Comments Add Comment

गाउँमै आँखाको निशुल्क शल्यक्रिया : गुमेको आँखाको दृष्टि फेरि पाउँदा वृद्ध-वृद्धामा खुसी

८ मंसिर, रामेछाप । सुतापती गाउँपालिका–३ हिलेदेवीकी वादी तामाङको एक वर्षदेखि दुवै आँखा बन्द भएका थिए । लट्ठीको भरमा छामछाम छुमछुम गरेर हिँड्नु पर्ने उनको बाध्यता थियो ।

‘आँखा नदेखेपछि के गर्नु, कति खेर भिरबाट खसिएला भन्ने  डर, पानी खाँदा पनि फोहोर खाइला भन्ने त्रास, शरीरको सबै भन्दा ठूलो अंग भनेकै आँखा रहेछ’, उनले आफ्नो अनुभव सुनाइन् ।

अब आँखै नदेखि जीवन जाने भयो भन्ने पीर बोकेर बसेकी वादीले एक वर्षपछि शनिबार फेरी दृष्टि पाइन् । खाँडादेवी गाउँपालिमा आयोजना गरिएको मोतिया विन्दुको निशुल्क स्वास्थ्य शिविरमा उनका दुवै आँखाको शल्यक्रिया भयो र फेरी आँखाको ज्योति फर्कियो । एक पटक गुमेको आँखाको ज्योति फर्कंदा उनी कम्ता खुसी भएकी छैनन् ।

गएको ६ महिनादेखि दुवै आँखा बन्द भएर एकै थलामा बस्दै आएका सुनापति–५ का देवदत्त मानन्धरको पनि अहिले खुसीको सीमा छैन । उनको गएको जेठ महिनादेखि दुवै आँखा बन्द भए । एउटा आँखाले काम गर्न छाडेको २ वर्षजति भएको थियो । अर्को आँखा पनि बन्द भएपछि उनी हिँडडुल गर्न सकेका थिएनन् । शल्यक्रियापछि दुवै आँखा देख्ने हुँदा उनले खुसी थाम्नै सकेनन् र शल्यक्रिया गर्ने चिकित्सकलाई अंगालो हाले ।

‘यी त देउता नै रहेछन् नी । भगवान नभए बन्द भएको आँखा फेरी कसरी देख्ने बनाउन सक्छन् ?’ शल्यक्रिया पछि दुवै आँखा देख्ने भएको खुसी बाँड्दै उनले भने ।

दैनिक मजदुरी गरेर खाने ५६ वर्षका ज्ञानबहादुर सार्कीलाई पनि पाँचसात महिनादेखि आँखाले निक्कै दुःख दियो । उनी ठ्याप्पै आँखा नदेख्ने भए । ‘काम गरेर खाने मान्छे, पानी सारेर पनि खान नसक्ने पो भएँ’ उनले आँखा नदेख्दाको पीडा सुनाए । शल्यक्रिया पछि उनको आँखामा पनि ज्योति फर्किएको छ र उनी पुन: काम गरेर खान सक्ने भएका छन् ।

यिनीहरु जस्तै रामेछाप जिल्लाको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका १ सय ३१ जना मोतियाविन्दुका बिरामीहरुको २ दिनमा निशुल्क सल्य क्रिया गरिएको छ । गाउँगाउँमा पुगेर शल्यक्रिया गर्नु पर्ने बिरामीहरुको छनौट गरेर खाँडादेवी गाउँपालिकामा ल्याई शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका इञ्चार्ज बाशु अधिकारीले बताए । उनीहरुको शल्यक्रिया मात्र निशुल्क गरिएन घरबाट आउने जाने यातायातको व्यवस्था तथा खाने बस्ने ठाउँको समेत आयोजकले नै व्यवस्था गरेको थियो ।

खाँडादेवी गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रामेछाप र सामुदायीक विकास समाज रामेछापको संयुक्त आयोजनामा भएको सो आँखा शिविरको लागि ३ वटा गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेर शल्यक्रिगा गर्नु पर्ने बिरामीहरुको छनौट गरिएको थियो । छनौट गरिएका बिरामीहरुको खाँडादेवी गाउँपालिकामा आयोजना गरिएको शिविरमा शल्यक्रिया गरिएको थियो । बिरामीहरुको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुले सल्यक्रिया गरेका थिए ।

काठमाडौं गएर उपचार गर्दा एउटा आँखाको शल्यक्रिया गर्दा २५ हजारसम्म खर्च हुने भए पनि गाउँमा भने निशुल्क उपचार भएको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङले बताए । गाउँमा नै सहज रुपमा उपचार होस् भनि शिविरको आयोजना गरिएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment