गर्भावस्थाको समयमा उच्च रक्तचापको सम्भावना अन्य महिलाहरूको तुलनामा पहिले नै उच्च रक्तचापको समस्या भएका महिलाहरूमा बढी हुन्छ । तर, गर्भावस्थाकै कारण पनि उच्च रक्तचापको समस्या देखा पर्छ ।
गर्भावस्थामा देखापर्ने उच्च रक्तचापका कारणहरू मध्ये ‘प्रेग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन’ हो । गर्भावस्थाकै कारणले १० प्रतिशत गर्भवती महिलामा उच्च रक्तचापको समस्या देखा पर्छ । गर्भावस्थामा शरीरमा रक्तचाप बढाउने रसायन निस्कन्छ, जसले गर्दा रक्तचाप बढ्छ । गर्भावस्थाकै कारण देखा पर्ने उच्च रक्तचापको समस्या सुत्केरी भएको १२ हप्ता भित्र यो समस्या हराएर जान्छ ।
गर्भावस्थामा उच्च रक्तचापको समस्या हुने अन्य कारण
अन्य बेला उच्च रक्तचाप भइरहेका महिलाहरूमा गर्भावस्थामा रक्तचाप झन बढ्ने गर्छ । गर्भावस्था अगावै उच्च रक्तचापको समस्या भएको अवस्थालाई मेडिकल भाषामा ‘क्रोनिक हाइपरटेन्सन ९जीर्ण प्रकारको उच्च रक्तचाप० भन्ने गरिन्छ ।
साथै गर्भवती महिलामा मोटोपनाको समस्या छ, मधुमेहको समस्या छ भने पनि उनीहरूमा उच्च रक्तचापको समस्या देखिने सम्भावना बढी हुन्छ ।
ढिलो उमेरमा विवाह गर्ने र ढिलो उमेरमा बच्चा जन्माउने, दैनिक शारीरिक व्यायाम नगर्ने, खानपानमा ध्यान नदिने, नुन र काब्रोहाइट्रेडयुक्त खानेकुरा बढी खाने महिलाहरूमा पनि गर्भावस्थामा उच्च रक्तचाप हुने जोखिम बढी हुन्छ ।
कतिपय महिलामा वंशाणुगत कारण साथै रक्तनली तथा मिर्गौला सम्बन्धी रोगहरू भएकाहरूमा पनि उच्च रक्तचाप हुने सम्भावना हुन्छ ।
उच्च रक्तचापको समस्याले गर्भवती महिला र बच्चा दुवैलाई असर गर्छ
गर्भावस्थामा हुने उच्च रक्तचापको असर आमा तथा बच्चा दुवैमा पर्ने गर्छ । रक्तचापले प्रत्यक्ष रूपमा रक्तनलीमा असर गर्ने भएकाले शिशुले आमाको गर्भभित्र आवश्यक मात्रामा पोषकतत्वहरू पाउन सक्दैन। जसले गर्दा शिशुको वृद्धि तथा विकास आवश्यक मात्रामा हुन सक्दैन ।
रगतको नलीहरूमा चाप बढेपछि सालको माध्यमबाट शिशुमा जाने रगत प्रवाहलाई असर गर्दछ । शिशुलाई रगतको मात्रा राम्रोसँग नपुग्ने, शिशुलाई आवश्यक पर्ने पोषण तत्त्व नपुग्ने, शिशु कम तौलको निस्किने हुन्छ ।
विश्वभरको तथ्यांक केलाउने हो भने पनि अस्पताल आउने गर्भवती महिलाहरूका धेरै समस्या मध्ये र मृत्यु हुने कारण उच्च रक्तचाप हो । रक्तचाप नियन्त्रणमा भएन भने आमाहरूमा मस्तिष्काघात, हृदयाघात, मुटु फेल हुने, मिर्गौला फेल हुने समेत हुन सक्छ ।
गर्भावस्थामा उच्च रक्तचाप भए के गर्ने ?
‘प्रेग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन’ भएको हो भने सुत्केरी भएको ३ देखी ४ हप्ताबाट नै प्रेसर नर्मल हुँदै जान्छ । अधिकतरले प्रेसरको औषधि खानु पर्दैन ।
तर, डेलिभरी भएको १२ हप्ता बित्दा पनि रक्तचाप घटेन । पटक पटकको परीक्षणमा गर्भवतीको रक्तचाप माथि १४० र तल ९० भन्दा बढी भएको अवस्थामा त्यो ‘क्रोनिक हाइपरटेन्सन’ हो । पटक पटकको परीक्षणमा पनि जीर्ण प्रकारको उच्च रक्तचाप देखिएको अवस्थामा गर्भमा रहेको शिशुलाई असर नगर्ने खालको औषधिको प्रयोग गरिन्छ ।
यस्तो खालको उच्च रक्तचापका कारण हुने जोखिमलाई कम गर्नका लागि बेला बेलामा रक्तचाप नाप्नुपर्ने हुन्छ । मोटोपना बढी भएका महिलाहरूले शारीरिक तौल घटाउनुपर्ने हुन्छ ।
गर्भावस्थामा हुने उच्च रक्तचापको समस्या र अन्य स्वास्थ्य समस्याहरूबाट बच्नको लागि नियमित रूपमा स्वास्थ्य जाँच गर्नुपर्छ ।
पहिले देखि नै उच्च रक्तचापको समस्या भएका महिलाहरूले पहिले स्वास्थ्य जाँच गरेर र प्रेसर नियन्त्रणमा ल्याएर शिशुलाई हानी नगर्ने औषधि सुरु गरेर मात्र गर्भवती भए भने यसबाट हुन सक्ने जोखिम घटाउन सकिन्छ ।
सुगर, थाइराइड जस्ता हर्मोनजन्य समस्या छ भने पनि पहिले स्वास्थ्य जाँच गराएर मात्र गर्भवती हुनु उपयुक्त हुन्छ ।
नियन्त्रण गर्ने उपाय
गर्भावस्थामा हुने उच्च रक्तचापबाट बच्न तथा नियन्त्रण गर्न जीवनशैली परिवर्तन गर्नुपर्छ । दैनिक व्यायाम, योग, ध्यान गर्ने, अनावश्यक तनाव नलिने, धूम्रपान, मदिरापान नगर्ने, मोटोपना घटाउने, नुन कम खाने, धेरै गुलियो, कार्बोहाइड्रेट बढी भएको खाना तथा धेरै चिल्लो खाना कम खाने र हरियो सागपात एवं तरकारी र फलफूल प्रशस्त मात्रामा खाने गरियो भने रक्तचापबाट बच्न र नियन्त्रण गर्न सकिन्छ ।
प्रतिक्रिया 4