
२३ जेठ, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई शुक्रबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको हो ’श्रेष्ठले भने ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ। हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौं ।’
अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका-१ का २० र २७ वर्षीय पुरुष, वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो।
उनीहरू भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । सूचना अधिकारी श्रेष्ठले चिकित्सकको सल्लाहमा उनीहरूलाई डिस्चार्ज गरेको बताए।
सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने उनीहरू सबैको एक पटक पीसीआर विधिबाट परीक्षण गरेको र त्यसपछि नगरेको बताए ।
‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार उनीहरूलाई हामीले डिस्चार्ज गरेका हौं’ उनले भने ‘उनीहरूको स्वास्थ्य अवस्था पनि अहिले राम्रै छ ।’
पहिलो पटकमा पीसीआर पोजेटिभ आएका ती ६ जनाको दोस्रो पटक परीक्षण नगरी अस्पतालले डिस्चार्ज गरेको हो। चिकित्सकहरूले उनीहरूलाई अझै दुई सातासम्म घरमा सुरक्षित ढंगबाट बस्न सुझाव दिएर डिस्चार्ज गरेको बताएका छन् ।
शुक्रबार दिउँसो २ बजे डिस्चार्ज भएका उनीहरू साँझ अबेरसम्म धनगढीमै अलपत्र अवस्थामा छन् ।
प्रतिक्रिया 4