समाजवादी पार्टी त के, नेकपामै प्रवेश गरेर चुनावमा गए भने पनि सत्तारुढ नेकपाको आन्तरिक कोपभाजनको सिकार हुने सम्भावना रहन्छ ।

तर, सभामुखलाई बुझाएको राजीनामा स्वीकृत भएन या यादवले पार्टीको आग्रहलाई स्वीकार गर्दै राजीनामा फिर्ता लिने घोषणा गरे भने चाहिँ उपनिर्वाचनको बहस पानीको फोकाजस्तै फुट्ने निश्चित छ । त्यसपछि न रहे बाँस, न बजे बाँसुरी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment