+
+

अनि फैलन्छ कोरोना भाइरस नामक विषाक्त समाचार

अनुषा स्वाँर अनुषा स्वाँर
२०७६ चैत ११ गते १४:५५

‘भारतको पटनामा एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि…। नर्भिक अस्पतालमा कोरोना संक्रमित एकजनाको मृत्यु…। नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाइरसविरुद्ध किटनाशक औषधि छर्कने…।

माथिका लाइनहरु केही दिनयता सामाजिक सञ्जालमा सर्वाधिक भाइरल भएका शीर्षक हुन् । तथ्यमा टेकेर नआएका यी प्रचारको सार्वजानिक यातायात, कार्यलय र घर घरमा यति धेरै चर्चा भयो की जसको कारण धेरै मानिसलाई त्यस्तो घटना सत्य पो हो कि भन्ने भान पर्‍यो ।

पत्रकारिता पढेको र बुझेको म जस्ता मानिसले यो समाचार फेक हो भन्दा नपत्याउने धेरै त साथीहरु र आफन्त थिए ।

पत्रकारिता पढ्दा गुरुहरुले भन्नुहुन्थ्यो, ‘समाचार प्रकाशित हुनुअघि धेरै चरण पार हुन्छन् । एउटा रिपोर्टरले समाचार पठाउनुअघि परीक्षण, परीक्षण र परीक्षण गर्नुपर्छ । र, गरेको पनि हुन्छ।’

कहिलेकाहीँ मिडियाको विश्वसनीयतामा प्रश्न गर्दा म साथीहरुलाई गुरुहरुको यही डाइलग सुनाइदिन्थें । उनीहरु चुप हुन्थे। तर, यो पटक साथीहरुले मेरा गुरुहरुको यही डाइलग सुनाउँदै प्रश्न गरे, ‘मिडियामा आइसकेको कुरा कसरी फेक हुन्छ ?’

एक हिसाबले साथीहरुको प्रश्न ठीक थियो । उनीहरु विश्वसनीय मिडिया र सामाजिक सञ्जालको फरक बुझ्न भन्दा पनि ‘कोरोना संक्रमण फैलिइसक्यो सुरक्षित रहनु’ भनेर आफन्त र साथीहरुलाई सतर्क गराउन हतारमा थिए । सोही कारण इरान र इटालीमा फैलिएको कोरोना भाइरस भन्दा द्रुत गतिमा नेपालमा फेक समाचारको आतंक फैलियो । त्यसले मानिसमा पारेको मनोवैज्ञानिक असरको व्याख्या विश्लेषण त मनोविश्लेषकहरुले गर्लान् नै।

म कुरा गर्छु मिडिया र सामाजिक सञ्जालको फरकको ।

अहिले मिडियाभन्दा सामाजिक सञ्जालमा समाचार सामाग्रीहरु भाइरल हुँदै गएको ‘ओपन सेक्रेट’ हो । अधिकांश युवाहरुले भन्छन्, ‘मैले रुटिन अफ नेपाल बन्दमा हेरेको आज यस्तो भयो रे।’

‘मैले मेन्स रुम रिलोडेडमा पढेको आज यस्तो भयो रे।’

‘मैले वमेन्स रुम रिलोडेटमा पढेको आज अर्को घटना घट्यो रे।’

धेरैजसो युवाहरु कुनै मिडियाको नाम किटेर आज यस्तो भयो रे भन्ने भन्दा पनि सामाजिक सञ्जालको पेजमा आएको सामाग्रीको कुरा गर्छन् । त्यस्लाई विश्वास गरेर सेयर गर्छन्। त्यही आएका समाचारमा बहस गर्छन्।

सामाजिक सञ्जालमा भाइरल भएका सामाग्री कुनै न कुनै मिडियाबाट साभार भएका हुन्छ्न् । तर, बिडम्बना धेरैजसो घटनामा फेक न्यूजहरु नै भाइरल भएका उदाहरण हामीसँग छन् । यसको मतलव, यो होइन कि यस्ता पेजहरुले भ्रम फैलाउने काम मात्रै गर्छन् । तर, सत्य समाचारको भन्दा असत्य र अफवाह फैलाउने समाचारले पार्ने प्रभाव भयंकर हुने रहेछ। यो कुरा न त पेज चलाउनेहरुले बुझ्छन्, न त ती पेजलाई विश्वास गर्नेहरुले।

सामाजिक सञ्जालका पेज चलाउनेहरुलाई भन्न सजिलो पनि छ, ‘फलानो मिडियाको कपी पेस्ट गरेको।’

तर, त्यो मिडिया कस्तो हो ? केलाई आधार मानेर समाचार लेखेको छ । आधिकारिक व्यक्तिलाई कोट गरेको छ कि छैन् ? उनीहरुलाई मतलव हुन्न। समाचार लेख्नेलाई त मतलव भएन, कपी गर्नेलाई के मतलव ? कपी गर्नेले कपी गरेपछि सेयर गर्नेलाई झन के मतलब ? अनि फैलन्छ कोरोना भाइरस नामक विषाक्त समाचार । त्यसको असरको लेखाजोखा कसैले गर्दै वा गरिरहेको होला । हामी परिणामको प्रतिक्षा गर्न बाहेक अरु के गर्न सक्छौ र ?

यी त भ्रामक प्रचार र सामाजिक सञ्जाललाई विश्वास गर्दा आउने अवस्थाको कुरा भयो । हामीजस्ता मिडिया पढेका र समाचारको यथार्थ बुझ्नेहरु यस्ता सामाग्री सत्य होइन् भनेर लेख्न, बोल्न किन सक्दैनौं ? त्रास हो या आफैंमा विश्वासको कमी ? जबसम्म हामी फेक न्यूजलाई काउण्टर दिँदै फ्याक्ट न्यूज सेयर गर्दैनौं, तबसम्म त्रास फैलने डर व्यापक हुन्छ ।

त्यसैले आधिकारिक च्यानलबाट आएका समाचार मात्र सेयर गरौं। समाचार पढ्दा त्यहाँ आधिकारिक संस्था, आधिकारिक व्यक्तिलाई कोट गरेको छैन भने त्यस्ता समाचार सेयर गर्न हतार नगरौं । जस्तो कि नेपालमा संक्रमण फैलियो भन्ने आधिकारि निकाय स्वास्थ्य मन्त्रालय हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो । अहिलेसम्म टेकु बाहेक अन्य ल्याबमा कोरोना परीक्षण नहुने भएकाले अन्य अस्पतालमा कोरोना भेटियो भन्ने समाचार झुटो हुन सक्छ । त्यही भएर समाचार सेयर गर्नुअघि टेकुको ल्याबमा परीक्षण गरेको छ कि छैन भन्ने कुरामा विचार पुर्‍याउनु पर्छ ।

यी त भए सर्वसाधारणले ध्यान दिनुपर्ने कुरा । अब सरकारले के गरिरहेको छ भन्ने हेरौ।

गएका साता सामाजिक सञ्जालमा भाइरल भएको समाचार गलत हो भन्ने विषयमा कुनै सरकारी निकायले विज्ञप्ती निकाले ? अँहँ देखिएन । मैले नभेटेको पो हो कि ? ती समाचार गलत रहेछन् भन्ने कुरा मैले अर्को समाचार पढेर मात्र थाहा पाएँ । तर, आधिकारिक निकाय स्वास्थ्य मन्त्रालयको कुनै आधिकारिक धारणा सुनिनँ । बरु सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई पक्राउ गर्ने भन्ने सुनियो। पक्राउ गर्नु प्रभावकारी हो कि, यो यो कुराहरु भ्रम हुन भनेर मिडियामा ब्रिफिङ गर्नु प्रभावकारी ?

हरेक दिन स्वास्थ्य मन्त्रालयले कोही जनस्वास्थ्य विज्ञलाई राखेर यस्ता समाचारको बारेमा मिडियालाई ब्रिफिङ गर्ने हो भने धेरै समस्या हल हुन्छ । फेक र फ्याक्ट समाचारको अन्तर थाहा हुन्छ । विषाक्त समाचार नफैलिँदा जनताहरुमा कम त्रास हुन्छ ।

स्वास्थ्य मन्त्रीज्यू आजसम्म जे भयो, अब त्यसो गर्ने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?