Comments Add Comment

सन्तानप्रति आमाको अनुभूति

एउटाको ‘मुटुको टुक्रा’ अर्काको ‘मुटुको टुक्रा’सँग जोडिएर एउटा नयाँ सम्बन्ध स्थापित हुन्छ युग–युगसम्मका लागि ।

आदिमकालदेखि चल्दै आएको चलन । पिता अनि माताको स्वर्णिम सम्बन्धको विस्तारित रूप हुन् ‘सन्तान’ ।

एउटी आमाले ९ महिना गर्भमा राखेर पिताको प्रत्यक्ष रेखदेखमा उसको मुटुको टुक्रा ‘सन्तान’ भएर जन्मन्छ र उसका हरेक सेकेण्ड माता पिताको संरक्षकत्वमा अगाडि बढिरहन्छ । एउटी आमाको रगत अनि पिताको बीर्यको समागम हो एउटा ‘सन्तान !’

त्यसैले त आमालाई दुख्दा सन्तान दुःखी हुन्छन् । पितालाई पीड़ा हुँदा सन्तानलाई मर्मस्पर्शी पीड़ा हुन्छ ।

हरेक किसिमले सन्तान आफ्ना माता–पिताका सन्निकट हुन्छन् । त्यसलाई न कुनै सिमानाले छेक्छ, न कुनै नयाँ सम्बन्धले बाधा पुर्‍याउँछ । यसले त अझ बलियो बनाउँछ ।

मायाका थुप्रै परिभाषा छन् । तर, जातिसुकै फरक–फरक परिभाषा भए पनि एउटा सजीव प्राणीको मन मस्तिष्कमा रहने र अर्को प्राणीको मन मस्तिष्कवीच रहने अव्यक्त, अनुपम सुमधुर अनुभूति नै माया हो ।

माया कहिल्यै एक्लो हँुदैन । त्यो माता र उनका सन्तानको बीच होस् या पिता र सन्तानको वीच होस् या साथीसाथी बीच, माया भनेको माया नै हो । यसको न कुनै मूल्य हुन्छ, न तुलना । त्यो त मन र मुटु भित्रै रहन्छ । कसैले ब्यक्त गर्छन्, कसैले गर्दैनन् ।

त्यसलाई कहिलेकाहीँ कसै–कसैले कविता र शब्द सञ्जालमा व्यक्त गर्छन् त कसैले भावनामा ।

परिवर्तनशील संसारमा थुप्रै परिवर्तन आइसके । हामीले भोगेका, देखका कुराहरु अहिलेका पुस्ताले देखेनन्, भोगेनन् । हामीले हाम्रा पूर्खाको जस्तो देखेनौं, भोगेनौं फरक त्यति हो ।

तर, पनि फर्केर हेर्दा, सोच्दा मन र मुटु त यस्तै थियो जस्तो लाग्छ । जुन मन र मुटु यो लेख्दै गरेको मान्छेसँग छ ।

भनिन्छ नि, जिन्दगी भनेको सम्झनै सम्झनाको माला हो । यो सुमधुर सुगन्धित हुन्छ र त यसले सधैं हामीलाई ऊर्जा दिइरहन्छ र ताजगी बनाइरहन्छ ।

कहिलेकाहीँ जिन्दगी सिनेमाको रीलजस्तै लाग्छ, जो घुमिरहन्छ कहिले आँशु अनि कहिले हासोसँगै ।

अनुभव र अनुभूति दुई फरक चीज भए पनि केही अनुभूति अक्षरमा कोरिन सके त्यो भोलिको इतिहास बन्ने छ कि जस्तो लाग्ने रहेछ ।

एउटी छोरी, बहिनी, भाउजू, बुहारी हुँदै नेपाली समाजले भन्ने गरेको ‘शब्दनाम’ सासू बन्दाको अनुभूति यसो कोर्ने जमर्को मात्र ।

यद्दपि ‘सासू’ शब्द मलाई कहिल्यै मन परेन, पर्दैन पनि । (आशा छ भविष्यमा यो नाम परिवर्तन हुनेछ) तर, शब्दसँग भन्दा पनि भावनासँग पोखिन मन लाग्यो ।

एउटा जिम्मेवार पद !

हुन्छ नि, जागिरमा पनि तल्लो तह भन्दा पनि जति माथिल्लो पदमा उक्लिँदै गयो, जिम्मेवारीको सीमा पनि फराकिलो हुँदै जाने ।

पहिलो पंक्तिमा भने जस्तै एउटाको मुटुको टुक्रा अर्काको मुटुको टुक्रासँग जोड्दै जब घरमा भित्र्याइन्छ, मनभित्र बेग्लैखालको खुसी मिश्रण हुन्छ । थोरै मन गहु्रँगो पनि नहुने चाहिँ होइन है !

त्यो गह्रुंगो मिश्रित खुसी ‘आमा’ हो ।

खुसी यस अर्थमा कि ‘आफ्नो मुटु’ दिएकी हुन्छे । गहु्रंगो यस अर्थमा कि आफ्नो घरमा ‘अर्काको मुटु’ ल्याएकी हुन्छे । त्यो अनुभूति पनि ‘आमा’ हुनुको हो । मन विशुद्ध अग्र्यानिक हुन्छ । यसमा कसैले परिवर्तन ल्याउन सक्दैन ।

एउटा परिवार तीनबाट चार भएको हुन्छ । बिल्कुल नयाँ वातावरण । थुप्रै जिम्मेवारी । आफ्नै अतीतका सम्झनाका सँगालो । गहु्रङ्गो मनसँगै अरुको भएको सम्झना । आफ्नो जन्मघर थुप्रै कोष टाढा भएको यथार्थ । आफ्नै आमाबुवा पर छोडेर आएको पीडा । सबैको समिश्रण । हरेक छोरीहरुका मन मुटुभित्र रहेका यी यादगार चलचित्रहरु ।

कर्तव्यसँगै उत्तरदायित्व बढेको अनुभूति । सन्तान जति नै ठूला भए पनि, बुझक्कड़ भए पनि जननीको नजरमा सधैं बालखै हुने । उनीहरु आफैं काम गरेर पकाएर खान सक्ने होउन् भन्ने चाहना ! उनीहरुलाई सक्दो सिकाउँ भन्ने चाहना !

नयाँ घर, नयाँ परिवेश, नयाँ चालचलन, केही सिकाउनुपर्ने उत्तरदायित्व । सिकाउँदा पनि मैले कतै अर्काको मुटुको टुक्रालाई काम पो धेरै लगाएँ कि भन्ने भय ! आफ्नै मन कताकता चिमोटिने । तर, फेरि नजानेको कुरा सिकाउनु पनि त पर्‍यो नि । किनकी उनीहरुले जिन्दगी बाँच्नका लागि भोलि कहाँ, कस्तो ठाउँमा बस्नुपर्ने हो के थाहा, यति गर्न जानेदेखि उनीहरुकै जिन्दगी सरल हुनेछ भन्ने कर्तव्यबोध हुने ।

त्योसँगै आफ्नो मुटुको टुक्रा छोरालाई जसरी माया गरेर हुर्काएको सम्झना गर्दै छोरासँग आफ्नो परिवारको नयाँ सदस्य बुहारीको पनि उत्तिकै माया लाग्ने । आफूलाई जे किन्दा पनि उनलाई सँगसँगै किनिदिन मन लाग्ने । उनीहरुको खुसी नै हाम्रो खुसी हो जस्तो लाग्ने । उनलाई सकेसम्म कहीँकतैबाट पनि केही अभाव महसुस नहोस् भनेर अव्यक्त माया भित्रभित्रै लाग्ने ।

शायद यही होला व्यक्त अव्यक्त अनि भित्रभित्रैको घनिष्ठ मायासँग बढेको विस्तारित सम्बन्ध भनेको । थाहा छैन यो एकहोरो हुन्छ या दोहोरो । जे भए पनि सधैंभरि मातापिताको चाहना र कामना दुबै मुटुको टुक्रा हमेशा हमेशा खुसी र सुखी रहुन् भन्ने । चाहेका हरेक मनोकांक्षा पूर्ण होऊन् भन्ने । कर्तव्यपरायण बनून भन्ने । उत्तरदायित्व बोधयुक्त रहून भन्ने । परिवारभित्र माया अनि प्रेमको यो सँगालो आदि अनन्त सम्म पनि कसिलो गरी बाँधिरहौं भन्ने । हरेक मन र मुटुको प्रिय बनेर रहुन् भन्ने ।

अन्त्यमा, मुटुभरिको माया आफ्ना ‘दुई मुटुको टुक्रा’ लाई बराबरी अनन्त अनन्त कालसम्म दिइरहन सकियोस् । यी सबै अनुभूतिमा ‘आमा’ बाँचेकी हुन्छे । साथै पिता पनि दर्बिलो खम्बा बनेर सँगै रहेकै हुन्छन् ।

–बानेश्वर, काठमाण्डौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment