Comments Add Comment

जर्ज फ्लोयडलाई कोरोना भाइरसको संक्रमण पनि भएको थियो

२२ जेठ, काठमाडौं । प्रहरी नियन्त्रणमा आफ्नो ज्यान गुमाएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई कोरोना भाइरसको संक्रमण पनि भएको खुेलेको छ ।

गत अप्रिल ३ मा फ्लोयडलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको एक प्रतिवेदनले देखाएको छ । फ्लोयडको २० पानाको पोस्टमार्टम प्रतिवेदनमा यस्तो पाइएको हो । प्रतिवेदनअनुसार मे २६ मा लिइएको स्वाबको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो ।

उक्त प्रतिवेदनमा कोरोना भाइरस वा अन्य कुनै भाइरसका जेनेटिक कोड मानिसको शरीरमा केही सातासम्म रहन सक्ने उल्लेख छ । यस्तो अवस्थामा मृत्युको समयमा फ्लोयडमा कोरोना भाइरसको कुनै लक्षण नदेखिए पनि उनी अझै पनि संक्रमित रहेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

न्युयोर्क सिटीका पूर्वमेडिकल परीक्षक माइकल बाइडेनले जर्ज फ्लोयडको परिवारको अनुरोधमा यो गैरसरकारी पोस्टमार्टम प्रतिवेदन तयार गरेका थिए । यसअघि उनी संक्रमित रहेको विषयमा भने अधिकारीलाई सूचना दिइएको थिएन ।

कोरोना भाइरसबाट संक्रमित भइसकेका व्यक्तिको पोस्टमार्टम गर्ने मानिसलाई पनि यस विषयमा जानकारी दिइनु जरुरी हुने बाइडेनको भनाइ छ । यस्तोमा उनीहरुले कोरोना भाइरसबाट बच्नका लागि थप सावधानी अपनाउने मौका पाउने थिए ।

स्रोत  : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment