+
+

पीसीआर मेसिन थपियो, तर टेष्ट गर्नेहरु बढेनन्

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ १७ गते १८:१०

१७ भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दा पनि कोरोना परीक्षण गराउन ‘चाकडी’ गर्नु परेको भन्दै विराटनगर महानगरपालिकाले जनस्तरबाट सहयोग रकम उठाएर पीसीआर मेसिन किन्यो । मेयर भीम पराजुलीले आफ्नो एक वर्षको सुविधा यसमै लगाएका छन् ।

तर जब पीसीआर मेसिन आयो, पीसीआर टेष्ट गराउनेहरुको संख्या भनेको घटेको छ । ‘हिजो कन्टयाक्ट ट्रेसिङमा परेकाहरु आफैं जाँच गराउन आउँथे, पछिल्लो समय लक्षण नदेखिएको भन्दै पीसीआर जाँच गर्न मान्दैनन्’ मेयर पराजुली भन्छन् ।

नयाँ मेसिन खरिद गर्नुअघि महानगरले विराटनगरमा दैनिक सरदर १९० स्वाब संकलन गर्दै आएको थियो । पछिल्लो समय १५० हाराहारी मात्र स्वाब संकलन हुन्छ ।

८ भदौमा महानगरले कोशी अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको थियो । त्यसबेलासम्म महानगर आफैंले ६ हजार ११० जनाको स्वाब संकलन गरेको थियो ।

१६ भदौमा यो संख्या ७ हजार ४९ पुगेको छ । पछिल्लो आठ दिनमो ९३९ जनाको नमुना संकलन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि गाउँ समाजबाट तिरस्कृत हुने डरले परीक्षण गर्न डराएका त होइनन् ?

जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की कोरोना परीक्षण घट्नुमा त्यसलाई पनि कारण मान्छन् । ‘आइसोलेसन छैन, पोजेटिभ देखिए घरमै बस्नुपर्छ । अझ डेरामा बस्नेलाई धेरै गाह्रो छ’ उनले भने, ‘बाध्यात्मक अवस्थाबाहेक लक्षण देखिए पनि तिरस्कृत हुने डरले जाँच गर्न नमान्नेहरु पनि छन् ।’

जाँच गर्न नआउँदा समुदायमा संक्रमण बढ्ने जोखिम उच्च हुने उनले बताए ।

जनस्वास्थ्यविद डा. नवराज सुब्बा पनि मानिसहरु परीक्षण गर्न डराए कोरोना भुसको आगो जस्तै फैलन सक्ने बताउँछन् । त्यसलाई रोक्न कोरोना संक्रमितलाई समाजले गर्ने व्यवहार परिवर्तन हुनुपर्ने भन्दै उनले भने, ‘कोरोना जाँच नगरी बस्दा व्यक्तिबाट परिवार हुँदै समाजमा संक्रमण फैलिनसक्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?