Comments Add Comment

छोराछोरी घिस्याउँदै पाँच दिन हिँडेर घर फर्किए मजदुर दम्पती

१० वैशाख कैलाली । एउटा पुरानो साइकलको पछाडि एउटा पोको बाँधिएको छ । पोकोमाथि दुई वर्षको बच्चालाई राखेर धकेल्दै आशिष र सुस्मिता झण्डै चार सय  किलोमिटर हिँडे ।

कैलालीको घोडाघोडी नगरपालिका-७ कृतिपुरका आशिष चौधरी बुटवलमा घर बनाउने काम गर्छन् । श्रीमती सुस्मिता पनि उनीसँगै मजदुरी गर्छिन् । उनीहरुका दुई सन्तान छन्, छोरी खुशी र छोरा सौरभ ।

लकडाउनले गर्दा आशिष र सुस्मिताको रोजिरोटी खोसियो । तीन साता पूरा भइसक्दा पनि लकडाउन नखुलेपछि उनीहरु छोराछोरी च्यापेर घर निस्किन बाध्य भए ।

८ वर्षकी छोरी र २ वर्षका छोरालाई साथमा लिएर यतिका किलोमिटर हिँड्न उनीहरुका लागि सहज पक्कै थिएन । ‘हिड्दा हिड्दै छोरीको चप्पलमा प्वाल परेको छ,’ सुश्मिताले छोरीको खुट्टा देखाउँदै भनिन् ।

२ वर्षको बालक त हिँड्न सक्ने कुरै भएन । त्यसैले उनीहरु पालैपाले बोक्थे । वैशाख २ गते बुटवलबाट हिँडेका उनीहरु ६ गते गन्तब्यमा पुगे । यो उनीहरुको लागि जीवनकै कष्टप्रद यात्रा रह्यो ।

३ हजार रूपैयाँ गोजीमा बोकेर ४ जनाको परिवार ४ दिनसम्म पैदल हिँडेका थिए । साथमा भाँडा, चामल र दाल पनि थियो । बुटबलबाट हिँड्दा आशिषले साइकल डोर्‍याए । भाँडा, चामल र दाल पोको पारेर साइकलमा बाँधे । छोरीलाई आमाले डोर्‍याइन् । छोरालाई साइकल पछाडी पोकोमाथि राखियो ।

‘सानो छोरा केही समय त रमायो, तर अलिबेरपछि रुन थाल्यो,’ आशिषले भने, ‘भाइ रोएको देखेर नानी पनि रुन थाल्थी । दुवैको रुवाइले हामीलाई झन् कमजोर बनाउँथ्यो ।’

लगातार दुई दिनसम्म हिँडेपछि उनीहहरुको गोजीको पैसा रित्तिएको थियो । खाना उनीहरु आफैं पकाएर खान्थे । ‘जति बचाउँदा पनि पैसा पुर्‍याउन सकिएन । आधि बाटौमै सकियो । त्यसपछि झन् दु:ख भयो ।’

घण्टौंसम्म चिउरा, चाउचाउ र पानीको भरमा उनीहरुले यात्रा गरे ।

‘यत्ति कष्ट सहेर किन आउनु भएको ? उतै बसेको भए हुन्थेन ?’ घर फर्किदै गर्दा हामीले उनलाई सोध्यौँ ।

‘आउँदा हामीलाई ४ दिन कष्ट भयो । उतै बसेको भए थाहा छैन कहिलेसम्म कष्ट सहनु पर्ने थियो,’ आशिषले भने, ‘काम रोकिएपछि भएको पैसा पनि सकिन थाल्यो, त्यसैले फर्किनुको विकल्प भएन ।’

सुस्मिताले खानपिनभन्दा बढि छोराछोरीको चिन्ताले बाटोभरि सताएको बताइन् ।

‘धेरै गाह्रो भयो । छोरालाई बोकेर हात त दुख्यो नै,’ उनले भनिन् ‘त्योभन्दा बेसी उनीहरुको रुवाइले मन दुख्थ्यो ।’

८ वर्षीय छोरीलाई भने उनीहरुले बोक्न परेन ।

‘छोरी विस्तारै भए पनि हिँड्थी । कुनैकुनै ठाउँमा साइकलमा बस्थी,’ उनले भनिन्, ‘हिँड्दा हिँड्दै छोरीको चप्पल च्यातिएको छ ।’

उनीहरुले जंगलमा पनि रात कटाए ।

‘हिँड्दा हिँड्दै जहाँ रात पर्थ्यो, त्यहीँ बस्थ्यौं,’ सुस्मिताले भनिन्, ‘दुई/तीनदिन त जंगलमै खायौँ, जंगलमै सुत्यौँ ।’

लामो यात्रा गरेर आएको भन्दै उनीहरुलाई घोडाघोडी नगरपालिकाले क्वारेन्टाइनमा राख्यो । बिहीबार र्‍यापिट टेष्टमा नेगेटिभ आएपछि उनीहरु घर फर्किएका छन् । हिँडेको एक सातापछि घर पुग्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment