Comments Add Comment

कोरोनाले अनौपचारिक श्रम क्षेत्रमा ल्याउने संकट

मानव समाजले विश्वमा अहिलेसम्म भोगेका जुनसुकै महामारीलाई फर्केर हेर्ने हो भने यसले गरिब, विपन्न र न्यून आय भएका श्रमिकहरुको जिविकोपार्जनमा सबैभन्दा धेरै असर गरेको पाईन्छ । अहिले कोभिड–१९ को कारण गर्नुपरेको लकडाउनले बिश्वभर करिब १ अरब ६० करोड अनौपचारिक श्रमिकहरुलाई प्रत्यक्ष रुपमा असर पारिरहेको छ । अन्तराष्ट्रिय श्रम संगठनले (आइएलओ) प्रक्षेपण गरेको आंकडा अनुसार अबको ६ महिनामा यस महामारीले बिश्वका करिब १९ करोड नागरिकले रोजगारी गुमाउने छन् । जसको ठूलो हिस्सा अनौपचारिक श्रमिकको हुनेछ । यस महामारीले नेपालमा पनि करिब २० लाख नागरिकको रोजगारी संकटमा पर्ने अनुमान छ ।

श्रमशक्ति सर्वेक्षण ०७४/७५ अनुसार नेपालमा २ करोड ७ लाख ४४ हजार काम गर्न सक्ने उमेर (१५ देखि ५९ वर्ष ) समूहको जनसंख्या छ । तर ७९ लाख ९४ हजार व्यक्तिमात्र श्रम गरिरहेका छन् । सर्वेक्षण अनुसार औपचारिक क्षेत्रमा १५.४ प्रतिशत र अनौपचारिक क्षेत्रमा ८४.६ प्रतिशत श्रमिक छन् । औपचारिक आर्थिक क्षेत्रमा (खाद्य, गार्मेन्ट, औषधि, पर्यटन, होटल, बैंकिङ) काम गर्ने श्रमिकहरु नेपालमा कति संख्यामा अनौपचारिक श्रमिककै रुपमा काम गरिरहेका छन् भन्ने स्पष्ट आँकडा छैन । औपचारिक आर्थिक क्षेत्रले यस्ता श्रमिकहरुलाई अनौपचारिक श्रमिककै रुपमा ज्यालदारी काममा लगाइरहेको अवस्था छ ।

अनौपचारिक श्रम क्षेत्र उत्पादनको कुल श्रम आंकडामा आउन सकेको देखिदैन । यस्ता श्रमिकको प्राय कुनै निकायबाट नियमन र अनुगमन भएको पनि हुँदैन । अन्तराष्ट्रिय स्तरमा आइएलओ तथा घरेलु तहमा श्रमिक संगठनहरुको पहलमा अनौपचारिक श्रमिकहरुलाई औपचारिक आर्थिक क्षेत्रमा समाहित गर्ने प्रयासहरु भईरहेका छन् । तर पनि ठूलो आर्थिक क्षेत्र यस दायरामा आउन बाँकि नै छ । नेपाल जस्तो विकासोन्मूख देशहरु प्राय यस्तो अवस्थाबाट गुज्रिरहेका छन् । अहिले लकडाउनको समयमा करिब ९० प्रतिशत यस्ता श्रमिकहरुको काम रोकिएको छ । यसरी रोजगारी गुमाउने अधिकांश यिनै अनौपचारिक श्रमिक हुन् । सानो संख्यामा रोजगारीमै रहेका श्रमिकहरु भने अझ बढी जोखिम बहन गरी श्रम गर्न बाध्य छन् । उनीहरु प्रायजसो मालसामान ढुवानीकर्ता र अस्पताल तथा सार्वजनिक क्षेत्रमा सरसफाईकर्मीको रुपमा संलग्न छन् ।

नेपालमा अनौपचारिक श्रमको ठूलोे हिस्सा निर्माण क्षेत्रले ओगटेको छ । अहिले लकडाउनमा केहि हाइड्रोपावर बाहेक सबै जसो यस्ता निर्माण क्षेत्र बन्द छन् । यातायात क्षेत्रका श्रमिकहरुको अवस्था पनि उस्तै छ । अर्को ठूलो हिस्सा कृषि श्रमिकहरु हुन् । लकडाउनले गर्दा कृषि उत्पादनको आपुर्ति प्रणाली कमजोर भएको छ । कृषि उत्पादनको बजारिकरणको समस्या केहि समय अझै लम्बिने देखिन्छ । यस्तो अवस्थामा कृषि उत्पादनले न्यून मुल्य पाउने अवस्था सृजना हुने भएकोले कृषि श्रमिकहरु थप शोषणमा पर्न सक्दछन् । तै पनि स्वदेश तथा बिदेशमा रहेर अन्य क्षेत्रमा काम गर्ने अधिकांश औपचारिक श्रमिकहरु रोजगारी गुमेपछि जिबिकोपार्जनको लागि कृषि श्रमिककै रुपमा फर्किनेछन् ।

बन्दना अर्याल

शहरी क्षेत्रमा सुत्केरी र बालबालिका स्याहार्ने, वृद्घ–वृद्घा हेरचाह गर्ने, घर सफा गर्ने, लुगा धुने जस्ता घरेलु श्रममा संलग्न महिला श्रमिकको संख्या धेरै छ । अधिकांश यस्ता श्रमिक अहिले काम विहिन छन् । स्वरोजगारमा रहेर सेवा दिने अभिप्रायले सञ्चालन गरिएका व्यूटिपार्लर, कपाल काट्ने, तथा किराना पसल जस्ता व्यवसाय पनि ग्राहकको अभावले सञ्चालनमा छैनन् । उपभोक्ताहरुलाई सुरक्षाको प्रत्याभूति दिन नसकिएसम्म यस्ता व्यवसायमा काम गर्ने श्रमिकको दैनिक आम्दानी गुम्ने छ । अर्को पर्यटन तथा होटेल व्यवसायमा काम गर्ने श्रमिकहरुको कामको अन्योल अझै लामो समय सम्म रहनेछ । पर्यटन व्यवसाय विदेशी तथा स्वदेशी पर्यटकहरुको आवागमनसंग जोडिएको छ । तर विश्व आर्थिक मन्दीको कारण बाहृ तथा आन्तरिक पर्यटकको संख्यामा भारि गिरावट आउने प्रक्षेपण गरिएको छ ।

यी सबै प्रकारका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको श्रम बजारमा संकुचन आउनु भनेको भनेको आम्दानी गुमाउनु हो । त्यसैले यस्ता श्रमिकहरु दोहोरो जोखिममा पर्नेछन् । पहिलो त दैनिक रोजगारी विना उनीहरु भोकमरीको चपेटामा धकेलिने छन् भने दोस्रो लकडाउनमा जो श्रमिकहरु कार्यरत छन् उनीहरु कोरोनाको उच्च जोखिममा पर्नेछन् । त्यसैले अब कोरोनाको उचित व्यवस्थापन गर्दै आर्थिक कार्य अगाडि बढाउनुको विकल्प छैन । यसो गर्दा श्रमिकहरुको रोजगारी ग्यारेन्टी र श्रम क्षेत्रको सुरक्षामा मदत पुग्दछ ।

अबको केहि महिना वस्तु तथा सेवा खरिद बिक्रीको शैलीमा परिवर्तन आउनेछ । साना तथा मझौला उद्योगहरु सकेसम्म कम श्रमिक राखी अन्य प्रविधिको प्रयोग गरी उत्पादन गर्ने तर्फ उन्मुख हुनेछन् । भर्खरै गरिएको प्राईस वाटर हाउसको अध्ययनले आगामी दिनमा सूचना प्रविधि क्षेत्रमा बढी रोजगारी सृजना हुने प्रक्षेपण गरेको छ । यसको अर्थ अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पुन रोजगारीको सम्भावनामा झनै संकुचन आउने खतरा छ । त्यसैले राज्यले भावी रोजगार क्षेत्रको पहिचान गरी सोको आधारमा श्रमिकको सीप विकास गर्नु अपरिहार्य छ ।

उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकलाई आवास तथा अन्य सुविधा उपलब्ध गराउनु जोखिम कम गर्ने उपाय हो । हेल्थ डेस्क तथा कोरोना बीमा उपलब्ध गराई श्रमिकहरुलाई पुन काममा लगाउनु आर्थिक क्षेत्र तहसनहस हुनवाट जोगाउने एक उपाय हो । श्रमिकहरुलाई व्यक्तिगत सुरक्षा सामग्रीको सहज रुपमा उपलब्ध गराई श्रम बजारलाई पुन गति दिनु पर्दछ ।

श्रमिकहरुलाई आइपर्ने संकट कम गर्न राष्ट्रिय स्तरबाट उपयुक्त निति तथा बिशिष्ट सामाजिक सुरक्षाको योजना लागु गर्नुपर्दछ । यस्ता योजनाहरुमा रोजगारदाता तथा स्वरोजगार व्यवसायीलाई बैंक तथा बित्तिय संस्थाको सहकार्यमा सस्तो व्याजको ऋण उपलब्ध गराउने देखि छोटो समयको लागि नगद अनुदान व्यवस्था गर्न सकिन्छ । कर छुट र व्याज छुट जस्ता सहुलियतका कार्य गर्न सकिन्छ । उद्योगलाई पूर्नउत्थानको लागि बिशेष कार्यक्रम सहित बित्तिय सहयोग गर्नु पर्दछ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखि उत्पादन तथा बजारीकरणलाई थप सहयोग गर्नुपर्नेछ । कृषि तथा गैहृ कृषि उत्पादनको सुरक्षित बजारीकरणको लागि उत्पादित सामाग्रीको प्याकेजीङ तथा वितरण प्रक्रियालाई सुरक्षित पार्ने कार्यमा बढी ध्यान दिनुपर्नेछ । यसको लागि आवश्यक सीप र प्रविधि हस्तान्तरणमा लगानी बढाउनु पर्दछ ।

कोभिड–१९ संग सामना गर्दा आईपर्ने कठिन अवस्थालाई सम्बोधन गर्न राज्यको नेतृत्वमा रोजगारदाता र श्रमिक संगठनहरु बिचको सामाजिक संवाद महत्वपूर्ण छ । यस संवादले सबै सरोकारवालालाई आ–आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी बोध हुुन्छ । जुन कार्यले श्रमिकहरुको आत्माबल बृद्घि भई यस महामारीमा उनीहरुको आर्थिक तथा व्यावसायीक क्षेत्र संरक्षण गर्न मद्दत पुग्दछ । यस्ता कार्यले अनौपचारिक श्रमिकहरु औपचारिक श्रमिको दायरामा आउन मदत समेत गर्नेछ नै आउन सक्ने कुनैपनि महामारीसंग मुकाविला गरी श्रम बजारलाई राख्न योजनाबद्घ चरणको शुरुवात गर्न ढिला गर्नु हुँदैन । अन्यथा यो महँगो लकडाउनले हाम्रो आर्थिक विकासको घडी उल्टो धकेलिनै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment