Comments Add Comment

चीनको नेतृत्वमा दक्षिण एसियामा ‘दि फाइभ पार्टी’को प्रस्ताव

३० कात्तिक, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन(सार्क) निष्क्रिय रहेकै समयमा चीनले कोभिड-१९, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र दीर्घकालीन विकासका एजेण्डाका विषयमा दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानसँग सहकार्य अगाडि बढाएको छ ।

चीनले यी मुलुकहरुसँग एक संयन्त्र नै निर्माण गरेर दीर्घकालीन सहकार्य अगाडि बढाउन चाहेको देखिन्छ । यही साता चीनले चार महिनाको अवधिमा दोस्रो पटक दक्षिण एसियाली मुलुकहरुसँग छलफल गरेको छ ।

चिनियाँ उपविदेशमन्त्री लुओ झाओ हुईले नेतृत्व गरेको पछिल्लो बैठक नोभेम्बर १० मा भएको थियो । नेपालसहित अन्य मुलुकका विदेश सचिवहरु सो बैठकमा सहभागी थिए ।

पछिल्लो बैठकको समन्वय श्रीलंकास्थित चिनियाँ द”तावासले गरेको थियो । सो बैठकले पाँच मुलुकहरुको सहकार्यलाई ‘दी फाइज पार्टीज’  भनेको छ । भारतको ‘परम्परागत प्रभाव क्षेत्र’  रहेको भनिएका यी मुलुकहरुसँग द्वीपक्षीय सहकार्यलाई कसिलो बनाएको चीनले अब उपक्षेत्रीय अवधारणलाई अगाडि बढाउन खोजेको देखिन्छ ।

बैठकपछि चीनले जारी गरेको विज्ञप्तिका अनुसार यो मुख्य उदेश्य कोभिड-१९ लाई पराजित गर्नु, यस क्षेत्रका जनताको स्वास्थ्य र ज्यानको प्रवर्द्धन गर्नु र त्यसपश्चातको आर्थिक र सामाजिक रिकभरीलाई तीव्रता दिनु र विकासका प्रयासलाई अगाडि बढाउनु हो । पाँच मुलुक अर्काे चरणको वैठक पनि छिट्टै गर्न सहमत भएका छन् ।

कोभिड-१९ मा सहकार्यबारे बीआरआईमा संयुक्तरुपमा सहकार्य गर्ने भन्ने सम्बन्धमा पाँच देशका बीचमा छलफल भएको थियो । नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तान चारवटै दक्षिण एसियाली मुलुकहरु बीआरआईमा सहभागी भइसकेका छन् ।

यी मुलुकहरुमध्ये बीआरआई कार्यान्वयनमा पाकिस्तान सबैभन्दा अगाडि छ । पाकिस्तानमा कार्यान्वयन भइरहेको चाइना-पाकिस्तान इकोनोमिक करिडोर(सिपेक) लाई बीआरआई अन्तर्गतको एउटा ठूलो परियोजनाका रुपमा अगाडि बढाएको छ । पाकिस्तानले दक्षिण एसियाका अन्य मुलुकहरुलाई पनि सिपेकको अनुभवबाट सिक्न र लाभ लिनका लागि समेत आग्रह गरिरहेको छ ।

त्यसबाहेक अन्य क्षेत्रीय र विश्व चासोका विषयहरुमा समेत पाँच मुलुकले छलफल गरेका छन् । बैठकपछि जारी नोटका अनुसार सबै मुलुक बहुपक्षियताको सिद्धान्तलाई अगाडी बढाउन, कोभिड-१९ विरुद्धको लडाईमा विश्व स्वास्थ्य संगठनलाई प्रभावकारी नेतृत्वदायी भूमिका खेल्न पूर्णरुपमा सहयोग गर्ने र कोभिड-१९ लाई राजनीतिकरण गर्ने प्रयसाको शशक्त विरोध गर्ने सम्बन्धमा समेत पाँचै मुलुक सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई असहयोग गरिरहेको समयमा चीनले भने सो संस्थालाई ब्याक गरिरहेको छ । सो बैठकमा कोभिड-१९ को भ्याक्सिन विकासन्मुख मुलुकहरुका लागि सहज र सजिलो उपलब्धताको विषयमा समेत छलफल गरेको थियो ।

सार्कको कोरानाको रोकथाप र नियन्त्रणका लागि सदस्य मुलुकहरुका वीचमा भूमिका खेल्न नसकेको अवस्थामा चीनले दक्षिण एसियाका चारवटा मुलुकलाई एकै ठाउँमा ल्याउन गरेको प्रयासलाई अर्थपूर्ण रुपले हेरिएको छ । यसवीचमा सार्कका केही मन्त्रीस्तरीय बैठकहरु भए पनि त्यसले खासै सकारात्मक नतिजा दिएको छैन ।

यस क्षेत्रमा कोभिड-१९ का विरुद्धमा लड्नका लागि सार्क इमरजेन्सी फण्ड स्थापनाको पहल भए पनि भारत र पाकिस्तानको तनावका कारण त्यो अगाडि बढ्न सकेन । यस अगाडि गत जुलाई महिनामा चीनले पाकिस्तान, अफगानिस्तान र नेपालसँग यस्तैखालको छलफल गरेको थियो ।

तर, यसपटक भने पाँच मुलुकको सहकार्यलाई ‘दि फाइज पार्टीज’ नै नामाकरण गरिएको छ । अन्य मुलुकहले सो सहकार्यमा जोडिन चाहेमा त्यसलाई सहकार्य गर्ने समेत पाँच मुलुकले बताएका छन् । चीनको ‘दि फाइभ पार्टीज’ अवधारणालाई दीर्घकालीनरुपमा नै अगाडि बढाउन खोजेको देखिन्छ ।

सन् २०१४ देखि सार्कको कुनै पनि सम्मेलन हुन सकेको छैन् र सार्क निष्क्रिय छ । विश्लेषकहरु भने क्षेत्रीय सहयोग संगठन सार्कले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने सक्ने वताउँछन् । सार्कले गति नलिइरहेको समयमा दक्षिण एसियामा चीनले लिएको पछिल्लो कदमलाई कूटनीतिक क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ । विश्लेषकहरुले यसलाई चीनको दक्षिण एसियामा नयाँ पहल लिन लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment