+
+

भिडभाड बढेपछि वीरगञ्जका तरकारी बजार बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १३:५७

२५ चैत, वीरगञ्ज। वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयअगाडिको तरकारी बजार बन्द गराइएको छ । वीरगञ्जमा बिहान ७ देखि ९ बजेसम्म वडाले तोकेको स्थानमा मात्र तरकारी बजार राख्न पाइने निर्णय भएको थियो ।

वडाले स्थानीयलाई पायक पर्ने सामुदायिक तथा विद्यालयमा तरकारी बजार राख्न अनुमति दिएको थियो । तर, सामाजिक दुरी कायम गर्नेलगायतका विषय पालना नगरिएको भन्दै बन्द गराइएको छ ।

तरकारी बजार व्यवस्थित बनाउन नसकेपछि बन्द गराउने निर्णय गरिएको वीरगञ्ज महानगरपालिका–४ का अध्यक्ष जगत साह कानुले जानकारी दिए ।

‘भिड धेरै भयो, जति सिस्टम लगाए पनि मान्दैनन्, एउटै घरको तीन जना आउँछन्, भिड गरेर बस्ने भएपछि हटाउने निर्णयमा पुगेका छौं,’ वडाध्यक्ष कानुले भने ‘स‌ंकट परेको बेलामा सहज होस् भनेको तर त्यसले नै संकट ल्याउला जस्तो भयो ।’

तरकारी बजार हटाउन सुरुमा प्रहरीले आग्रह गरेको थियो । तर, त्यसको पालना नभएपछि प्रहरी आफैँ पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त सामाजिक दुरी कायम नभएकाले तरकारी बजार बन्द गरिएको बताउँछिन् ।

जनस्वास्थ्यप्रति संवेदनशील भन्दै बजार बन्द गराइए पनि यसको विकल्पबारे छलफल भइरहेको उनले जानकारी दिए ।

वीरगञ्जको सबैभन्दा ठूलो तरकारी बजार मिना बजार हो । हाल यो बन्द छ । वीपी उद्यान, मुर्ली, विर्ता, पावरहाउस क्षेत्रमा थपिने तरकारी बजार र पसल लकडाउनमा बन्द गरिएका छन् । नगरवासी दैनिक उपभोगका लागि आवश्यक वडास्तरमा खोलिएको तरकारी बजारमा पुग्ने गरेका थिए ।

तरकारी बजार व्यवस्थित गर्नेबारे छलफल गरिने वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?