
१७ मंसिर, काठमाडौं । बाराको बरियारपुरस्थित गढीमाई मन्दिर क्षेत्रमा १ मंसिरदेखि सुरु भएको छ गढीमाईको मेला । प्रत्येक पाँच वर्षमा आयोजना गरिने मेलाले नेपाल र भारतमा मात्र नभएर संसार भर नै चर्चा बटुल्ने गरेको छ ।
मनोकामना पूरा हुने आकांक्षाले एकैपटक सबैभन्दा बढी बली दिइने मेला पनि भएकाले यसबारे अन्तराष्ट्रिय मिडियामा पनि हरेकपटक चर्चा हुने गरेको पाइएको छ ।
बितेका केही दिनमा न्यूजविक, युनाइटेड न्यूज अफ इण्डिया, टाइम्स अफ इण्डिया, गल्फ टाइम्स र ढाका ट्रिब्युनले गढीमाईका बारेमा लेखेका छन् ।
युनाइटेड न्यूज अफ इण्डिया, टाइम्स अफ इण्डिया, गल्फ टाइम्स र ढाका ट्रिब्युनले बली नदिन अभियन्ताको दबाव आशयका रिपोर्ट छापेका छन् । न्युजविकले भने गढीमाईलाई ‘संसारकै सबैभन्दा ठूलो पशुबली दिने मेला’ को संज्ञा दिएको छ ।
के भन्छ न्युजविक ?
न्युजविक पत्रिकाका अनुसार सन् २००९ मा अहिलेसम्मकै धेरै पशुहरूको बलि (करिव ५ लाख) दिइएको थियो । तर, राष्ट्रिय तथा अन्तराष्ट्रिय दबावका कारण यो संख्या सन् २०१४ मा घटेर ३० हजार हुन पुग्यो ।
सन् २०१५ मा गढीमाई मन्दिर व्यवस्थापनले अब उपरान्त पशुबलीमाथि प्रतिवन्ध लगाउने घोषणा गरेको थियो । तर, मंसिर १७ र १८ गते पशुबली दिइनेछ कि छैन भन्ने अझै स्पष्ट हुन सकेको छैन । तथापि व्यवस्थापनले लगाएको प्रतिबन्ध मन्दिर वरपर मात्र लागु हुने भनिएको छ र मन्दिर बाहिर हुने बलीको विषयमा व्यस्थापन जिम्मेवार हुने छैन ।
हालैका दिनहरूमा नेपालको सर्वोच्च अदालत र विभिन्न मन्त्रालयहरूले बलीका विरुद्ध आवाज उठाउने गरेका छन् । हालका दिनहरूमा अभियन्ताहरूले प्रधानमनत्रीलाई नै चिठी लेखेर यो विषयमा केही गर्न आग्रह गरेका छन् ।
ह्युमेन सोसाइटी इन्टरनेसनल र एनिमल इक्वालिटीले मेलाका अवधिमा विभिन्न कार्यक्रम गर्दै छन् । नेपाल भारत सीमामा अधिकारीहरूसित मिलेर अभियन्ताहरूले भारतबाट आउने पशुलाई नेपाल छिर्न नदिने बताएका छन् । मेलामा बलिदिइने ७० प्रतिशत पशु भारतबाटै आउने गरेको बताइन्छ ।
उनीहरूले मेला भर्न आउनेहरूलाई पनि बलि दिन पशु ल्याउनुको सट्टा फूल र मिठाई ल्याउने प्रेरित गर्दै छन् । उनीहरूले स्थानीय रेडक्रससित मिलेर भक्तजनहरूलाई पशुको रगत चढाउनुको सट्टा आफ्नै रगत दान गरेर देवीलाई चढाउन पनि भनिरहेका छन् ।
प्रतिक्रिया 4