Comments Add Comment

प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले  बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । तर, बुधबार याे विषय कार्यसूचीबाट हटाइएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दलीय सहमतिलगायतका विषय थाती रहेपछि यसलाई कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेका अनुसार एक साताभित्र यो विधेयक पास गर्ने तयारीका साथ बुधबारको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयकलाई राखिएको थियो ।

एक साताभित्रै विधेयक पास गर्न नियमावली निलम्बन गर्ने लगायतका विषयमा सरकार र संसद सचिवालय एकमत थिए । तर, बुधबार बिहान एकाएक यो विषय कार्यसूचीबाट हटेको छ ।

किन हट्यो ?

संसदमा विधेयक पेश गर्नु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधेयक पारित गर्न समय माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा यो पटक नक्शा बाहेकका विषयमा संविधान संशोधन नहुने बताएका थिए ।

कांग्रेस सभापतिसमेत त्यसमा सकारात्मक भएको तर, केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्छौं भनेर समय मागेपछि बुधबारको कार्यसूचीबाट हटेको जनाइएको छ । उता, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले आफूहरुले उठाउँदै आएको संविधान संशोधनको विषयलाई समेत समेटेर जानुपर्ने बताएको थियो ।

‘नक्शा जारी भइसकेको अवस्थामा हतारमा संविधान संशोधन गरिहाल्न आवश्यक छैन् । सबैको कुरा सुनेर सर्वसम्मतिमा यो विषयलाई हल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । हाम्रो कुरा यो बेला नसमेटिए कहिले समेटिन्छ ?’ समाजवादीका नेता उमाशंकर अरगरियाले अनलाइनखबरसँग भने ।

अर्को कारण– नियमावली निलम्बन

फास्ट ट्र्याकबाट संविधान संशोधन गर्न प्रतिनिधिसभा नियमावलीका केही नियम निलम्बन गर्नुपर्ने हुन्छ ।

यो विषयमा सभामुख अग्निप्रसाद सापकोटाले दलहरूसँग परामर्श जारी राखेका थिए । तर, प्रमुख विपक्षी कांग्रेस, राजपा र समाजवादी पार्टीले त्यसमा सहमति जनाइरहेको थिएन ।

नियमावली निलम्बनमा विपक्षी दलहरुले साथ नदिएको कारणसमेत बुधबारको कार्यसूचीबाट संविधान संशोधनको विषय हटेको जनाइएको छ ।

अब कहिले पेश हुन्छ ?

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार दलीय सहमति जुटेपछि संविधान संशोधनको विषय कार्यसूचीमा पर्छ र नियम निलम्बन गरेर फास्ट ट्र्यामै पारित हुन्छ ।
त्यो कहिले भन्ने टुङ्गो छैन ।

कांग्रेसले पनि केन्द्रीय समितिबाट संविधान संशोधनको विषयमा संस्थागत निर्णय गर्ने भनेको छ ।

तर, कांग्रेसको केन्द्रीय समितिको बैठकको मिति तय भएको छैन् ।

बिहीबार बजेट पेश हुन्छ । बिहीबार यो विधेयक अगाडि बढाउने कुरै भएन ।

अर्को बैठक यही जेठ १७ गतेलाई राख्ने संसद सचिवालयको क्यालेन्डरमा उल्लेख छ । जेठ १७ गतेसम्म केही निकास निस्कनेमा विश्वस्त रहेको संसद सचिवालयले जनाएको छ ।

लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको सरकारले त्यसअनुसार निशान छाप संशोधन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

दर्ता विधेयकमा नयाँ नक्शालाई संवैधानिक मान्यता दिने विषय मात्रै उल्लेख छ ।

कतिपयले विधेयकमा उल्लेखित दफा वा अनुसूचीमा मात्रै संशोधन गर्न सकिने, दर्ता विधेयकलाई आधार मानेर अन्य दफा चलाउन नसकिने तर्कसमेत गरेका छन् ।
तर, दलहरु यसमा छलफलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment