Comments Add Comment
नेकपा केन्द्रीय कमिटी बैठक :

‘चीन घेर्ने’ शब्दप्रति ओली पक्ष असहमत

पूर्वएमालेको विवादले पूर्वमाओवादीलाई फाइदा

तस्वीरहरु : रासस

१६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले एमसीसी संसदबाट पारित गर्नुअघि पार्टीभित्र विज्ञ सम्मिलित कार्यदल बनाएर सबैका चासो र आशंकाहरुलाई सम्बोधन गर्न मुख्य नेतृत्वलाई सुझाव दिएका छन् ।

एमसीसी पारित गर्नै हुन्न भन्ने मत पार्टीभित्र झिनोरुपमा देखिएको छ ।

नेकपाको बैठकमा देखिएको वैचारिक बहसबारे चर्चा गर्नुपूर्व पेरिसडाँडा, धुम्बाराही र सभागृहसमेत तीन स्थानमा बाँडिएर छलफलमा सहभागी १५ वटा टोलीका विषयमा चर्चा गरौं ।

पूर्वएमाले विभाजित हुँदा पूर्वमाओवादीलाई फाइदा

राजनीतिक र संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपाले २९ जना सदस्य बराबर एक समूह गठन गरी जम्मा १५ वटा समूहमा विहीबार छलफल गरायो ।

१५ मध्ये १४ वटा समूहले विहीबार टोली नेताहरु चयन गरे पनि १० नम्बर समूहले शुक्रबार मात्र नेता चयन गर्ने भएको छ । विवादले गर्दा नभएर सहमतिमै नेता चयन शुक्रबार गर्ने भनिएको टोलीमा रहेका केन्द्रीय सदस्य माधव ढुंगेलले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस प्रचण्डले औंल्याए सरकारका ६ कमजोरी, पार्टीमा अन्तरघात मौलाएको ठहर

बाँकी ६ समूहका टोली नेतामध्ये ओली पक्षका ३ जना र माधव नेपाल पक्षका तीनजना परेका छन् । ओली पक्षका विन्दा पाण्डे, भगवती चौधरी र खिमलाल भट्टराई टोली नेता बनेका छन् भने नेपाल पक्षका जगन्नाथ खतिवडा, राजेन्द्र राई र ठाकुर गैरे परेका छन् ।टोली नेता चयन गर्दा पूर्वएमालेका ओली गुट र माधव नेपाल गुटबीच एकले अर्कोलाई स्वीकार गर्न नमान्दा पूर्वमाओवादी पक्षले फाइदा उठाएको छ । १४ समूहबाट टोली नेता चयन हुँदा ७ जना पूर्वमाओवादीबाट परेका छन् । समूह १ मा पूर्वएमालेका आनन्द पोखरेल र पूर्वमाओवादीकी उर्मिला अर्याल दुवैलाई नेता भनिएको छ ।

१४ नम्बर समूहको टोली नेता पूर्वमाओवादीका राम कार्कीलाई तोकिएको छ भने उपनेतामा निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङफेलाई राखिएको छ । तुम्बाहाङ्फे मंगलबार केन्द्रीय कमिटीमा मनोनित भएकी हुन् ।

समूहका टोली नेता र उपनेताको सूची

१ः उर्मिला अर्याल र आनन्द पोखरेल (दुवै नेता)

२– कमला रोक्का नेता, उपनेता– कृष्णध्वज खड्का र कृष्ण राई

३– खिमलाल भट्टराई (नेता)

४– जगन्नाथ खतिवडा (नेता)

५– ठाकुर गैरे (नेता)

६– दीनानाथ शर्मा (नेता)

७– पूर्णाकुमारी सुवेदी (नेता) निरज आचार्य (उपनेता)

८– बिन्दा पाण्डे (नेता) (उपनेता– बलराम बास्कोटा, बलावती शर्मा)

९ भगवती चौधरी (नेता) भास्कर काफ्ले (उपनेता)

१०– नेता चयन गर्न बाँकी

११– राजेन्द्र राई (नेता)

१२– रेणु दाहाल (नेता)

१३– लेखनाथ न्यौपाने (नेता) सावित्रा भुसाल (उपनेता)

१४– राम कार्की (नेता) शिवमाया तुम्वाहाङ्फे (उपनेता)

१५– हिमाल शर्मा (नेता)

बामदेवबारे बहस

समूहगत छलफलका क्रममा बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावमाथि समेत केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका छन् । समूह ४ को छलफलमा झपट रावललगायतका नेताले एकजना व्यक्तिका लागिमात्र पद सिर्जना गर्दा बामदेवकै अपमान हुने बताएका थिए ।

माधव नेपाल पक्षधर कतिपय नेताहरुले हालको ९ सदस्यीय सचिवालयलाई १५ सदस्यीय बनाएर महिलासहितको समावेशी बनाउनुपर्ने र सबै तहका कमिटीमा बहुपदीय प्रणाली लागु गर्नुपर्ने सुझाव दिएका छन् ।

उनीहरुले एक व्यक्ति एक पदको नीति तलदेखि माथिसम्म लागु हुनुपर्ने समेत बताएका छन् ।

प्रत्येक समूहमा एमसीसी संसदबाट अनुमोदन गर्ने विषय मुख्य मुद्दा बनेको थियो । राजनीतिक प्रतिवेदनमा एमसीसीबारे कुनै कुरा उल्लेख नहुनु तर प्रधानमन्त्रीले बैठकमा यो पारित गराउने धारणा राख्नुले यसबारेमा मुख्य नेतृत्वमै विवाद रहेको सदस्यहरुले बताएका छन् ।

पोलिटब्यूरो गठनसम्बन्धी अर्को बहस

समूहगत छलफलमा उठेको अर्को विषय पोलिटब्यूरो गठनसम्बन्धी हो । यसअघि साबिक एमालेको पोलिटब्यूरो सदस्य रहेका नेताहरुले आफूहरुलाई केन्द्रीय सदस्यमा सीमित गरेर केही नेताले भने आफ्नोमात्र प्रतिष्ठा खोजेको बताएका थिए । पोलिटब्यूरो गठन हुनुपर्छ भन्नेमा अधिकांश केन्द्रीय सदस्यहरुको राय आएको छ ।

महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदनमा पोलिटब्यूरो गठनलाई पार्टी एकतापछि गर्न बाँकी कामका रुपमा राखिएको छ । पोलिटब्यूरो केन्द्रीय कमिटी बैठकमा अलग एजेण्डाका रुपमा ल्याउन माग समेत भएको छ ।

हाल नेकपामा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीको बीचमा पोलिटब्यूरो गठनको काम बाँकी छ । यही केन्द्रीय कमिटी बैठकबाट पोलिटब्यूरो कमिटी चयन हुनुपर्ने माग आफूहरुको रहेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

पार्टीमा नियमित बैठकहरु नभएको विषय सबै सदस्यहरुले उठाएका छन् । पार्टीले अब ५ महिने विशेष अभियान सञ्चालन गर्न लागेकोमा सबैले समर्थन गर्दै संस्थागत निर्णयका आधारमा चल्ने परिपाटी बसाउन माग गरेका छन् । राजनीतिक नियुक्तिहरु निश्चित मापदण्ड र पार्टीको सिफारिसमा हुनुपर्ने माग समेत उठेको छ ।

माधव नेपाल पक्षका नेताहरुले सहमतिका आधारमा निर्णय गर्ने र महाधिवेशन समेत सहमतिमै गर्ने भनिए पनि दुई अध्यक्ष मिलेपछि हुने सहमतिमाथि प्रश्न उठाएका छन् । नेपालले यसबीचमा पटक–पटक सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेका छन् ।

‘विधानमा सहमतिका आधारमा निर्णय गर्ने र महाधिवेशनमा सहमतिका आधारमा जाने भनिएको छ, तर सहमति को–को बीचमा ? कसैले नोट अफ डिसेन्ट लेख्दै जाने, कसैले सहमतिमा निर्णय गर्ने भयो । कमसेकम सचिवालयको आम सहमति होस’ केन्द्रीय सदस्य विष्णु रिजालले भने ।

सरकारका कामको समीक्षा गर्ने क्रममा विभिन्न मत आए पनि विदेश नीतिमा सन्तुलन कायम गरेको र भारतसँगको सीमा विवादबारे पहिलोपटक नेपालको सरकारले प्रष्ट अडान राखेकोमा त्यसको प्रशंसा भएको रिजालले बताए ।

एमसीसीबारे कार्यदल बनाउन सुझाव

अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवेदनमाथि १५ समूहमा भएको छलफलको निचोड एमसीसीका बारेमा पार्टीले कार्यदल बनाओस् भन्ने आएको नेताहरुले बताएका छन् ।

अमेरिकी सहयोगबारे अनावश्यक बहस गिजोलिँदा मुलुकको कूटनीतिक प्रतिष्ठामा आघात पर्ने समूहगत छलफलमा सहभागी नेताहरुको भनाइ थियो ।

विवादका बीच निर्णय गर्नुभन्दा कार्यदलबाट अध्ययन गराएर सबैको चित्त बुझाएर पारित गर्नु उपयुक्त हुने सुझाव प्रायः सबै समूहबाट आएको नेकपा नेताहरुले बताएका छन् ।

१० नम्बर समूहमा रहेका प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य महेश बस्नेतले एमसीसी पारित गर्नै हुन्न भन्ने मत कसैको नआएको बताउँदै विज्ञसमेत सम्मिलित कार्यदलमार्फत कतिपयका भ्रम निवारण गर्न उपयुक्त हुने सुझाव आएको बताए ।

त्यसैगरी १३ नम्बर समूहमा रहेका विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि कार्यदलमार्फत यो विषयलाई टुंग्याएर पारित गर्नु उपयुक्त हुने सुझाव आएको बताए ।

प्रत्येक समूहमा एमसीसी संसदबाट अनुमोदन गर्ने विषय मुख्य मुद्दा बनेको थियो । राजनीतिक प्रतिवेदनमा एमसीसीबारे कुनै कुरा उल्लेख नहुनु तर प्रधानमन्त्रीले बैठकमा यो पारित गराउने धारणा राख्नुले यसबारेमा मुख्य नेतृत्वमै विवाद रहेको सदस्यहरुले बताएका छन् ।

त्यसैले पनि कार्यदल बनाएर छोटो अवधिमा प्रश्नहरु निरुपण गर्न उपयुक्त हुने रिजालले बताए ।

‘घेर्ने’ शब्दप्रति ओली पक्ष असन्तुष्ट

एमसीसीसँगै नेकपा केन्द्रीय सदस्यहरुको समूहगत छलफलमा अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको ब्याख्या सम्बन्धमा समेत प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीनिकट नेताहरुले राजनीतिक प्रतिवेदनमा उल्लेखित इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको भन्ने शब्द अनावश्यक रहेको भन्दै नेपाल शक्तिराष्ट्रको विवादमा फस्न नहुने बताएका थिए ।

१३ नम्बरको समूहमा रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले छलफलमा भाग लिँदै अमेरिकाले चीनलाई घेर्ने रणनीति बनाउँदैछ भनेर नेकपाले प्रतिवेदनमा लेख्नु ठीक नभएको बताएका थिए । उनले चीन र अमेरिकाको सन्दर्भमा अलग–अलग चर्चा गर्नु परिपक्वता हुने सुझाव दिएका थिए ।

प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष ओलीको समेत हस्ताक्षर रहेको राजनीतिक प्रतिवेदनमा उल्लेखित इण्डो प्यासिफिक रणनीतिसम्बन्धी विश्लेषणमा ओलीनिकट नेताहरुको आपत्ति आउनुले त्यो विषय प्रचण्डको जोडबलमा आएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओली त्यसमा सहमत नभएको संकेत सरकारका प्रवक्ता समेत रहेका नेकपा नेता गोकुल बास्कोटाले विहीबारको पत्रकार सम्मेलनमै गरिसकेका छन् । बास्कोटाले कसले कसलाई घेर्न रणनीति बनायो र कसले कसलाई छेक्न अर्को रणनीति बनायो भनेर ब्याख्या गर्ने आधिकारिक ब्याख्याता नेकपा नभएको बताएका थिए ।

प्रधानमन्त्री ओली पार्टीको राजनीतिक दस्तावेजबाट अमेरिका र चीनलाई जोडेर राखिएका घेर्ने लगायतका शब्द हटाउने पक्षमा रहेको स्रोतले जनाएको छ । मुलुक सञ्चालन गरिरहेको पार्टीले कुनै पनि मित्र राष्ट्रका बारेमा कूटनीतिक मर्यादा विपरीतका शब्दहरु राख्न नमिल्ने सञ्चारमन्त्री बास्कोटाले बताए ।

नेकपाले यसअघि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद जस्ता शब्द प्रयोग गथ्र्यो । तत्कालीन एमालेले केही वर्षदेखि ती शब्दमा संंशोधन गरी ‘साम्राज्यवादी चरित्र’ मात्र भन्न थालेको थियो । पछिल्लो समय नेकपाले पनि मुलुक किटेर त्यस्ता शब्द प्रयोग गर्न छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment