 
																			६ भदौ, काठमाडौं। भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् ।
बिहीबार नयाँ दिल्लीमा शिष्टाचार भेटका लागि पुगेकी दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के. के. अग्रवालसँग उनले सो आग्रह गरेकी हुन् ।
अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा.राणाले भनिन्, ‘जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो । त्यस्तै अरु पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन् । ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान उपायहरु सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ।’
विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यस अन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरे । उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ ।
गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका साथै विदेशमन्त्री एस.जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो ।
भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणा आज अपराह्न स्वदेश फर्कंदैछिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4