Comments Add Comment

मगर संघले माघे सङ्क्रान्तिमा सांस्कृतिक महोत्सवको आयोजना गर्ने

२८ पुस, काठमाडौं । नेपाल मगर संघले माघे सङ्क्रान्ति पर्वको अवसरमा काठमाडौंको टुँडीखेलमा ‘माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गर्ने भएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा संघले माघ १ र २ गते टुँडिखेलमा मौलिक सांस्कृतिक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

संघले ‘माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ, मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित टुँडिखेलमा आयोजना गरिने सांस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

महोत्सवको उद्घाटन माघ १ गते उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाँण हान्ने तथा शुभकामना आदान–प्रदान लगायतका कार्यक्रम रहेको संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा मगर संघले माघेसङ्क्रान्ति चाडमा सार्वजनिक विदा दिन माग समेत गरेको छ ।

संघका अध्यक्ष नवीन रोकामगरले माघे सङ्क्रान्ति पर्वमा दिंदै आएको सार्वजनिक विदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको बताए । उनले माघे सङ्क्रान्तिको अवसरमा चार प्रदेशका सरकारले सार्वजनिक विदा दिएको बताउँदै संघीय सरकारले नै बिदा दिनुपर्ने बताए ।

कसरी मनाउँछन् मगरहरुले माघे सङ्क्रान्ति ?

नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी जनजाति मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघेसकराती चाड, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् ।

माघेसकराती चाड विशेष त चेली तिहारकोे रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिनदेखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा दाजुभाई दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पात लिएर घरको धुरी खाँबोमा पूजा गर्ने गरिन्छ । यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाईहरुले पूजा गर्ने गरिन्छ ।

चामलको सेतो टिका र जौं पाटीको फुल लगाइ दक्षिणा अनि आर्शिवाद दिने चलन छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोती सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ ।

सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि वेंसीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment