
३ माघ, रामेछाप । रामेछाप जिल्लामा पुनः वर्षा र हिमपात भएको छ । वर्षा र हिमपाताको कारण जनजीवन प्रभावित भएको छ ।
बिहीबार रातिदेखि जिल्लाका सबै भूभागमा वर्षा भएको छ भने उच्च भागमा हिमपात भएको छ । दोरम्बा, डडुवा र गौश्वारा लगायतको शैलुङ क्षेत्रमा हिमपात भएको दोरम्बा गाउँपालिका–४ गौश्वाराका वडाअध्यक्ष चन्द्रबहादुर मगरले जानकारी दिए ।
माथिल्लो भागमा हिउँ परेको कारण शैलुङ्को फेदमा चिसोले सर्वसाधारणहरु घरबाट बाहिर निस्कन नसकेका उनले बताए ।
यसैगरी गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु लगायतको क्षेत्रमा पनि हिमपात भएको छ ।
उमाकुण्ड गाउँपालिकाको प्रिती, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती, गुम्देल लगायतका क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ।
जिल्ला भरिनै रातिदेखि पानी परेको कारण सबैक्षेत्रमा चिसो बढेको छ । एक हप्ताअघि मात्र वर्षा र हिमपातका कारण बढेको जाडो घटन् नपाउँदै फेरि हिमपात भएको छ । यसले गर्दा चिसो निक्कै बढेको छ ।
वर्षा र हिउँका कारण ग्रामिण भेगको यातायात सेवा समेत प्रभावित भएको छ । वर्षा र हिउँको कारण ग्रामिण भेगका कच्ची सडकहरु चिप्ला भएपछि यातायात सेवा प्रभावित भएको हो ।
प्रतिक्रिया 4