Comments Add Comment

हप्तामा एक दिन खान छाड्दा के हुन्छ ?

कतिपयले महिनामा, सातामा एकपटक उपवास बस्ने गर्छन् । खासगरी धार्मिक आस्था राखेर उपवास बस्ने प्रवृत्ति छ । अहिलेका तन्नेरीहरु भने ज्यानलाई छरितो बनाउन छाक छाड्छन् । कतिपयले स्वास्थ्यमा यसले पार्ने प्रभाव बुझेरै उपवास बसिरहेका छन् । जे भएपनि उपवास एक यस्तो विज्ञान हो, जसबाट पाचन तन्त्र लाभान्वित हुन्छ ।

उपवासले पाचन तन्त्रलाई विश्राम मिल्छ । शरीरको विकार हटाएर शुद्धिकरण गर्न पनि यो विधी अपनाइन्छ । हाम्रा पूर्खाहरुले उपवासको महत्व बुझेर नै यसलाई निरन्तरता दिदै आए । विभिन्न सन्दर्भमा उपवास बस्नु फाइदाजक भनी यसको निश्चित विधी र प्रक्रिया मिलाइदिए ।

उपवास बस्नुअघि

उपवास बस्नुअघि केही कुरामा भने ख्याल राख्नुपर्छ । यदि कुनै दीर्घरोगी हुनुहुन्छ वा औषधि सेवन गरिरहनुएको छ भने चिकित्सकको परामर्श बिना उपवास बस्नु फाइदा हुँदैन । बरु त्यसको नकारात्मक असर पर्न सक्छ । त्यस्तै न्युन रक्तचाप वा शारीरिक दुर्बलताको अवस्थामा पनि उपवास उपयुक्त नहुन सक्छ ।

उपवास नै बस्ने भए

उपवास बस्ने भए हप्तामा एक दिन वा पन्ध्र दिनमा एक दिन । त्यो पनि सकिएन भने महिना दिनमा एक दिन बस्नु उपयुक्त हुन्छ । आफ्नो दैनिक कामको प्रकृति र शारीरिक अवस्थालाई पनि मध्यनजर गर्नुपर्छ । किनभने कतिपय अवस्थामा खाली पेट काम गर्न नसकिने स्थिती पनि हुनसक्छ ।

यदि सबै कुरा ठीकठाक छ भने उपवासका लागि तयार भए हुन्छ ।

कसरी तयारी ?

उपवास अघि भरपेट खाने, उपवास सकिए लगत्तै पेट चर्कनेगरी खाने प्रवृत्ति व्यापक छ । दुबै कुरा उचित हुँदैन । उपवास बस्नुअघि पनि सुपाच्य वा सजिलै पच्ने खानेकुरा खानुपर्छ । उपवासका विधी र प्रकार पनि छन् । कतिपय उपवासमा पानी समेत सेवन गरिदैन भने कतिपयमा फलफूल खाने गरिन्छ ।

कुनै ठोस पदार्थ अन्नपात, कन्दमुल, सागपात, फलफूल नखाएर तरल पदार्थ मात्र सेवन गरेर पनि उपवास बसिन्छ । यसमा आफ्नो शरीरको आवश्यक्ता र प्रकृतिलाई पनि ख्याल राख्नुपर्छ ।

उपवास बसिरहँदा मनलाई शान्त, खुसी तुल्याउने प्रयास गर्नुपर्छ । उपवासको बेला भजन–किर्तन गर्नु, मन्दिर जानु भनेर पूर्खाहरुले यसकारण पनि भनेका हुन् कि यसले मनलाई शान्त र उमंगत बनाइराख्छ ।

पाचन यन्त्रलाई विश्राम दिएर मात्र पुग्दैन, मनलाई पनि शान्त तुल्याउनुपर्छ । वेचैनी, छटपटी, औडाह, दुःख, इष्र्यालाई स्थान दिनु हुँदैन ।

उपवास लगत्तै गह्रौं खाना खानु ठीक हुन्न । सुपाच्य खानेकुरा खानुपर्छ । चिल्लो, मसलेदार, माछामासु आदि खानु उपयुक्त हुँदैन ।

के मिल्छ त लाभ ?

हामी कुनै न कुनै किसिमको पेटको रोगबाट ग्रस्त छौं । खाना खान त लोभ गर्छौं, तर पेटले सहँदैन । पेट फुलिन्छ । अपच हुन्छ । धेरै खानेकुरा खाएमा पखला लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ ।

हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन भोको बस्दा कतिपय दीर्घ रोगमा पनि लाभ मिल्छ । खासगरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन खाली पेट बस्दा मुटुको समस्यामा पनि लाभ पुग्छ । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment