३ चैत, काठमाडौं । दक्षिण एसियाको भूराजनीतिमा अहिले एउटा भयानक मोड आएको छ । एकातिर पश्चिम एसियामा इरान र इजरायलबिचको द्वन्द्वले विश्वको ध्यान खिचिरहेको छ, अर्कातर्फ अफगानिस्तान र पाकिस्तानबिच ‘खुला युद्ध’ सुरु भएको छ ।
२२ फेब्रुअरी, २०२६ देखि सुरु भएको यो सैन्य भिडन्तले अहिले महायुद्धको रूप लिएको छ, जसमा दुवैतर्फका सयौँ नागरिक र सैनिकले ज्यान गुमाइसकेका छन् ।
पाकिस्तानी हवाई हमलाले अफगानिस्तानको काबुलदेखि कन्दहारसम्मका सहरहरू थर्किएका छन्, भने तालिबानको जवाफी कारबाहीले सीमावर्ती क्षेत्रहरू रणमैदानमा परिणत भएका छन् ।
यो केवल दुई छिमेकी बिचको सीमा विवाद मात्र होइन, बरु १०३ वर्ष पुरानो औपनिवेशिक घाउ, जातीय राष्ट्रवाद र चरम पन्थी समूहहरूको सुरक्षा चुनौतीको विस्फोटक मिश्रण हो ।
काबुल अस्पतालमा बज्रपात र मानवीय क्षति
यो युद्ध सुरु भएको झन्डै चार हप्ता पुग्न लाग्दा मानवीय संकट अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्च १६-१७ को मध्यरातमा पाकिस्तानी सेनाले काबुलको एक अस्पतालमामा ‘एयर स्ट्राइक’ गरेको छ ।
प्रारम्भिक रिपोर्टमा त्यो हमलामा ४०० जनाको मृत्यु भएको छ, जसमा बिरामी, स्वास्थ्यकर्मी र कुरुवा सामेल छन् । यो २०२६ मा एकै घटनामा भएको सबैभन्दा ठुलो नागरिक हताहतको घटना मानिएको छ ।
पाकिस्तानले त्यो अस्पतालमा तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)का कमान्डर लुकेको दाबी गरेको छ । उता अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय सहयोगी मिसन (युनामा) ले यसलाई नागरिक पूर्वाधारमाथिको अक्षम्य हमला भनेको छ ।
अन्य घटनामा हालसम्म अफगानिस्तानमा ४२ भन्दा बढी सर्वसाधारणको मृत्यु पुष्टि भइसकेको छ । पाकिस्तानले २९७ भन्दा बढी तालिबान लडाकु मारेको दाबी गरेको छ । तालिबानले ५५ भन्दा बढी पाकिस्तानी सैनिक मारेको दाबी गरेको छ ।
युद्धको समय रेखा
फेब्रुअरी २२ मा पाकिस्तानी एयर फोर्स ( पीएएफ) ले अफगानिस्तानका नंगरहार, पक्तिका र खोस्तमा मध्यरातमा हवाई हमला गरेको थियो । पाकिस्तानले आफ्नो मुख्य लक्ष्य टीटीपी र आइएसकेपी इस्लामिक स्टेट–खोरसान प्रोभिन्स (आईएसकेपी)का स्थानमा भएको दाबी गरेको थियो । यी दुवै संगठनले लामो समयदेखि पाकिस्तानमा आक्रमण गर्दै आएका छन् ।
त्यो दिनको पाकिस्तानको आक्रमणमा ११ बालबालिकासहित १८ नागरिक मारिएपछि दुवै देशबिच तनाव चुलिन पुगेको हो ।
त्यसपछि फेब्रुअरी २६ मा तालिबान सेनाले ४ घण्टा लामो जवाफी अपरेसन चलाएर १९ वटा पाकिस्तानी सीमा चौकीहरू कब्जा गरेको दाबी गर्यो । त्यसको बदलामा पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलको दारुलअमान र अर्को ठुलो सहर कन्दहार एयरपोर्टमा भारी बम बारी गर्यो ।

त्यसपछि फेब्रुअरी २७ पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले औपचारिक रूपमा ‘ओपन वार’ (खुला युद्ध) को घोषणा गरेका थिए । लगत्तै काबुल र बग्राम एयरबेस लक्षित गरी ड्रोन हमला तीव्र पारिए ।
मार्च १ देखि १२ सम्ममा युद्ध सीमामा मात्र सीमित नभई सहरहरूतर्फ सरेको थियो । त्यसपछि अफगानिस्तानकै जलालाबाद एयरपोर्ट र काबुलका इन्टेलिजेन्स मन्त्रालय क्षेत्रमा विस्फोटहरू भएका थिए । न्यूयोर्क टाइम्स र बीबीसीका स्याटेलाइट तस्वीरहरूले धेरै सैन्य साइटहरू ध्वस्त भएको पुष्टि गरेका छन् ।
तत्कालीन कारण
यो युद्ध ‘ट्रिगर’ गर्ने तत्कालीक कारण टीपीपीको उदय र पाकिस्तानमा बारम्बारको आक्रमण मानिन्छ ।
पछिल्लो समय फेब्रुअरी ६ मा पाकिस्तानको राजधानी इस्लामावाद मुटुमा रहेको शिया मस्जिदमा भएको विस्फोटमा ३६ जनाको मृत्यु भएको थियो । त्यो हमला टीपीपीले गरेको दाबी गरिएको छ ।
त्यो हमलाले पाकिस्तानी सुरक्षा एजेन्सीहरूलाई ठुलो धक्का दिएका थियो । यस हमलाले चरम पन्थी शक्ति अब सीमा क्षेत्रमा मात्र सीमित नभई सिधै पाकिस्तानको सत्ताको केन्द्रमा प्रहार गर्न सक्षम छन् भन्ने देखायो ।
यस्तै बजौर चेकपोइन्टमा फेब्रुअरी १६ मा भएको अर्को हमलामा ११ सैनिक र एक अबोध बालक मारिए । जसले पाकिस्तानी जनमानसमा ठुलो आक्रोश पैदा गर्यो ।
पाकिस्तानी खुफिया एजेन्सीले ती सबै घटनाको योजना अफगानिस्तानको माटोमा बसेर बनाइएको हो । पाकिस्तानको आरोप छ- अफगान तालिबान सत्ता र टीटीपीको विचारधारा एउटै हो ।
तालिबान सत्ताले टीटीपीका लडाकुलाई कन्दाहार र खोस्तमा सुरक्षित आश्रय, हतियार र तालिम दिइरहेको पाकिस्तानको आरोप छ । पाकिस्तानले हरेक हमलापछि अफगानिस्तानको तालिबान सत्तासँग टीटीपीविरुद्ध कारबाही गर्न दबाब दिँदै आएको थियो । तर, उसले अस्वीकार गर्थ्यो । सोही कारण अहिले पाकिस्तानले ‘ओपन वार’ लाई नै समाधान ठानेको हो ।
पछिल्लो समय गत अक्टोबरबाट पाकिस्तानले आफ्नो देशमा रहेका अफगानी शरणार्थी निष्कासन अभियान थालेको थियो । त्यो अभियान पनि अहिलेको युद्धलाई उक्साउने तत्त्व बन्न पुगेको छ ।

यस अवधिमा पाकिस्तानले २७ लाख अफगानी सीमा पार पठाइदिएको छ । जसमा कतिपय परिवार त दशकौँदेखि पाकिस्तानमा बसेका थिए । यसले तालिबान सत्तालाई अचानक ठुलो आर्थिक र सामाजिक भार थपिदियो ।
तालिबान सत्ताले त्यसलाई ‘इस्लामिक र छिमेकी धर्म विपरीतको कार्य’ भन्दै कडा निन्दा गरेको थियो । शरणार्थी फिर्ता पठाउँदा पाकिस्तानले उनीहरूको सम्पत्ति जफत गरेको र अपमान गरेको रिपोर्टले अफगानी लडाकुमा पाकिस्तानप्रति घृणा जागेको बताइन्छ ।
डुरान्ड लाइन : १३३ वर्षे ऐतिहासिक जड
सन् १८९३ मा बेलायती अधिकारी मोर्टिमर डुरान्ड र अफगान अमिर(राजा) बिच भएको सम्झौताअनुसार दुई हजार ६०० किलोमिटर लामो सीमारेखा कोरिएको थियो । जसलाई डुरान्ड लाइन पनि भनिन्छ ।
तर त्यसलाई अफगानिस्तानले कहिल्यै वैधानिकता दिएको छैन । डुरान्ड लाइनलाई पाकिस्तानले ‘अन्तर्राष्ट्रिय सीमा’ मान्छ भने, तालिबानले ‘विभाजनको रेखा’ ।
यो रेखाले पस्तुन जातिको बस्तीलाई दुई भागमा विभाजन गरेको छ । तालिबान संगठनमा पस्तुन बहुल्यता छ ।
अफगानिस्तानका राजा, कम्युनिस्ट वा तालिबान हरेक शासकले ‘पस्तुनिस्तान’ (एकीकृत पस्तुन राज्य) को एजेन्डा बोक्ने गर्दछन् । यही कारण पाकिस्तान र अफगानिस्तान बिचको सम्बन्ध जन्मजात शत्रुतापूर्ण रहँदै आएको छ ।
पाकिस्तानको रणनीतिक असफलता
पाकिस्तानले दशकौँसम्म अफगानिस्तानमा आफ्नो प्रभाव जमाउन ‘रणनीतिक गहिराइ’को नीति अपनायो । उसले सोभियत संघविरुद्ध मुजाहिद्दीनलाई र पछि अमेरिकाविरुद्ध तालिबानलाई समर्थन गरेको थियो ।
पाकिस्तानको सैन्य संस्थापनलाई लाग्थ्यो- तालिबान सत्तामा आएपछि डुरान्ड लाइनलाई मान्यता दिनेछन् । त्यसले भारतको प्रभाव कम हुने पाकिस्तानको विश्वास थियो । तर, अगस्ट २०२१ मा तालिबान पुनः सत्तामा आएपछि स्थिति उल्टो भयो ।
पाकिस्तानले अफगानी भूमिमा बसेर छापामार युद्ध गरिरहेको टीटीपीलाई सुम्पिन अफगानी तालिबान सत्तासँग माग गरेको थियो । तर, टीपीपी र अफगानी तालिबान एउटै विचारधारा र जातीय समुदायका थिए ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
यो युद्धले सीमाको दुवैतर्फ बसोबास गर्ने पस्तुन समुदायलाई सबैभन्दा बढी पीडित बनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार दुई हप्तामा ५६ बालबालिकाको ज्यान गइसकेको छ ।
पाकिस्तानले जबरजस्ती अफगानी शरणार्थी फिर्ता पठाएपछि उनीहरू ठुलो संकटमा परेका छन् । युद्धकै कारण खोस्ट र नानर्गाहारका ५०० भन्दा बढी विद्यालय बन्द भएका छन् भने २० स्वास्थ्य केन्द्र ध्वस्त भएका छन् ।
युद्धले सीमा क्षेत्रका हजारौँ परिवार विस्थापित भएका छन् । तोर्खम र स्पिन बोल्डक जस्ता मुख्य व्यापारिक नाका बन्द हुँदा अफगानिस्तानमा खाद्य संकट सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तत्काल युद्ध विरामका लागि अपिल गरेका छन् । उनले नागरिक मृत्यु, विशेष गरी काबुल अस्पतालको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
भारत, चीन र अमेरिकाको भूमिका
अहिले यो युद्ध केवल दुई देशको लडाइँ मात्र रहेन, यसमा विश्व शक्तिहरूको पनि स्वार्थ जोडिएको छ ।
पछिल्लो समय अफगानी तालिबान सत्तासँग भारतको सम्बन्ध सुध्रिएको छ । भारतले मानवीय सहायता र पूर्वाधारमा लगानी गरेको छ । सोही कारण पाकिस्तानले भारतमाथि तालिबान टीटीपीलाई उक्साएर पाकिस्तानलाई अस्थिर बनाउन खोजेका आरोप लगाएको छ । चीनका लागि भने यो युद्ध ठुलो चिन्ताको विषय हो । ‘चीन–पाकिस्तान आर्थिक कोरिडोर’ को सुरक्षाका लागि त्यहाँ शान्ति अनिवार्य छ । चीनले अहिले काबुल र इस्लामाबादबिच मध्यस्थताको प्रयास गरिरहेको छ ।
अमेरिकाले पाकिस्तानलाई आतंकवाद विरुद्धको लडाइँमा सहयोग गर्ने आश्वासन दिए पनि तालिबानसँगको दोहोरो संवाद जारी राखेको छ ।
अब के हुन्छ ?
पाकिस्तान वायुसेना र प्रविधिमा अब्बल छ, तर तालिबानसँग दशकौँ लामो गुरिल्ला युद्धको अनुभव छ । यो युद्ध लामो समय लम्बिए भारत र इरान जस्ता देश प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने खतरा छ । जसले पूरै दक्षिण एसियालाई अस्थिर बनाउन सक्छ । –एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4