+
+

चैते धानमा रोग देखिपछि चितवनका किसान चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते ११:३५

१० जेठ, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा हर्दिनाथ जातको धानमा ‘पेनिकल ब्लाइट’ नामक रोगको संक्रमण देखिएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यका अनुसार नगरको वडा नम्वर ६ र ७ मा यो रोगले चैत धान बालीमा क्षति पुर्याएको छ । नगरकै वडा नं. १३ को केही स्थानमा पनि रोग देखिएको छ ।

प्राविधिक सहायक आचार्यले खैरहनी–७ मा झन्डै एक सय विगाहामा पेनिकल ब्लाइटको समस्या देखिएको बताए । धानको बालामा कालो देखिने, दूध नपस्ने समस्यालाई विज्ञहरुले ‘पेनिकल ब्लाइट’ भनेका छन् । दूध पसेका धानमा पनि २० प्रतिशत मात्र उत्पादन हुने उनीहरुको भनाइ छ ।

चितवनमा ८ हजार हेक्टरमा चैते धान खेती लगाइने गरेकोमा पूर्वी चितवनमा मात्रै ५ हजार हेक्टरमा चैते धान लगाइन्छ । अहिले चैते धान झुल्ने बेला हो । विशेष गरी हर्दिनाथ १ र विजि १४४२ जातका धानमा डढुवा र ‘नेक ब्लाष्ट’ रोग देखा परेको किसानहरु बताउँछन् ।

चितवनको खैरहनीमा मात्रै १ हजार ६ सय ६५ हेक्टरमा चैते धान लगाउने गरिएको छ । खैरहनी–६ का किसान कृष्ण धरेलले २९ कठ्ठा जग्गामा चैते धान लगाएका छन् । उनको सबैजसो धानमा यस्तै रोग देखिएको छ । ‘निस्किएको धानमा कालो धब्बा लागेर पोकटा बन्दै गएको छ,’ किसान धरेलले भने, ‘करिव एक साताको बीचमा धानमा त्यस्तो रोग देखिएको हो ।’

धानमा रोगको प्रकोप देखिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिना, कृषि तथा वन विज्ञान क्याम्पस रामपुरका सहप्राध्यापक सन्तोष मरहठ्ठा, धान जोन सञ्चालक समिति अध्यक्ष तेजप्रसाद बर्तौला, परियोजनाका कृषि अधिकृत माधव पौडेल लगायतको टोलीले शुक्रवार निरीक्षण गरेको छ । निरीक्षण पश्चात परियोजनाका प्रमुख तिमल्सिनाले पोटिलो, स्वस्थ बीउ नलगाउँदा र धानमा अनावश्यक रूपमा विषको प्रयोग गर्दा यस्तो समस्या देखिने बताए ।

खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले चैतमा लगाउने धानको बीउ परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए । सधंै एकै किसिमको बीउ लगाउँदा रोगको आक्रमण हुने भन्दै मेयर चौधरीले बीउ परिवर्तन गर्नु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?