Comments Add Comment

लकडाउनमा टल्किएका सडकमा फेरि रातो झण्डा !

१५ असार, काठमाडौं । लकडाउन अवधिभरि काठमाडौंका चिल्ला र खाली सडकहरूको फोटो सामाजिक सञ्जालमा भाइरल बने । नबनुन् पनि किन ? यो वर्षको हिउँदमा नै गत वर्षहरूको भन्दा छिटो गतिमा सडक मर्मतको काम भयो । त्यसैले मंसिरसम्म भौतिक पूर्वाधार मन्त्री बनेका वसन्त नेम्वाङ र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा एकाएक चर्चामा आए ।

असार १ बाट लकडाउन खुकुलो भयो । जोरबिजोरका आधारमा काठमाडौंमा सडकमा सवारी चल्दैछन् । विगतको तुलनामा दैनिक आधाजति सवारी सडकमा निस्कन्छन् । तर सवारीको चाप उच्च नहुँदै सडकमा खाल्डा पर्न थालिसकेको छ।

गत फागुनमा मर्मत गरिएको हो, सोह्रखुट्टे-बालाजु सडकखण्ड । सडक विभागका महानिर्देशक केशवकुमार शर्मा यो खण्डमा ठाउँ-ठाउँमा भ्वाङ पर्न थालेको बताउँछन् ।

शर्मा पानीको पाइपको ‘लिकेज’ नियन्त्रण गर्न नसकेको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई यसको दोष दिन्छन्, ठेकेदार र विभागको तर्फबाट कुनै त्रुटि नभएको ठोकुवा पनि गर्छन् । वर्षा सकिँदासम्म यो सडकले पुरानै अवस्थामा फर्किने डर विभागलाई नै छ ।

काठमाडौंका सडकमा वर्षा लागेसँगै खाल्डा पर्ने समस्या देखिन्छन् । यसै वर्ष आवधिक मर्मत गरिएका ५० किलोमिटरभन्दा बढी सडक खण्डहरूमध्ये केहीमा त अहिले नै खाल्डाहरू पर्न थालिसके । भदौसम्म यी सडकमा फेरि विगतकै कथा दोहोरिने चिन्ता विभागका अधिकारीहरूलाई छ ।

सरकारले नागरिकलाई खाल्डोबाट जोगाउन भन्दै पेट्रोल/डिजेलमा प्रतिलिटर १५ रुपैयाँ पूर्वाधार कर असुलिरहेको छ । तर सडक आवागमन भने खाल्डाहरूकै कारण असहज बनेको छ

दुई/चार महिना पनि सडकको ‘अस्फाल्ट पिच’ नटिक्नुको कारणबारे सबैका आ-आफ्नै तर्क हुन्छन् । ठेकेदारहरू सरकारले आयात गर्न अनुमति दिएको कमजोर कार्यक्षमताको इरानी बिटुमिनलाई दोष दिएर पन्छिन्छन् । सडक विभागका अधिकारीहरु ढल र खानेपानीका अन्य अड्डामाथि दोष खन्याउँछन् । अझ सडक विभागले नहेर्ने सडकको कन्तबिजोक देखाएर आफूहरूलाई गाली गर्ने गरिएको गुनासो उनीहरूको छ ।

राजमार्गदेखि सहरी सडकसम्म खाल्डा

प्राविधिक रूपमा वर्षामा सवारी चाप पर्नेबित्तिकै साना–साना खाल्डो केही दिनमै ठूलो बन्छन् । जसमा कारण घाम चर्को लगेपछि धुलो उड्ने र पानी पर्नासाथ हिलो हुने समस्या व्याप्त हुन्छ।

अहिले काठमाडौंमा सहरी सडक मात्र हैन, राजमार्गहरूमा पनि जोखिमयुक्त खाल्डाहरू देखिन थालेका छन् । हिउँदमा मर्मत गरिएका राजमार्गका केही खण्ड फेरि भत्किन थालेका छन् । कतिपय खण्डमा लकडाउनका कारण मर्मतको काम पनि हुन सकेको थिएन ।

पूर्व/पश्चिम राजमार्गदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डहरूमा पनि भ्वाङ पर्न सुरु गरेको छ।

सरकारले नागरिकलाई खाल्डोबाट जोगाउन भन्दै पेट्रोल/डिजेलमा प्रतिलिटर १५ रुपैयाँ पूर्वाधार कर असुलिरहेको छ । तर सडक आवागमन भने खाल्डाहरूकै कारण असहज बनेको छ।

सडकलाई चुस्त राख्न एउटा मात्रै निकाय जिम्मेवार छैनन् । काठमाडौंमा सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत वाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाहरू विभिन्न सडक मर्मतको जिम्मा लिएर बसेका निकाय हुन् ।

तर समन्वय र आपसी समझदारीसहित यस्ता निकायहरूले नागरिकको सास्ती हटाउने गरी काम गर्न नसक्दा सडकमा सवारी चलाउनै मुस्किल हुने अवस्था आउन थालेको छ । खाल्डो बढेपछि सवारी साधन चलाउनेहरू सबैभन्दा भन्दा बढी पीडित छन्। अहिले राजधानीका विभिन्न खण्डमा खाल्डा धेरै परेपछि स्थानीयले ब्रेकर सवारी बचाउन रातो झण्डा गाडेर राखेका छन् । भित्री सडकमा सवारी मात्रै हैन, बटुवाहरू पनि प्रभावित भएका छन् । स्थानीय व्यापार व्यवसाय पनि चौपट छ ।

सहरमा अहिले सडक विभाग मातहत नरहेका सडकहरूमा सबैभन्दा बढी समस्या देखिन्छन् । मन्त्री वसन्त नेम्वाङले हेर्दै आएको सहरी विकास मन्त्रालय अन्तर्गतको एकीकृत वाग्मती सभ्यता विकास समितिको जिम्मामा रहेका सडक र काठमाडौं, ललितपुर महानगरपालिका, अन्य नगरपालिकाहरूले हेर्ने भित्री सहरी सडकहरूको अवस्था दयनीय छ ।

काठमाडौंमा नदी करिडोरका सडकहरूको बेहाल छ । चिल्ला सडकहरूमा पनि यस्ता सडकबाट गुड्ने सवारीले हिलो लगेर थुपार्दैछन् । काठमाडौंमा बौद्ध–जोरपाटी–साँखु खण्ड सबैभन्दा खराब हालतमा छ । विभिन्न टोलभित्रका अधिकांश कालोपत्रे सडकको अवस्था पनि उस्तै छ ।

काठमाडौंका विभिन्न नाका जोड्ने सडक बिजोक अवस्थामा छन् । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सीतापाइलालगायतका नाकाका सडकहरूको अवस्था दयनीय छ ।

मुख्य सडकहरूको अवस्था विगतका वर्षहरूमा भन्दा केही राम्रो दैनिक रुपमा खाल्डा पर्ने क्रम बढ्दैछ । काठमाडौंको पुतलीसडक र चावहिल–गौशालालगायतका क्षेत्रका सडकमा पनि सडक मर्मतका काम चलिरहेको छ ।

विभिन्न क्षेत्रमा ढल फुटेर सडकमा नाला बग्न थालेको छ। रिङरोडलगायतका मेलम्चीले पाइप बिछ्याउन खनेका राजधानीका धेरै सडक क्षेत्रहरू अहिले पनि धराप जस्तै बनेका छन् ।

खनेर पिच नगरी छाडिएका सडकहरूको अवस्था सुधार्न आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पनि चासो देखाएको छैन । नेपाल विद्युत प्राधिकरणले तार बिछ्याउन थालेकाले सडकहरू काट्ने काम यत्रतत्र भइरहेको छ ।

सडकलाई चुस्त अवस्थामा नराख्दा सवारी दुर्घटना बढ्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । महाशाखाका एक प्रहरी अधिकृत सडकमा खाल्डा बढ्दै गर्दा दुर्घटनाको जोखिम बढ्दै जाने भएकाले समयमै खाल्डा पुर्ने काममा तीव्रता दिनुपर्ने बताउँछन् ।

गत वर्षहरूमा जस्तो यो वर्ष खाल्डाकै समस्या नदेखिएको भन्दै ती अधिकारीले लकडाउन खुलेर चाप दोब्बर हुनासाथ सडक पुरानै अवस्थामा पुग्नसक्ने बताए ।

विभाग भन्छ– गाह्रो भयो

सडकमा ढल र खानेपानीको पाइपबाट हुने चुहावटका कारण खाल्डा पर्ने समस्या आउने गरेको सडक विभागको तर्क छ । पिच सडकको मुख्य शत्रु पानी भएको भन्दै विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मत गरेको सडकमा पानीको लिकेजले ठूलो समस्या ल्याएको दाबी गर्छन्।

‘हामीले हिउँदमा केयुकेएललाई सोध्दा सबै ठिक छ भन्नुहुन्छ, पिच गरेपछि वर्षामा सडकमा ठाउँ–ठाउँबाट पानी रसाउँछ,’ उनी भन्छन्, ‘सोध्दा पानीको प्रवाह बढेर लिक भयो भनेर जवाफ आउँछ ।’

तर पनि गत वर्षहरूमा जस्तो सडकमा धेरै खाल्डा नदेखिएको उनको दाबी छ । विभागले परेका खाल्डा घाम लागेर सडक ओभाउनासाथ पुर्ने योजना बनाएको छ । वर्षा हटेर अवस्था सामान्य भएपछि समस्या भएका सडकलाई चुस्त बनाउन काम गरिने महानिर्देशक शर्माले बताए ।

काठमाडौं महानगरपालिकाका अधिकारीहरू पनि वर्षाभरि कालोपत्रेको काम गर्न नसकिने बताउँछन् ।

फोटो/भिडियो : चन्द्र आले/शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment