+
+
संस्मरण :

गिनिजबुकमा राष्ट्रकविको स्वर रेकर्ड गर्दा

निपेश ढाका निपेश ढाका
२०७७ भदौ ४ गते २०:२२

सष्ट्रा त्यो हो, जसले राष्ट्रको कला, संस्कृति र सभ्यताको भविष्यभित्र आफ्नो पनि भविष्य देखेको हुन्छ । ऊ राष्ट्रको अमूल्य निधि हो । ऊ अमर रहन्छ । उसका सिर्जनामा राष्ट्रको भूगोल, सभ्यता र संस्कृतिलाई एक ढिक्का बनाउने शक्ति निहीत हुन्छ ।

हो, त्यही एक शताब्दी कालखण्ड समय नेपालको अखण्डता, अभिभावकत्व बनेर सम्पूर्ण नेपालीलाई एक ढिक्का बनाउन अतुलनीय योगदान दिनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे थिए । जीवनको आरोह–अवरोह, पारिवारिक वियोगान्तमा विचलित नभइकन नेपाली साहित्य सिर्जनामा अतुलनीय योगदान दिनुभएका कविवर राष्ट्रकवि माधव घिमिरेको दुःखद निधनले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ ।

विक्रम संबत १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिनु भएका राष्ट्रकवि ८ बर्षको उमेरदेखि कविता लेख्न शुरु गर्नु भएको थियो । १४ बर्षको उमेरमा गोरखापत्र पत्रिकामा ज्ञानपुष्प लेखबाट शुरु गर्नुभएका राष्ट्रकविले वनारसमा अध्ययनपछि केही बर्ष गोरखापत्रको सह सम्पादक र सम्पादकको जिम्मेबारी पनि वहन गर्नु भएको थियो ।

रामविलास खण्डकाव्य १९९५ बाट शुरु गर्नुभएका राष्ट्रकविका गौरी (२०१५), पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्र निर्माता (२०२८), धर्तीमाता (२०३०) जस्ता काव्य संग्रहहरु, मालतिमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरु राष्ट्रकविका उत्कृष्ठ कृतिहरु हुन् ।

आफ्नी श्रीमतीको असमयामिक निधनबाट वियोगान्तमा लेखिएका गौरी खण्डकाव्य उहाँको चर्चित कृति हो । विसं. २०६० सालमा राष्ट्रकविबाट अभिनन्दन हुनुभएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारको रुपमा चिनिनुहुन्छ ।

गाउँछ गीत नेपाली, आजै र राति के देखें सपना, लाग्दछ मलाई रमाइलो, सारङी त रेटेपनि, कति राम्रो अलिअलि ढल्किएको माया जस्ता कैयौं अमर गीतहरु कोर्नुभएको छ ।

त्यस्तै नेपाली हामी रहांैला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे जस्ता दर्जनौं राष्ट्र भावले ओतप्रोत गीतहरुको रचना गर्नुभएको छ राष्ट्रकविले नेपालीहरुलाई एउटै मालामा बाँध्ने युग पुरुष हुनुहुन्छ ।

राष्ट्रकविसँग मेरो पहिलो भेट २०७० साल मंसिर महिनामा उहाँकै निवासमा भएको थियो । मेरा बुवाको कृति गोरे र डल्ली खण्डकाव्यको शुभकामना शब्दका लागि बुवासँग म उहाँको निवास लैनचौरमा पुगेको थिएँ । धेरै मानिसहरुको भिड भएका कारण उहाँसँग मेरो परिचयबाहेक अरु संवाद हुन पाएन । तर, उहाँको बोल्ने अभिव्यक्ति, सरलता, मिजास शैली र सकारात्मक सोचबाट म प्रेरित भएको थिएँ ।

केही समयपछि सयौं कलाकाहरुको स्वरमा वातावरणसम्बन्धी गीत रेकडिङ गरेर विश्व कीर्तिमान राख्ने सोचमा पुगेको म उहाँलाई पनि सहभागिता कसरी गर्न सकिन्छ भन्ने योजना भयो । वातावरण सम्बन्धी जनचेतनामूलक वृहत अभियान गर्ने सोचअनुरुप सिर्जना गरिएको उक्त गीतमा उहाँबाट शुरु गर्न सके अभियानले दीर्घकालीनरुपमा स्थायित्व राख्ने आशयले म उहाँलाई पनि अभियानमा सम्मिलित गर्ने सोच बनाएँ ।

दर्जनौं कलाकारहरुले स्वर दिइसक्नुभएको उक्त गीतमा उहाँबाट कविता वाचनबाट शुरु गर्दा प्राविधिकरुपमा केही कठिनाइ हुन्छ कि भन्ने दुविधा पनि लाग्यो । तथापि उहाँको स्वर एकचोटि रेकर्ड गरेर हेर्ने ईच्छा जाग्यो ।

उहाँको घरमा म २०७२ साल असार १८ गते दिउँसो ११ बजे पुगें । उहाँ खाना खाएर एकछिन आराम गर्नुभएको रहेछ । भेट्नका लागि समय मिलाउन उहाँको छोरासँग आग्रह गरे र म उहाँको प्रतिक्षा कक्षमा बसें । करिब ४० मिनेटपछि उहाँ तल झर्नु भयो ।

विस्तारै काठको भर्याङ सिँढीमा ओर्लिएको आवाज म बसेको कक्षसम्म आइरहेको थियो । उहाँ आएपछि पाउमा ढोगें र आफ्नो अभियानका बारेमा सबै बताएँ । साथै रेकर्डिङ हुने गीतको केही अंश पनि गाएर सुनाएँ ।

उहाँ ध्यानपूर्वक कान मतिर फर्काएर सुन्नुभयो शब्द र स्वरको पनि तारिफ गर्नुभयो । आफ्नो काम र अभियानका बारेमा सबै बताएपछि मलाई ठूलो हौसला र ढाडस दिनुभयो । त्यसपछि यो अभियानमा उहाँलाई पनि मैले सम्मिलित गराउनका लागि भेट्न आएको कुरा जानकारी गराए । उहाँ आफूले पनि गीत गाउने कुरा सुन्दा अचम्म पर्नुभयो । गीतको शुरुवातमा वहाँको स्वरमा कविता वाचनबाट शुरु गर्ने योजना सुनाएँ । उहाँले म बुढोको स्वर के होला र भन्नुभयो ।

मैले हजुर सासले बोले मात्र पनि हाम्रा लागि कर्णप्रिय हुनेछ भनें । र, उहाँले वाचन गर्ने कविताको दुई हरफ लेखिएको डायरी उहाँका अगाडि राखिदिएँ र मेरै लयमा वाचन गरिदिएँ ।

जहाँ बसे तापनि मत्र्यजाति, हे धर्ती तिम्रै प्रिय काखमाथि ।

संसार यौटै घरझैं सम्हाली, बस्छौं बिराट विश्व कुटुम्ब पाली ।।

सष्ट्रालाई आफ्ना कृति आफ्ना सन्तानजस्तै प्यारा लाग्छन् । ती कृतिका हरेक अंशमा आफ्नो जीवनको भोगाइ र भविष्य देखेका हुन्छन् । जीवनका तीता–मीठा संघर्ष त्यहाँका शब्दले बल्झाइदिन्छन् । आफूले जीवनमा गर्ने कर्म र योजना आफ्ना कृतिमा व्यक्त गरिएका हुन्छन् । माथि मैले बाचन गरेका शब्द उहाँकै कृति राष्ट्रनिर्माताबाट साभार गरिएका थिए । २०२८ सालमा साझा प्रकाशनमा प्रकाशित उहाँको यो कृति उहाँलाई भेट्नुभन्दा एकहप्ता अगाडि उहाँका प्रकाशित भएका सबै कृति संकलन गरेर यी हरफ उपयुक्त होला भनेर छानेकोे थिएँ ।

उहाँले मलाई बढो खुशी साथ हेर्नुभयो । एकछिन बोल्नुभएन र मलाई ढाडमा धाप दिँदै स्याबास भन्नुभयो । मेरो अभियानलाई मिल्ने शब्द हजुरकै कृतिमा पाउँदा म खुशी भएको कुरा व्यक्त गरें । उहाँले मलाई आर्शिवाद दिनुभयो ।

करिब ५० बर्ष अगाडि कोरिएका आफ्ना कृतिका हरफ वाचन गर्न उहाँ राजी हुनुभयो । यो कुराले उहाँलाई कति आनन्दको अनुभूति भयो, यो म सजिलै बुझ्न सक्थें । यो अभियानमा उहाँ जोडिनु हाम्रा लागि खुशीको कुरा थियो । तर, प्राविधिक कुरामा कस्तो हुन्छ, यो भने कौतुहल बढेको थियो ।

त्यसको पर्सिपल्ट अर्थात असार २० गते नै म्युजिक नेपाल स्टुडियो रेकडिस्ट प्रकाश खरेलसँग छलफलपछि स्वर रेकर्ड गर्ने समय मिलायौं । यो रेकडिङ विश्व कीर्तिमान गर्नका लागि रिहर्सल थियो । स्टुडियोमा जाने समय तय भएपछि उहाँबाट म विदा भएर हिडें । पर्सिपल्ट म साढे १० बजे उहाँको निवास पुग्दा उहाँ तयार भएर बस्नुभएको रहेछ ।

ट्याक्सीमा चढेर हामी म्युजिक नेपाल स्टुडियोमा गयौं र एकछिनपछि सुर र तालका बारेमा जानकारी गराएपछि उहाँले उक्त हरफ बढो उत्साह र जोसका साथ वाचन गर्नुभयो । प्राविधिकरुपमा उहाँको सुर ताल अति उत्तम भयोे । ९६ बर्षमा म पनि गायक भएँ भन्दै दंग हुनुहुन्थ्यो । देशका लागि परिवर्तनशील पृथक काम गर्नुपर्छ भन्ने उहाँको सिद्धान्त, आफ्नो र परिवारको स्वार्थका लागि मात्र हैन, सम्पूर्ण पृथ्वी चराचर जगतका लागि पनि सोच्नुपर्छ भन्नेखालका उहाँका प्रेरक अभिव्यक्तिबाट म झन् प्रभावित भएको थिएँ ।

उहाँले स्टुडियोमा एक गिलास तातोपानी र एक कप दूध चिया पिउनुभयो । सिमसिम पानी परिरहेको त्यो दिन मात्र एक घण्टा स्टुडियोको बसाइपछि लैनचौर निवासमा फर्कियौं ।

ट्याक्सीमा उहाँ अगाडि सिटमा बस्नुभएको थियो । म पछाडि थिएँ । बाटोमा ट्याक्सी ड्राइभरलाई मैले राष्ट्रकवि माधव घिमिरेलाई चिन्नुहुन्छ ? भन्दा उहाँले चिन्दिनँ भन्नुभयो । त्यसपछि गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली गीत गाएर सुनाएँ उनले यो गीत स्कुलमा धेरै गाइयो भन्नुभयो । उही सष्ट्रालाई तपाईले ट्याक्सीमा राख्नुभएको छ भन्दा उहाँ अच्चम पर्नुभएको थियो ।

राष्ट्रकविले म बुढोलाई अब कसैले पनि चिन्दैनन् भन्दै हाँस्नुभयो । केहीबेरपछि उहाँले ड्राइभरलाई तपाईका साथीलाई मेरो ट्याक्सीमा राष्ट्रकवि पनि चढ्नुभएको छ भन्नु है भनेर ठट्टा गर्नु भएको थियो ।

घरभित्र उहाँलाई पुर्‍याएँ र गोजीमा दुई हजार राखेर ढोग गरें । उहाँले पर्दैनथ्यो भन्नुभयो । तथापि मैले आज अमूल्य चिज पाएको थिएँ । मलाई गर्व लाग्यो । छाती चौडा भयो । मनमा सकारात्मक सोचको उर्जा उत्पन्न भयो । अन्तिम रेकर्डिङ हुने दिनमा भेट्ने वाचा गरी म उहाँबाट विदा भएँ ।

वातावरणसम्बन्धी सचेतना दिने उक्त अभियानमा राष्ट्रकवि माधव घिमिरेज्यूलाई पनि अटाउन सक्नु मेरा लागि जिन्दगीको सफलता रुपमा लिएको थिएँ । उहाँसँगै विभिन्न स्टुडियोमा मेरा शब्द र संगीतमा २०६ जना गायक गायिकाहरुको स्वर रेकर्डिङ भइसकेको थियो । अब हामी अन्तिम रेकर्डिङ गर्ने तयारीमा थियौं । अर्थात विश्व कीर्तिमान रच्ने ।

गीतको रेकर्डिङमा धेरै कुराको समायोजन गर्नुपर्दा समय लम्बिरहेको थियो । अन्ततः २०७३ साल जेष्ठ ६ गते रेडियो नेपालको स्टुडियो सिंहदरबारमा ३०० भन्दा बढी कलाकारहरुले रेकर्डिङ गर्ने कार्यक्रम तय भयो । व्यस्तताका कारण उहाँलाई मैले फोनबाट रेकर्डिङ हुने दिन र समयको जानकारी १० अगाडि नै गराएको थिएँ ।

सो दिन उहाँलाई रेडियो नेपाल स्टुडियोमा ल्याउने हेरचाह गर्ने जिम्मेबारी साथी माधव रेग्मीले लिनुभएको थियो । बिहान ८ बजे नै रेकडिङ हुने भनिएको उक्त कार्यक्रम समयअगावै सयौं कलाकारहरु स्टुडियोका प्राङ्गणमा भेला हुँदा कुम्भ मेलाजस्तो भएको थियो । हामी पनि व्यवस्थापनमा व्यस्त थियौं । ठीक आठ बजे लठ्ठी टेक्दै राष्ट्रकवि आइपुग्नुभयो । अब मेरो खुशीको सीमा रहेन ।

केहीबेरपछि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पनि आइपुग्नुभयो । सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा रेडियो नेपालको स्टुडियोमा पहिले औपचारिकता निभायौं । उहाँको बहिर्गमनपछि मिलानकोलीको ड्रेसमा दुई टेकमै उहाँको स्वर बाचन कैद गर्न सफल भयौं ।

धेरै साथीहरुले उहाँले वाचन गर्ने शब्द पनि आफ्नै राख्नुभएको भए हुन्थ्यो भन्ने कुरा सुझाव दिनुभएको थियो । आफ्ना शब्द राष्ट्रकविबाट वाचन गराउने आँट मभित्र आउन सकेन र सोच्न पनि सकिनँ । त्यति ठूलो गल्ती मबाट हुन सम्भव थिएन । किनकि कला, साहित्य र विज्ञानलाई मैले राम्रोसँग अनुसरण गरेको छु । यी क्षेत्रमा निःशर्त हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

त्यस्तै, २०७४ भाद्र १७ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट मिलानकोली गीती संग्रहको लोकार्पण हुँदा उहाँलाई ताम्रापत्र र दोसलाबाट सम्मानित पनि गरिएको थियो । ९७ बर्षीय राष्ट्रकवि स्वरमा रेकर्डिङ गरिएको त्यो अद्भुत क्षण र शुरुवातले लगातार १० घण्टासम्म त्यही दिनमा ३६५ जना कलाकारहरुको स्वर रेकर्ड गर्न सफल भयौं ।

मिलानकोली नाम दिइएको उक्त गीतले गिनिज बुकमा रेकर्डमा विश्व किर्तिमान राख्न सफल भएर अहिले देशभरि वातावरण सम्बन्धी जनचेतनामूलक अभियान निरन्तर चलिरहेको छ ।

२०७२ सालदेखि हरेक दशैंमा टीका थाप्न र समय मिल्नासाथ उहाँसँग आर्र्शिबाद लिन म परिवारको साथ गइरहेको थिएँ । राष्ट्रकविलाई गायकका रुपमा गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र र मेडल उहाँकै निवासमा गएर हस्तान्तरण गर्दा उहाँ धेरै खुशी हुनुभएको थियो ।

पछिल्लो केही बर्षयता उहाँ क्रृतम्भरा महाकाव्य लेखनमा व्यस्त हुनुहुन्थ्यो । अपसोच, उहाँको त्यो कृति अपूरो भयो । साहित्य इतिहासमा त्यो सुनौलो कृतिबाट हामी सम्पूर्ण नेपाली वञ्चित भयौं ।

मानिस धर्म गर्न पुण्य कमाउन कयौं टाढा पुग्ने गर्छन् ।

राष्ट्रकविको त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँको नजिक र उहाँको दर्शनले मात्र मानीमा सकारात्मक सोच र प्रेरणा जगाउँथ्यो । उहाँको समीपमा हुँदा सर्वस्व पाएको अनुभूति मलाई हुन्थ्यो । म राष्ट्रको कवि हुँ, सबैलाई उतिकै समान व्यवहार गर्नुपर्छ भन्ने उहाँको ठूलो सोच थियो । राष्ट्रको भूगोल, अखण्डतामा एक ढिक्का पार्ने सबैका प्रिय राष्ट्रकवि जस्ता युग पुरुष यो धर्तिमा कमै जन्मिन्छन् ।

उहाँले तीन करोड नेपालीलाई टुहुरो बनाएर जानुभएको छ । शब्ताब्दीसम्म अविचलित अनवरत सक्रियरुपमा लगनशील एउटा विभूतीको आज अन्त्य भएको छ ।

उहाँको भौतिक शरीर हामी नजिक नभए पनि उहाँका सिर्जना, कृतिले नेपाली साहित्य क्षेत्रलाई मार्गदर्शन अवश्य दिनेछ । नेपाली साहित्य इतिहासमा हजारौं बर्ष उहाँको नाम सुनौला अक्षरले लेखिनेछन् । विश्व महामारी कोरानाको संक्रमणमा परेको अहिलेको अवस्थामा उहाँको दाहसंस्कारमा सरिक हुन नपाउँदा हामी सबै नेपाली झन् भावविह्वल भएका छौं ।

मानिसको जीवन छोटो छ । तर, मृत्यु निश्चित छ । मुत्यु नै सत्य हो । विखण्डन हैन, राष्ट्रकविको जस्तै अविभावकत्व वहन गर्न सक्ने पाठ सबै सष्ट्राहरुले अनुसरण गर्नुपर्छ भन्ने पाठ हामीलाई सिकाएर उहाँ जानुभएको छ । आफ्नो जीवनकालमा देश र राष्ट्रका लागि योगदान दिनुपर्छ भन्ने शिक्षा उहाँबाट सबैले नेपालीहरुले मनन गर्ने शक्ति प्रदान गरुन् ।

कविवर राष्ट्रकविज्यूलाई भावपूर्ण श्रद्धाञ्जली, आत्माको चिरशान्ति कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?