Comments Add Comment

रामविलासले पाए उखुको बक्यौता, तर अरु किसानका लागि लड्न तयार

६ माघ, काठमाडौं । उद्योगमन्त्रीलाई साक्षी राखेर १८ पुसमा पाँचबुँदे सहमति भएपछि सर्लाहीका उखु किसान रामविलास महतोको अनुहारमा लोभलाग्दो खुसी छायो । उनको अनुहार उज्यालिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भयो ।

उद्योगीले माघ ७ को भाका राखेका थिए र सरकारले त्यहीँ भाकाभित्र पैसा दिलाउने ग्यारेन्टी गरेको थियो । तर, अहिले उद्योगीले चलाखी गरेका छन् । उनीहरुले रामविलाससहित आन्दोलनका क्रममा चर्चामा आएका केही उखु कृषक छानि-छानि पैसा चुक्ता गरका छन् । अरु धेरैको बाँकी नै छ ।

चिनी मिलले केही पैसा बैंक खातामा हालिदिएको खबर पाएपछि रामविलास घर फर्किएका थिए । अहिलेसम्ममा आफ्नो अनुदानबाहेकको सबै पैसा उद्योगले दिएको उनले बताए ।

सोमबार अपराहृन टेलिफोनमा बताएअनुसार काठमाडौं आएका उनीसहित ६/७ जना किसानले अधिकांश पैसा पाएका छन् । ‘मेरो सरकारले दिएको अनुदान र काकाको नाममा दिएको एक टेलरको पैसा मात्रै बाँकी छ,’ उनले भने ।

तर, पनि पूरा खुशी छैनन् उनी । किनकी आफूजस्तै पीडामा परेका थुप्रै किसानको समस्या अझै समाधान भएको छैन । सबैको बक्यौता चुक्ता गर्न उद्योगीले अझै आनाकानी गरेमा फेरि काठमाडौं आएर संघर्ष गर्ने मुडमा छन् उनी ।

यो पनि पढ्नुस्–बल्ल मुस्कुराए रामविलास !

भोलिसम्ममा सबैले बाँकी पैसा नपाए काठमाडौं आएर सिधै सिंहदारबार पस्ने रामविलासले बताए ।

‘अब मिल मालिक खोजेर बस्दैनौं, ५०/६० जना किसान जुटेर मन्त्रालयमै जान्छौं’ उनले भने, ‘हामीसँग पाँचबुँदे सहमति मन्त्रालयले गरेको हो । अब उसले हाम्रो पैसा दिलाइदिनुपर्छ । नभए मन्त्रालयमाथि नै केस (मुद्दा) गर्छु ।’

मिलको सम्पत्ति लिलामी गरेर हुन्छ वा मन्त्रालय आफैंले दिएर हुन्छ सबैले बाँकी पैसा पाउनुपर्ने किसानहरुको माग छ ।

उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरिश्याम रायका अनुसार अन्नपूर्ण र महालक्ष्मी चिनीमिलले जति रकम दिएका छन्, त्योभन्दा धेरै तिर्न बाँकी नै छ ।

रायले भने, ‘मेरो ७ लाख जति लिन बाँकी थियो, ३ लाख मात्र पाएँ । अरुको पनि अवस्था त्यस्तै हो ।’

भाका नाघ्न अझै एक दिन बाँकी भएकाले कृषकहरुको आशा टुटिसकेको छैन ।

राय भन्छन्, ‘सरकारले चाहृयो भने ४ घन्टा बाँकी हुँदा पनि हाम्रो पैसा दिलाइदिनसक्छ । त्यसैले भोलिसम्म आश गर्नै पर्‍यो ।’

यता उद्योगीहरुले भने ७ माघभित्र सबै बक्यौता तिर्न नसक्ने भन्दै मन्त्रालयसमक्ष लाचारी दर्शाएका छन् ।

उद्योगीले आफूसँग भएको स्रोतबाट किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको तर सबै रकम तोकिएकै मितिमा दिन नसक्ने जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस उखु कृषकलाई दिइएको भाका भोलि सकिँदै, बक्यौता चुक्ता नहुने

७ माघको समयसीमा गुज्रिन एक दिन मात्रै बाँँकी रहँदा महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण प्राप्त भएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मी सुगर मिलका वीरेन्द्र कनोडिया । अब इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

तर किसानहरुले भने सरकारले दिएको अनुदान पनि मिलले लिएर आफूहरुलाई दिन बाँकी भएकाले यो रकम अझै धरै हुने तर्क गरेका छन् । संघर्ष समितिका सचिव राय भन्छन्, ‘अन्नपूर्णले करिव ४५ करोड र महालक्ष्मीले १५ करोड जति दिन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment