+
+

चितवनमा मुद्रण ब्यवसायमा पनि कोरोनाको असर

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १४:०९

२९ फागुन, चितवन । कोरोनाको त्रासको मार छपाइ तथा मुद्रण व्यवसायमा पनि परेको व्यवसायीहरुले बताएका छन् । नयाँ वर्षअघि छपाइका लागि आउनुपर्ने कामहरु निकै कम आएको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

नयाँ वर्षको क्यालेण्डर, नयाँ डायरी, शुभकामना कार्ड, उपहार योजनाका स्क्रीमका पर्चा र ब्रुसर, विभिन्न बि्रजकोर्षका प्रचार सामाग्रीहरुको छपाइलगायतका कामको सिजनको रुपमा फागुन अन्तिमदेखि वैशाख पहिलो हप्तासम्मको समयलाई लिइन्छ ।

भरतपुरको क्वालिटी प्रेसका म्यानेजर परशुराम कंडेलले गत वर्ष फागुन २८ गतेसम्म ३३ वटा क्यालेण्डर छपाइको अर्डर आएकोमा यस वर्ष जम्मा १६ वटा मात्रै आएको बताए ।

उनका अनुसार क्यालेण्डर मात्रै नभएर अन्य छपाइको कामको अर्डरसमेत कम आएको छ । उनी भन्छन्, ‘यसपटक छाँट गतिलो छैन, सुनसान अवस्था छ ।’

चितवनमा जम्मा ८० जना यस्ता छपाइ गर्ने व्यवसायीहरु छन् । चार कलर छाप्ने ५ वटा छन् । मुद्रण उद्योग संघ चितवनका अध्यक्ष गोमानसिंह खड्काले छपाइ सम्बन्धि व्यवसायमा ४० प्रतिशतले गिरावट आएको बताए ।

उनले भने, ‘कोरोना भाइरसको त्रासले एकातिर काम त गरेको छ नै अर्कोतिर डिजिटल प्रणालीमा अभ्यस्त बन्ने क्रमसँगै व्यवसायमा सुस्तता आएको छ ।’

कोरोना त्रासकै कारण यो समयमा आउने ५७ सय टन कागज मध्ये करिब तीन हजार टन मात्रै कागज नेपाल भित्रिएको छ ।

गत वर्ष ८ लाख क्यालेन्डर छापेका क्वालिटी प्रेसका सञ्चालक एवम् मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य अर्जुन सापकोटाको यसपटक १२ लाख क्यालेन्डर छाप्ने योजना थियो । तर, अहिलेसम्म त्यस्तो अर्डर नआएकोले लक्ष्य भेट्न नसकिने देखिएको उनी बताउँछन् ।

उनले चीनबाट डेढ करोडको कागज ल्याएर गोदाम गरेका छन् । ‘धनगढीदेखि झापासम्मको अर्डरका काम हामीले गर्दै आएका छौं,’ सञ्चालक सापकोटाले भने, ‘तर यसपटक कतिपय प्रेससँग कागज नहुने, कसैसँग अर्डर नहुने अवस्था देखियो ।’

उनका अनुसार नेपालमा ९५ प्रतिशत कागज विदेशबाट आउँछ भने, ५ प्रतिशत मात्रै स्वदेशी कागजको प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?